September 16, 2026

१८० जना जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण, निःशुल्क औषधि वितरण

0

दमक, जेष्ठ नागरिकहरूको स्वास्थ्य सुदृढ बनाउने उद्देश्यले दमक नगरपालिका–३ मा शनिबार ‘आयुर्वेदमा आधारित जेष्ठ नागरिक स्वास्थ्य प्रवर्द्धन कार्यक्रम’ सम्पन्न भएको छ।

कार्यक्रम पाथिभरा हेल्थ एण्ड वेलनेस फाउन्डेसन को आयोजनामा र वडा नं. ३ कार्यालयको आर्थिक सहयोगमा सम्पन्न भएको हो। कार्यक्रममा १८० जना जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरिनुका साथै निःशुल्क आयुर्वेदिक औषधि वितरण गरिएको थियो। कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्ष नवीन बरालले जेष्ठ नागरिक लक्षित यस्ता स्वास्थ्य कार्यक्रम समाजमा सकारात्मक प्रभाव पार्ने भन्दै नियमितरूपमा सञ्चालन गरिने प्रतिबद्धता जनाए।

उनले कार्यक्रम अत्यन्त प्रभावकारी भएको उल्लेख गर्दै फाउन्डेसनलाई धन्यवाद दिए। प्रादेशिक आयुर्वेद अस्पताल लखनपुरका निर्देशक डा. सिद्धार्थ ठाकुरले खानपानमा सुधार र जीवनशैली परिवर्तन गर्न सके दीर्घजीवन जिउन सकिने बताए। उनले यस्ता कार्यक्रमहरूलाई नियमितरूपमा सञ्चालन गर्नुपर्ने सुझाव दिए। फाउन्डेसनका अध्यक्ष विष्णुप्रसाद पोखरेलले दमकका सबै वडामा यस्ता कार्यक्रम विस्तार गरिने जानकारी दिँदै स्वास्थ्य प्रवर्द्धनका नयाँ तथा उपयोगी कार्यक्रमहरू ल्याउने घोषणा गरे।

उनले कार्यक्रममा देखिएको उल्लेख्य सहभागिता र उत्साहजनक प्रतिक्रिया आफूहरूका लागि प्रेरणादायी रहेको उल्लेख गरे। वडा सचिव बालकृष्ण कोइरालाका अनुसार कार्यक्रममा ९२ वर्षसम्मका जेष्ठ नागरिकहरूको उत्साहजनक सहभागिता रहेको थियो। कार्यक्रमको सन्चालन स्वास्थ्यकर्मी टेकनाथ अर्यालले गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *