September 15, 2026

भगवती माविमा लिङ्गदेन नेतृत्वको समिति फिर्ता

0

शिवसताक्षी।

शिवसताक्षी नगरपालिका–७ स्थित भगवती माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिमा पुनः चन्द्रहाङ लिङ्देनको नेतृत्व फर्किएको छ। पुरानै अनुहारहरूलाई सर्वसम्मत चयन गर्दै बनेको समितिले विद्यालयको पूर्वाधार विकास र शैक्षिक गुणस्तरमा अझै फड्को मार्ने अपेक्षा स्थानीयले राखेका छन्।

२०७९ भदौ ५ गते निर्वाचित समितिमध्ये सुष्मा घिमिरेको स्थानमा यसपटक पवित्रा उप्रेतीलाई चयन गरिएको छ। अन्य पदमा भने अघिल्लै सदस्यहरू दोहोरिएका छन्। विद्यालयको अध्यक्षमा चन्द्रहाङ लिङ्देन, सदस्यहरूमा किरण लिङ्देन, बेलवती राजवंशी, पवित्रा उप्रेती, सुष्मा घिमिरे र प्रेमलाल रिजाल चयन भएको विद्यालय प्रशासनले जनाएको छ।

स्थानीय अभिभावक कमल भण्डारीका अनुसार लिङ्देन नेतृत्वको समितिबाट अघिल्लो कार्यकालमै विद्यालयले शैक्षिक गुणस्तरमा उल्लेखनीय सुधार गरेको थियो। ‘नेपाली र अङ्ग्रेजी दुवै भाषामा अध्ययन–अध्यापनलाई सञ्चालन गर्दै आइरहेको सो विद्यालयले एसईई लगायत माध्यमिक तहको परीक्षामा विद्यालयको उत्तीर्ण दर अन्य विद्यालयको तुलनामा अब्बल ल्याउन सफल भएको छ,’ भण्डारीले भने।

नवनिर्वाचित अध्यक्ष चन्द्रहाङ लिङ्देनले विद्यालयलाई अझ उचाइमा पुर्याउने प्रतिबद्धता व्यक्त गर्दै भने, ‘पछिल्लो कार्यकालमा पूर्वाधार र गुणस्तर सुधारमा जे–जति गर्न सकेका थियौँ, यसपटक त्यसलाई अझ बलियो बनाउँदै विद्यार्थीलाई प्रतिस्पर्धी बनाउन ध्यान केन्द्रित गर्नेछौँ।’

अघिल्ला वर्षहरूमा लिङ्देन नेतृत्वमै विद्यालयमा नयाँ भवन, प्रयोगशाला सुधार, पुस्तकालय विस्तार, सफा र सुरक्षित खानेपानीको सुविधा जस्ता काम भएका थिए। यसपटक ती कामलाई अझ विस्तार गर्दै स्थानीय अभिभावकलाई विद्यालयसँग जोड्ने र स्रोत–साधन परिचालनलाई व्यवस्थित गर्ने योजना रहेको लिङ्देनले बताए।

स्थानीयको विश्वास अनुसार लिङ्देन नेतृत्वमा फर्किएको समितिले विद्यालयलाई शैक्षिक उत्कृष्टताका उदाहरणमध्ये एक बनाउने सम्भावना बलियो रहेको अभिभावकले अपेक्षा गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *