June 15, 2026

‘अभीष्ट’ एक मार्गदर्शक कृति

0

नेपाली साहित्य भण्डार समृद्ध बनाउने क्रममा एउटा अर्को कविता संग्रहको आगमन भएको छ । त्यो कविता संग्रह हो कवि ‘उपेन्द्रप्रसाद आचार्य’को सिर्जना ‘अभीष्ट’ । जीवनको लामो समयसम्म इलाममा प्राध्यापन सेवामा रही शिक्षाको उज्यालो छर्ने एकाडेमिक तथा प्राज्ञिक विद्वानका सिर्जनाहरु गहन, उत्कृष्ट र सन्देशमूलक छन् ।

साहित्यले समाज बोल्छ, परिवेश बोल्छ अनि भोगाइ, सोचाइ, सुनाइ । देखाइका बारेमा शब्दका माध्यमबाट पाठक वर्गमा जीवनपयोगी सन्देश प्रवाह गर्दछ । काव्यको विनम्रताले पाठक वर्गका मनमा गहिरो छाप छाड्दछ । देशका शासक वर्गमा समेत चेतना भर्न र देशहीतका लागि काम गर्न प्रेरणा प्रदान गर्दछ । यसै मेसोमा कविता संग्रह ‘अभीष्ट’ पाठक वर्गसामु आएको छ । यस कृतिका के–कस्ता विशेषता रहेका छन् ? प्राध्यापक तथा साहित्यकार कमल गुरागाँईको विचार महत्वपूर्ण रहेका छन्ः ‘साहित्य वर्गीय हुनुपर्छ र साहित्य कलाकालागि हुनुपर्छ भन्नेको बीचमा कडै खाले द्वन्द्व पाइन्छ । भौतिकवादमा विश्वास गर्ने साहित्य जीवनका लागि हुनुपर्छ । जनले बुझ्ने सरल भाषामा निमुखो दुनियाले भोगेका यथार्थ कुराहरु जनहीतका खातिर लेखिएको साहित्यले अन्याय, अत्याचार, शोषण, दमन, उत्पीडन बोल्नुपर्छ र न्याय दिन सक्ने हुनुपर्छ ।

अभीष्ट कविता कृति यही परिधिभित्र रहेर रचिएको उत्कृष्ट कविता संग्रह हो । यस संग्रहमा संग्रहित कविताहरु कुदिएका शीला झैँ चम्किला छन् । कविको, नेतृत्वप्रति कुनै प्रकारको आग्रह वा पूर्वाग्रह छैन, के मात्र छ भने अब गणतन्त्र संस्थागत हुन सकेन वा ऐनमा उल्लेख गरिएका नागरिकहरुका मौलिक अधिकार ऐनमा मात्र सीमित भए भने शिक्षा, स्वास्थ्य, रोजगार, गाँस, बास, कपासको प्रबन्ध गर्न सकिएन भने यसको दोष नेतृत्वमा जान्छ र आफ्नो नेतृत्व असफल भएकामा आनन्द लिन सकिन्छ । अतः समयमै सचेत बनौ र आफूमा रहेको विकारलाई फालेर स्वच्छ समाजको निर्माण गरौँ भन्ने यस कविता संग्रहको आशय हो ।’

प्राध्यापक तथा साहित्यकार गुरागाँईका यी विचारहरुबाट जान्न सकिन्छ कि कवि आचार्यका काव्य सिर्जनाहरु मूलतः देशहितको चिन्तनले भरिएका छन् । सिर्जनाहरु, देश सञ्चालकहरु अर्थात् गणतन्त्रका हिमायतीहरुलाई सटिक मार्गदर्शन प्रहाव गर्न सफल छन् । त्यसैगरी कवि आचार्यका काव्यहरुबारे विद्वान तथा साहित्यकार चुडामणि वशिष्ठको विचार पनि महत्वपूर्ण रहेका छन् । ‘कविताहरुले वर्तमान परिवेशलाई लिएर आएका छन् । कविताभित्र विविध विषयवस्तु, भाव, विचार भए पनि कति कविताहरु मनोगत भए पनि प्रायः सबै कविताभित्र राजनीतिको पानीछाप सुस्पष्ट देख्न सकिन्छ ।

राजनीतिले देशको सुरक्षा, शिक्षा, स्वास्थ्य, विकास, समृद्धि, उन्नति, प्रगतिलाई नेतृत्व गर्नुपर्ने हो, तर हजारौँ सपुतहरुको बलिदानपछि आएका अनेक तन्त्रले जनतालाई छुँदै छोएन । जहिले पनि राजनीतिकै अलमल, अनेक हर्कत, स्वार्थ, शक्ति, पैसा, पहुँच, सत्ता घोडा दौडको होडबाजीमा मात्रै नेतृत्व लिप्त भयो ।

नेताहरु फोस्रा भाषणमा डुक्रिएर जनता ढाँट्नमै तल्लिन रहे । प्रत्येक पार्टीभित्र शण्डमुशण्ड, तिघ्रे, पाखुरे, झोले, धुपौरे, हुक्के, बैठके, नन्दी, भृङ्गीहरुकै जगजगी भयो । योग्यताका भरमा होइन चाकरीको आधारमा अवसरहरु दिइन थालियो । विचार, योजना, सिद्धान्तविहीन नेताहरु नै पैसाको बलमा बारम्बार नेतृत्वमा पुगेर ब्रह्मलुट मच्चाइरहे तर पनि नेपाली जनता अझै सचेत बन्न सकेनन् भन्ने गुनासो उपेन्द्रका कविताहरुले गरेका छन् ।’ कविताहरुले विशेषतः देशको दुरावस्ताप्रति चिन्तन गर्दछन् । आचार्यका काव्यहरुका मूल विशेषताहरु पनि यिनै रहेका पाइन्छन् ।

कृतिकार आचार्यको यस संग्रहभित्र ४९ वटा कविताहरु समेटिएका छन् । कविताहरुमा, देशको प्रजातन्त्र लोभिपापीको हातमा परेको, गणतन्त्र ठग, लुटाहाको फेला परेको, अँध्यारोको साम्राज्य खडा गरेको, राजनीतिले बेथिति बढाएको, नेपाली भबिष्य अन्धकार बनाएको लगायतका चिन्तन कविताहरुमा पाइन्छन् । देशमा ठूला प्राकृतिक प्रकोप आउँदा जनताहरु दुःखमा भएका बेलामा सरकारमा रहनेहरुका लागि भने दशैँ आउने गरेको लगायत यथार्थहरु कृतिमा पोखिएका छन् ।

सर्जक आचार्यका चिन्तन तथा गुनासा यस प्रकार छन् ः हामीले राजनीतिक परिवर्तन छिटो–छिटो फड्को मार्दै अघि बढ्यौँ नै तर आम मानिसको जीवनस्तरप्रति राजनीतिक परिवर्तनले सुधार ल्याउन सकेन । यस्तै परिदृष्यले मलाई समेत घचघच्याइ रहेकै कारण यी र यस्तै विषयवस्तुलाई न्यूनतम पनि समेट्ने प्रयासम्म गरेको छु, भनि भाव व्यक्त गरिएका छन् । कृतिभित्रको हामी गणतन्त्रवादी शीर्षक कविताका हरफहरु :

साँच्चै दुष्ट प्रवृत्तिले देशलाई डुवाउँछन् ।
यस्तै चरित्रका ब्वाँसाहरुले नै रुवाउँछन् ।।

देश धुजा–धुजा पार्दै पेट भर्दै डकार्दछन् ।
शण्डमुशण्ड पालेर आफ्नै मान्छे हिडाउँछन् ।।

लोकतन्त्र प्रजातन्त्र गणतन्त्र भँजाएर ।
जन्ता सामु भट्याउँछन् एकापसमा भिडाएर ।।

दोस्रो तेस्रो सबैलाई दोष थोपर्न भ्याइदिन्छन् ।
आफूमात्र अब्बल बनी सबलाई नै होच्याउँछन् ।।

लाज घिन केही छैन इज्जत सबै पोली खाए ।
खै अब त गणतन्त्र विद्रुप कुरुप पार्दै आए ।।

यस कविता मार्फत कविले हाम्रो देशको गणतन्त्रबारे यथार्थता उजागर गरेका छन् । गणतन्त्रले स्थायीत्व नपाएको, संस्थागत नभएको, देशी–विदेशी प्रतिक्रियावादीका खुनी पञ्जाहरुले पटक–पटक आक्रमण गरिरहेका लगायतका यथार्थताहरु यस कविताले व्यक्त गरेको छ । शक्तिको उन्मादमा रमाउनेहरु शीर्षकको कविताका केही हरफहरु ः

हो तिमीलाई उन्माद लागेकै छ
अनि त ताण्डवनृत्य नाचिरहेछौ ।
अहंकारले मैमत्त बनेर नै तिमी
जताततै चिथोर्दै बुर्कुसी मारिरहेछौ ।

सत्ताका नजिक हुनेहरु र सत्तामै पुग्नेहरुको विशेषता यस्तै छन् । बेफिक्री, बेलगाम, मैमत्त उनीहरुलाई नियन्त्रण गर्ने कोही छैनन्, तर यिनीहरुको चुरीफुरी तह लगाउने संयन्त्र चाँडै आउने कविता पनि सिर्जना भएका छन् कवि आचार्यका ।

पख समय सकिएकै पो कहाँ छ र
तिमी र तिम्रा सम्पूर्ण कृत्यहरुलाई
यही धर्तीमा यही भूगोलमा नै
पछारेर उत्तानो पार्दै
सदाकालका निम्ति
उत्सर्जन गर्ने घडी टाढा कहाँ छ र ।
अन्त्येष्टि गरी छाड्ने
समय कति पो टाढा छ र ।

कवि आचार्यको देशप्रति चिन्तन नेपालका सबै शैक्षिक तथा प्राज्ञिकहरुको चिन्तन हुन् । किनकि उपेन्द आचार्य प्राध्यापक हुन् । प्राध्यापक यतिबिघ्न चिन्तित् बन्नु पर्ने हाम्रो देशको प्रणाली सबै शिक्षित वर्गको चिन्ताको विषय हो । अनि देशलाई कसरी समयानुकूल अगाडि बढाउने हो ? यही विचार पाइन्छन् यस कृतिका कविताहरुमा । कवि आचार्यका कविताहरु अरु आयाममा पनि उत्तिकै उत्कृष्ट छन् । जीवनजगतसँग सम्बन्धित कविताहरु पनि धेरै छन् यस कृतिभित्र । गद्यमा सिर्जना गरिएका कविताहरुले हामीबीचका परिस्थितिहरुलाई मिहिन किसिमले केस्रा–केस्रा पारेर छोड्याइएका छन् । नेपाली जनताहरु शासकहरुका अहमताले पिल्सिएका, डामिएका र कोतरिएका यथार्थता कविताहरुमा पाइन्छन् ।

स्तरीय बान्कीको पुस्तकभित्र पाइन लगाएर लेखिएका फिरेन त हाम्रो चेत, हामी त गणतन्त्रवादी, शक्तिको उन्मादमा रमाउनेहरु, सद्भाव बिथोल्नेहरु, विचारकै अवसान भएपछि, अझ दास बनिरहेछौँ, हुँडारको अवसान हुनेछ, पर्दैन तिम्रो जस्तो स्वाभिमान लगायतका गहन कविताहरु समेटिएका छन् ।

अर्जुनधारा नगरपालिका वडा नं. ३ खुदुनाबारी झापा निवासी प्राध्यापक तथा कवि साहित्यकार उपेन्द्रप्रसाद आचार्यका यस नवीन कृति अघि, काव्यहरु– केही उखानहरुलाई लयमा कैद गर्दा (२०६९), मेरो गाउँको कहानी (२०७०), दर्पण (२०७१), प्रतिविम्ब (२०७८), पर्दाफास (२०७९), दृष्टिकोण (२०८०) प्रकाशन भएका छन् । त्यसैगरी नियात्राहरु– तीर्थाटन र त्यसको इतिवृत्ति (२०७२), सिक्किम भ्रमण र त्यसको पुराण (२०७३), स्मृतिमा परेको छाप पुनः जीवन प्राप्ति संस्मरणात्मक निबन्ध (२०७५), श्रद्धाञ्जली निबन्ध (२०७६), क प संगालो दृष्टान्त (कथा र पत्र) (२०७४), जीवन यात्रा अनुभव र अनुभूति आत्मवृत्तान्त (२०७७) प्रकाशन भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *