September 14, 2026

बिर्तामोडका ९ जना सुकुम्वासीले पाए जग्गा धनीपुर्जा

0

बिर्तामोड ,

बिर्तामोड नगरपालिकाले भूमिहीन ९ जना सुकुम्वासीलाई जग्गाको धनीपुर्जा वितरण गरेको छ।नगरपालिकामा आज आयोजित कार्यक्रममा वडा नम्बर ७ का ९ जनालाई नगरप्रमुख पवित्रा महतारा प्रसाईँले धनीपुर्जा वितरण गरेका हुन् ।

धनीपुर्जा प्राप्त गर्नेहरुमा निरानध्वज लिम्बु (२ कट्ठा ४ धुर), अमृतबहादुर लिम्बु (२ कट्ठा १७ धुर), निर्मला लिम्बु (१० धुर), हरिकला मगर (१ कट्ठा ९ धुर), मसीप्रकाश राई (७ कट्ठा ५ धुर), आईतराज लिम्बु (१ कट्ठा ७ धुर), मैतीमाया लिम्बु (९ कट्ठा १८ धुर), गुरुदेव घिमिरे (१ कट्ठा साढे १८ धुर) र कृष्णबहादुर थापा (६ कट्ठा ५ धुर) रहेका छन्। यसअघि बिर्तामोड नगरपालिकाले ३ जनालाई धनीपुर्जा वितरण गरेको थियो।

कार्यक्रममा बोल्दै नगरप्रमुख पवित्रा महतारा प्रसाईँले आवश्यक प्रक्रिया पूरा भएकाहरूलाई छिट्टै धनीपुर्जा वितरण गरिने बताइन् । यसका लागि आयोगको नगरस्तरीय टिमलाई काम तीव्र पार्न निर्देशन समेत दिइन्। उनले बिर्तामोडका जनता अब ‘सुकुम्वासी होइन, नगरवासी’ बन्नुपर्नेमा जोड दिइन्।

यस्तै वडा नम्बर ७ का वडाअध्यक्ष अविरल कृष्ण खरेलले सबै वडाले प्रक्रिया अघि बढाइरहेकाले नगरका १२ सय भन्दा बढी भूमिहीन सुकुम्वासीलाई धनीपुर्जा वितरण गर्ने तयारी भइरहेको जानकारी दिए। उनका अनुसार वडा नम्बर ७ मा मात्र ३९ जना दलित, ९३ जना सुकुम्वासी र २७७ जना अव्यवस्थित परिवार रहेकोले सिफारिस गरेर पठाउने तयारी भइरहेको छ।जग्गा प्राप्त गरेका गुरुदेव घिमिरेले धनीपुर्जा पाएपछि धितो राखेर विभिन्न काम गर्न सकिने भन्दै खुसी व्यक्त गरे।

जग्गा स्रेस्ता, मोठ कायम गरेर वितरण गरिएकाले बैङ्कमा कारोबार गर्न पाउने भए पनि १० वर्षसम्म बिक्री–वितरण गर्न नपाइने व्यवस्था रहेको भूमि समस्या समाधान आयोग बिर्तामोडका प्रमुख विमल पोखरेलले जानकारी दिए। धनीपुर्जा वितरण कार्यक्रममा शिक्षा शाखा प्रमुख उपसचिव तिलचन भण्डारी, वरिष्ठ कार्यक्रम अधिकृत जय तिम्सिनासहितको उपस्थिति थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *