September 17, 2026

स्वार्थमा त धेरै थिए
उसका साथी वरिपरि
आज पर्दा साथ छैनन्
एक्लै डुल्छे कठैबरी

न त कोही साथ थिए
डेलीबेरी गराउने
न त कोही दाता थिए
उसको पेट भरिदिने

पल्ला घरका परालमा
बच्चा राख्ने ठाउँ खोजी छ
चौराशीमा एउटा जुनी
उसका भागमा यही परेछ

न त ओत लाग्ने छाना
न त पेट भर्ने खाना
आधा दर्जन् छाउरा–छाउरी
तुसारो छ, उसको नाना

छाउरा–छाउरी निदाउँदा
दशौं घर डुली हिँड्छे
खाने कुरा खोज्दै–खोज्दै
सबका रछ्यान–रछ्यान घुम्छे

काम बिनाका डागाहरु
लुरुक्क–लुरुक्क हिँड्दा रहेछन्
एउटा हड्डी भेटे भने
सबै त्यसमा भिड्मा रै’छन्

ऊ आशाले दैलो कुर्छे
व्यथा कस्ले बुझी देला
गाउँघर डुल्छे–रुङ्छे
उसैलाई गर्छन् हेला

खाने, पिउने केही छैन
कहाँबाट आउँछ रस
यिनै लाम्टा चुसाएर
हुर्काउँछे छाउरा सब

न औषधी, नसुडेनी
न त डाक्टर छन् उसका
यसैगरी जम्माउँछे
वर्ष–वर्ष दिनमा बच्चा

लुरु–लुरु डुल्दाखेरी
सारा नशा गलेका छन्
फेरि पनि अचम्म छ
उसकै छाउरा बलीया छन्

आत्मानिर्भर हुने सबै
आफ्नो आधार आफै बन्छन्
सधैँ–सधैँ सबैलाई
मार्गदर्शक तिनै बन्छन्
मार्गदर्शक तिनै बन्छन् ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *