September 22, 2026

सहारा नेपाल साकोसको महिलाहरुका लागि क्यान्सर सचेतना मूलक कार्यक्रमसहित तीज

0

उद्धव पुरी,
चारपाने ।

नेपालकै सवै भन्दा ठूलो सहकारी संस्था सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले महिलाहरुको महान पर्व तीज पृथक र नौलो तरिकाले मनाएको छ ।

झापाको बिर्तामोड–२ स्थित चारपानेमा मुख्य कार्यालय रहेको साकोसले आज (शुक्रवार) पर्शुराम पार्टी प्यालेस चारपानेमा नौलो तरिकाले तीज मिलन कार्यक्रम गरेको हो । साकोसले महिलाहरुलाई क्यान्सर सचेतना मूलक कार्यक्रम गरेर नौलो र पृथक तरिकाले तीज मिलन कार्यक्रम गरेको छ ।

सहारा नेपाल साकोसको आयोजना तथा सहारा अटोमोवाइल्स एण्ड कम्पनी प्रालि, सहारा साकोस शिक्षा सदन र सहारा नेपालको सहयोगमा भएको कार्यक्रममा महिलाहरुको पाठेघरमा हुने क्यान्सरका कारण र त्यसलाई न्यूनिकरण साथै हुन नदिने जानकारी मूलक सचेतना कार्यक्रम भएको थियो । महिलाहरुको पाठेघरमा हुने क्यान्सर रोगका बिषयमा कार्यक्रमकी प्रमुख अतिथिसमेत रहेकी डा. प्रियंका कटुवालले सहजीकरण गरेकी थिइन् ।

सहारा नेपाल साकोस महिला उप–समिति संयोजक चित्रकला ओलीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत महिला उप–समिति सदस्य सीता बस्नेतले गरेकी थिइन् । कार्यक्रममा प्रमुख अतिथि डा. कटुवाल, बिर्तामोड नगर कार्यपालिका सदस्य तीला गौतम, साकोसका प्रथम उपाध्यक्ष छविलाल खतिवडा, साकोसका उप–निर्देशक दिनेशबहादुर निरौला, सहारा नेपालका वित्त व्यवस्थापक होमनाथ पौडेल, सञ्चालक सदस्य तथा महिला फोकल पर्सन नर्वदा संग्रौलालगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन सहारा नेपालकी कार्यक्रम संयोजक कुसुम उप्रेतीले गरेकी थिइन् ।

महिलाहरुले तीजको अवसरमा तीज गीत गाएका मनोरन्जन प्रदान गरेका थिए भने डडिया नृत्य, सामुहिक नृत्य, स्वागत नृत्यलगायतका नाचगानसहितका कार्यक्रम गर्दै दर खाएर तीज मिलन कार्यक्रम पनि गरेका थिए । कार्यक्रममा सहारा साकोस, सहारा नेपाल शिक्षा सदन, सहारा नेपाल अटोबोवाइल्सलगायतका कर्मचारीसहितका चार सय वढी महिलाहरुको सहभागीता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *