September 21, 2026

मालपोतमा दुई दिनदेखि ‘सर्भर डाउन’

0

पार्थ मण्डल
झापा ।

भूमिसुधार तथा मालपोत कार्यालयको अनलाइन प्रणालीको सर्भर डाउन हुँदा झापासहित अधिकांश जिल्लाको सेवा अवरुद्ध बनेको छ ।

मालपोत कार्यालय बाहिर भूसेवा केन्द्रमार्फत लेखापढी व्यवसायीहरूका लागि एलआरआइएमएस (ल्यान्ड रिकर्ड इनफरमेसन मेनेजमेन्ट सिस्टम) तथा कार्यालयका कर्मचारीहरूका लागि पाम (पब्लिक ऐक्सेस मोडेल) प्रणालीमा समस्या आएको कारण दुई दिन देखि सेवा अवरुद्ध बनेको हो । छिटोछरितो सेवा दिने उद्देश्यले सुरु गरेको अनलाइन प्रणालीमै समस्या आउँदा सेवाग्राहीहरूले सास्ती पाएका छन् ।

सेवा अवरुद्ध हुँदा जिल्ला भूमिसुधार तथा मालपोत कार्यालय भद्रपुरमा पुगेका अधिकांश सेवाग्राही सर्भर आउने आसमा घण्टौँ कुर्न बाध्य बनेका छन् । दमकबाट जग्गा पास गर्न आएकी दमक–५ की कुमारी न्यौपाने बुधवार बिहानदेखि सर्भर कुरेर बसिरहेकी थिइन् । त्यस्तै दमक–९ बरगाछीकी इन्दिरा सङ्ग्रौलाको एकैदिनमा हुनुपर्ने काम नभएपछि उदास देखिएकी थिइन् । उनले भनिन्, ‘यति टाढाबाट आउजाउ गर्दा पैसा र समय दुवै खर्च हुने भयो ।’

सर्भर नचल्दा जग्गा खरिदबिक्री, रोक्का, फुकुवा, नामसारी, हाल साबिक, वर्गीकरण जस्ता काम ठप्प बनेको छ । जसले गर्दा कर्मचारी फुर्सदिलासँगै लाखौँ राजश्व समेत गुमेको छ । भूमिसुधार तथा मालपोत कार्यालय भद्रपुरका अधिकृत तथा सूचना अधिकारी मोहन दर्जीका अनुसार दुई दिनदेखि एलआरआइएमएस र पाम प्रणालीमा समस्या आएको बताए ।

भूमि व्यवस्था तथा अभिलेख विभागको सफ्टवेयरमा समस्या आएको बताउँदै सूचना अधिकारी दर्जीले भने, ‘झापा मात्र नभई अधिकांश जिल्लाका कार्यालयहरूमा यो समस्या आउँदा सेवा प्रभावित बनेको हो ।’ सर्भर नचल्दा मंगलबार सूचना नै प्रकाशन गरेका थियौँ ।

आज दिउँसोदेखि अलिअलि चल्न थालेको छ । ‘तर, यसले कामकाजलाई भने प्रभावित बनाइरहेको छ,’ उनले भने । सर्भर डाउनको बारेमा पटक पटक विभागलाई जानकारी गराइसकेका छौँ । समस्याको समाधान भने अझै नभएको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *