June 16, 2026

चारआली डिपोका कर्मचारी विनासर्त पुनर्वाहली हुनुपर्ने सर्वपक्षीय भेलाको माग

0

झापा,

झापाको मेचीनगर – १३ मा मंगलबार विहान भएको सर्वपक्षीय भेलाले नेपाल आयल निगम चारआली शाखाबाट हटाइएका कर्मचारीहरूलाई विनासर्त पुनर्वाहलीको माग गरेको छ । भेलाले कर्मचारीहरूलाई काममा फर्काउनु माग गर्दै उनीहरूको आन्दोलनमा ऐक्यबद्धता जनायो ।

आयल निगम चारआली शाखामा नयाँ डिपो प्रमुख गीता सापकोटा आएपछि केही कर्मचारीहरू हटाइएको थियो । केहीलाई काममा फर्काए पनि सापकोटाले पाँच जना कर्मचारीलाई चार महिना देखी काम विहीन बनाएको पीडित कर्मचारीहरूले जानकारी दिए । ३ वर्षदेखि १५ सम्म काम गरिसकेका कर्मचारीहरूलाई विना कारण हटाइएको कर्मचारीहरूको भनाई छ ।

मेचीनगर १३ का राजनीतिक दल, नागरिक समाज, जनप्रतिनिधि, टोल विकास संस्थाहरूले कर्मचारीको मागमा सामूहिक ऐक्यबद्धता जनाएका हुन् ।

वडाध्यक्ष कृष्ण सिग्देलको संयोजकत्वमा भएको सर्वपक्षीय भेलामा दलहरू, नागरिक समाज, समाजसेवी, टोल विकास संस्थाबाट ईश्वर भुर्तेल, शरण लिम्बु, सोनाम तामाङ, लोकराज पराजुली, श्रीराम मरासिनी, मोहन लिम्बू, सन्देश न्यौपाने, तिलक श्रेष्ठ, निरु परियार र बद्री महत लगायतको सहभागिता रहेको थियो ।

आयल निगमको शाखा कार्यालयमा कार्यरत गोविन्द पाठक, अमोद भट्टराई, शान्ता पोखरेल, अस्मिता विक, चन्दकान्त लाल दासलाई कामबाट हटाइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *