April 29, 2026

प्रेस चौतारी झापाले आर्थिक, कृषि र स्वास्थ्य क्षेत्रमा लेखनवृत्ति दिने घोषणा

0

बिर्तामोड । प्रेस चौतारी नेपाल झापाले तीन विषयमा लेखनवृत्ति घोषणा गरेको छ । आज संस्थापक अध्यक्ष नेत्र प्रसाद पाठककोे स्मृतिमा स्थापित लेखनवृत्तिका लागि आर्थिक, कृषि र स्वास्थ्य क्षेत्रमा उत्कृष्ट समाचार लेख्ने पत्रकारलाई लेखनवृत्ति दिने घोषणा गरिएको हो ।
कान्तिपुर टेलिभिजनमा कार्यरत पत्रकार रमा दाहाललाई आज पहिलो लेखनवृत्ति प्रदान गर्दै प्रेस चौतारी झापाले ६÷६ महिनामा प्रदान गरिने लेखनवृत्तिको लागि विषय घोषणा गरेको हो । प्रेस चौतारी झापाका नेता, पत्रकार महासंघ झापाका उपाध्यक्ष सुब्रत न्यौपानेले विषयसहित दाता घोषणा गर्नुभयो ।

दोस्रो लेखनवृत्ति प्रेस चौतारीका केन्द्रीय सदस्य कोशी प्रदेशका सहइञ्चार्ज गोपाल काफ्लेले वित्तीय क्षेत्रमा, तेस्रो अग्रज पत्रकार खगेन्द्र भण्डारीले कृषि र चौथो प्रेस चौतारीका कोशी प्रदेशका सचिव लक्ष्मी उप्रेतीले स्वाथ्य क्षेत्रको विषयमा उत्कृष्ट समाचार लेख्नेहरुलाई नगदसहित लेखनवृत्ति प्रदान गर्ने घोषणा गर्नुभएको छ ।

पहिलो लेखनवृत्तिका लागि पत्रकार महासंघ कोशी प्रदेशको उपाध्यक्ष अम्बिका भण्डारीले सहयोग गर्नुभएको थियो । पहिलो लेखनवृत्तिका लागि पत्रकार दाहालको मुस्लिम महिलाहरुको न्यायमा पहुँच पुग्न नसकेको विषयको समाचार छनौटमा परेको थियो । कार्यक्रमको प्रमुख अतिथि बिर्तामोड नगर प्रमुख पवित्रा महतारा प्रसाईले सम्मानपत्रसहित पत्रकार रमा दाहाललाई पहिलो लेखनवृत्ति प्रदान गर्नुभयो ।

झापामा संस्थापक अध्यक्ष नेत्र प्रसाद पाठकको स्मृतिका लागि लेखनवृत्ति प्रदान गर्न थालिएको हो ।
यसैबीच प्रेस चौतारी नेपाल झापाले नारी सञ्चार गृहमा निर्वाचित कार्यसमितिलाई बधाई ज्ञापन गरेको छ । नगर प्रमुख प्रसाईले खादा लगाउदैं बधाई ज्ञापन गर्नुभयो । कार्यक्रमको अवसरमा जिल्लाभरका महिला पत्रकारहरुलाई दर खुवाइएको सचिव युवराज दाहालले जानकारी दिनुभयो । तीज मिलन समारोह समेत आयोजना गर्दै खुशी साटासाट गरिएको छ ।

प्रेस चौतारी झापाका अध्यक्ष प्रदीप परियारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नारी सञ्चार गृह झापा अध्यक्ष स्वस्तिका आचार्य, पत्रकार महासंघ कोशी प्रदेश उपाध्यक्ष अम्बिका भण्डारी, नेकपा एमाले झापाका उपाध्यक्ष शिव ढुङ्गेल, प्रेस चौतारीका केन्द्रीय सदस्य एवम् कोशी प्रदेश सहइञ्चार्ज गोपाल काफ्ले, प्रमुख अतिथि बिर्तामोड नगर प्रमुख पवित्रा महतारा प्रसाई लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रममा उपाध्यक्ष सुनिरा मैनालीले स्वागत गर्नुभएको थियो भने सञ्चालन सचिव युवराज आचार्यले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *