April 30, 2026

व्यावसायिक कफीखेतीमा जुट्दै हतुवागढीका किसान

0

भोजपुर,

भोजपुरका किसान व्यावसायिक कफीखेतीमा जुटेका छन् । विगत सामन्य रुपमा कफीको खेती गर्दै आएका किसान यहाँको उत्पादन बाह्य बजारमा जान थालेपछि व्यावसायिक कफी खेतीमा जुटेका हुन् ।

भोजपुरको हतुवागढी गाउँपालिकाको सिन्द्राङ, होम्ताङ, लुङ्गिन, लुम्थुङसँगै आमचोक गाउँपालिकालगायत क्षेत्रका किसानले यसको खेती गरिरहेका छन् । यहाँका किसानले उत्पादन गरेको कफी, धरान, इटहरी, विराटनगर काठमाडाँै हुँदै जापान, कोरियासम्म जाने गरेको स्थानीय कफी व्यवसायी सुनिल श्रेष्ठले बताउनुभयो ।

अर्गानिक९जैविक० कफीको विदेशी बजारमासमेत माग रहेको उहाँको भनाइ छ । भोजपुरमा उत्पादन भएको कफी सङ्कलन गरेर बाहिरका बजारमा आफूले बिक्री गर्दै आएको श्रेष्ठले जानकारी दिनुभयो । यो वर्ष यहाँबाट करिब पाँच हजार किलोग्राम कफीको कच्चापदार्थ निर्यात भएको उहाँले बताउनुभयो । धेरै किसानले कफीको खेती विस्तार गरिरहेकाले आगामी दिनमा भोजपुरबाट निर्यात हुने कफीको मात्रा बढ्ने उहाँको भनाइ छ ।

ल्याब परीक्षण गरेर अर्गानिक ठहरिएको खण्डमा समुद्री सहतबाट एक हजार एक सय मिटरदेखि एक हजार पाँच सय मिटर उचाइसम्म उत्पादन भएको अर्गानिक कफीको बाहिरको बजारमा बढी माग रहेको व्यवसायी श्रेष्ठले बताउनुभयो । “पछिल्लो समय भोजपुरका किसान व्यावसायिक रुपमा कफीखेती विस्तारमा जुटेका छन्”व्यवसायी श्रेष्ठले भन्नुभयो,“यहाँ उत्पादन भएको अर्गानिक कफी देशका ठूला सहरसँगै विदेशमासमेत जान थालेको छ । उत्पादन भएको कफी घरबाट नै बिक्री हुन थालेपछि व्यावसायिक कफीखेतीमा लाग्नेको सङ्ख्या बर्सेनि बढ्दै गएको अवस्था छ ।”

स्थानीय किसानले उत्पादन गरेको कफी घरबाट नै प्रतिकेजी रु एक सयमा बिक्री हुने गरेको छ । राम्रो फलेको कफीको एक बोटले २५ केजीदेखि ३० सम्म उत्पादन दिने व्यवसायी श्रेष्ठले बताउनुभयो । प्रशोधन गरेको कफीको दाना सहरका बजारमा प्रतिकेजी रु पाँच सयमा बिक्री हुने गरेको उहाँले जानकारी दिनुभयो । यहाँका करिब दुई सयजना किसानले कफीखेती गरिरहेको श्रेष्ठले बताउनुभयो ।

हतुवागढी क्षेत्र कफीको लागि उपयुक्त रहेकोले यसको खेतीमा जोड दिएको गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले बताउनुभयो । कोशी प्रदेश सरकारसँगको सहकार्यमा व्यावसायिक कफी खेतीको विस्तारको लागि प्रोत्साहनको कार्यक्रम सञ्चालन गरिने अध्यक्ष राईको भनाइ छ । कफी खेतीको विकास तथा विस्तारको लागि प्रदेश सरकारबाट रु दश लाख बजेट विनियोजन भएकाले गाउँपालिकाले पनि साझेदारी गरेर कार्यक्रम सञ्चालन तयारी गरेको उहाँले बताउनुभयो ।

“हाम्रो हतुवागढी क्षेत्र कफी खेतीको लागि राम्रो भूगोल मानिन्छ”अध्यक्ष राईले भन्नुभयो,“किसानले अहिले पनि यसको खेती गरिरहेका छन् । कफी खेतीको थप विस्तार तथा विकासका लागि प्रदेश सरकारसँगको सहकार्यमा प्रोत्साहनका कार्यक्रम सञ्चालन गर्ने तयारीमा छौँ ।” विगतमा राम्रो बजार नभए पनि अहिले यहाँ उत्पादन भएको कफी बाहिरको बजारमा जान थालेको अध्यक्ष राईले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *