September 18, 2026

प्रेस सेन्टर नेपालले १० बुँदे मागसहित देशभर सरकारलाई ज्ञापन पत्र बुझायो

0

झापा ।

प्रेस सेन्टर नेपालले विभिन्न १० बुँदे मागसहित देशभरबाट नेपाल सरकारलाई ज्ञापन पत्र बुझाएको छ ।

सेन्टरका झापा अध्यक्ष पुष्प खड्काको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय पुगेको टोलीले प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई ज्ञापन पत्र बुझाएको हो । प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीमार्फत सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङलाई मागसहितको ज्ञापन पत्र बुझाएका थिए ।

सञ्चार कानुन निर्माणका लागि प्रस्तावित भइ छलफल भइरहेका विधेयकका कतिपय प्रावधान प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई संकुचन गर्ने र स्वतन्त्र पत्रकारिता क्षेत्रमा अवरोध पुर्याएको, पत्रकारको हत्या, आक्रमण, भौतिक तथा पेशागत असुरक्षा, प्रेस स्वतन्त्रता हननका घटनाको बढोत्तरी गर्ने कतिपय प्रावधानबाट प्रेस सेन्टर नेपाल चिन्तित र गम्भिर बनेको प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति झापाका अध्यक्ष पुष्प खड्का र सचिव प्रकाश उप्रेतीद्वारा हस्ताक्षरित ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

ज्ञापन पत्रमा परिवर्तनका लागि कलम चलाएकै कारणले तत्कालीन राज्यबाट हत्या गरिएका कृष्ण सेन ‘इच्छुक’ सहितका पत्रकारका हत्यारालाई कानूनी दायरामा ल्याउन र राज्यबाट बेपत्ता पारिएका पत्रकारहरु दीपेन्द्र शर्मा (दण्डपाणि न्यौपाने), मिलन नेपाली, चित्रनारायण श्रेष्ठ, राजेन्द्र ढकालको अवस्था तत्काल सार्वजनिक गर्न, चैत्र १५ गते काठमाण्डौको तीनकुनेमा ज्युँदै जलाएर हत्या गरिएका पत्रकार सुरेश रजकको हत्यामा संलग्न राजावादी समूहका नाइकेलाई कारबाही गर्न, रजकलाई सहिद घोषणा गर्न र परिवारलाई उचित क्षतिपूर्तीको व्यवस्था गर्न माग गरिएको छ ।
ज्ञापन पत्र हस्तान्तरण कार्यक्रममा प्रेस सेन्टर नेपालका केन्द्रीय सचिव दीपेन्द्र राई (दिपिन), प्रदेश १ का कोषाध्यक्ष झुलन रेग्मी, झापा अध्यक्ष पुष्प खड्का, उपाध्यक्षद्वय होमप्रकाश अधिकारी, सन्तोष शर्मा र सचिव प्रकाश उप्रेती सहभागी थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *