May 7, 2026

कन्काई माविमा विशेषतर्फ शतप्रतिशत उत्तीर्ण

0

सुरुङ्गा ।

झापाको कन्काई माविमा विशेष शिक्षातर्फका विद्यार्थीको माध्यमिक शिक्षा परीक्षा (एसईई)–२०८१ मा शतप्रतिशत नतिजा आएको छ ।

विद्यालयमा सञ्चालित बहिरा तथा सुस्त श्रवण क्षमता भएका एसईईमा सामेल ९ जना विद्यार्थीमा सबै सफल भएका हुन् । सफल हुनेमा इक्सा लिम्बू लिङ्देन, सुरक्षा पौडेल, अरुण मण्डल, दिप्सन पकुवाल, जीवन मण्डल, फुर्बु रिन्जिन शेर्पा, तबरिज आलम, सुजन बानियाँ र मनोज बुढाथोकी रहेका छन् ।

सबै विद्यार्थी ‘बी’ ग्रेडमा उत्तीर्ण भएका हुन् । साङ्ग विद्यार्थी र विशेषतर्फका विद्यार्थीलाई मिसाएर समाहित कक्षामा पठनपाठन शुरु भएपछि कक्षा १० का सबै विद्यार्थी सफल भएका र यो सफलताले विद्यालयमा खुसी छाएको विद्यालयका विशेष शिक्षातर्फका संयोजक जीवेन्द्र घिमिरेले बताए ।

झापा जिल्लाको केन्द्र भागमा रहेको कनकाई नगरपालिका वडा नं. ३ मा अवस्थित कन्काई माध्यमिक विद्यालयमा २०५३ सालबाट समाजमा अति पिछडिएका अपाङ्गता भएका बालबालिकाहरूमध्ये बहिरा तथा सुस्तश्रवण भएका बालबालिकाहरूलाई अध्ययन–अध्यापन गराई साङ्ग बालबालिका सरह शिक्षाको पहुँच पु¥याउने उद्देश्यले विशेष शिक्षाको कक्षा सञ्चालन गर्ने व्यवस्था गरिएको विशेष शिक्षाका निम्न माध्यमिक तहका शिक्षक सञ्जयकुमार दासले जानकारी दिए ।

विद्यालय व्यवस्थापन समितिको विशेष पहलमा शैक्षिक गुणस्तर अभिवृद्धिका निमित्त सुधारको कार्ययोजना अघि सारिएपछि विशेष शिक्षातर्फको यो नतिजा आएको विशेष शिक्षातर्फका शिक्षक गोपाल खरेलले बताए ।

हाल विद्यालयमा ३८ छात्र र ४४ छात्रा गरी जम्मा ८२ जना विद्यार्थी अध्ययनरत छन् भने आगामी एसईई–२०८२ मा १२ जना छात्रा र ३ जना छात्र गरी १५ जना सहभागी हुने विशेष शिक्षाका स्रोत शिक्षक खेमकुमारी आचार्य (घिमिरे) ले जानकारी दिइन् ।

यस पटकको एसईईमा उत्तीर्ण भएका विद्यार्थीमा एक जना संखुवासभा जिल्ला र अन्य ८ जना झापाका विभिन्न पालिकाबाट सुरुङ्गामा विद्यालयले खोजिदिएको डेरा गरी बस्ने विद्यार्थी रहेका विद्यालयका शिक्षक गोपाल तामाङले जानकारी दिए । अभिभावकको चासो, विद्यार्थीको मेहनत, प्रशासनिक समूहको निरीक्षण, विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक सङ्घको सहयोगको कारण यो सफलता प्राप्त भएको शिक्षक देवबहादुर सुनुवारले बताए ।

कोशी प्रदेशकै एक मात्र सरकारी अनुदान प्राप्त बहिरा तथा सुस्त श्रवण क्षमताका विशेषतर्फका विद्यार्थी अध्ययन गर्ने यो विद्यालयमा यस पटकको एसईईको नतिजा सुधार गर्न विद्यालयले अतिरिक्त कक्षा पनि सञ्चालन गरेको अर्थशास्त्र विषय शिक्षक प्रेमकुमार चापागाईंले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *