April 30, 2026

‘समाजवादी सिद्धान्त सहकारीका माध्यमबाट सहज रुपमा पूरा हुन्छ’

0

बिर्तामोड।

नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेले वि.पी. कोइरालाले प्रतिपादन गर्नुभएको समाजवादी सिद्धान्त सहकारीका माध्यमबाट सहज रुपमा पूरा गर्न सकिने बताउनुभएको छ ।

नेपाली कांग्रेस झापाको संयोजनमा पार्टी निकट ब्यक्तित्वले नेतृत्व गरेका जिल्लाभरका सहकारी संघसंस्थामा आबद्ध अध्यक्ष एवं प्रतिनिधिहरुको भेलालाई प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै सभापति थेवेले वि.पी.कै पालामा नेपालमा सहकारी स्थापना भएको जानकारी दिनुभयो ।

सहकारीका माध्यमबाट समाज परिवर्तन र आयस्तर बृद्धि गर्न सकिने उहाँको भनाई थियो । सहकारी सञ्चालनमा पारदर्शीता, मितब्ययिता र ऐन एवं नियमावलीहरुको पूर्ण कार्यान्वयन गरेर सदस्यहरुको आवश्यकता अनुसार ं जीवनस्तर उकास्ने आयमूलक कार्यमा ऋण परिचालन गर्न उहाँले सबै सहकारीकर्मीलाई आग्रह पनि गर्नुभयो ।

जिल्ला सहकारी संघको नजिकिएको निर्वाचनमा संयोजनकारी भूमिका निर्वाह गर्ने उद्देश्यसहित भेलाले दुर्गाप्रसाद सापकोटाको संयोजकत्वमा १५ सदस्यीय समिति गठन गरेको छ । जिल्ला सहकारी संघको अधिवेशन आगामी पौष २७ गते तय भएको बताइएको छ ।

गठित समितिका सदस्यहरुमा पुष्पराज कार्की, दिपक काफ्ले, देविका बस्नेत, पम्फा विक, लवकुमार चौधरी, युवराज गिरी, शेखरनाथ अधिकारी, भुपाल बस्नेत, मित्र खनाल, विनोद ढकाल, प्रकाश चुडाल, कर्म शेर्पा, टिकाराज सापकोटा, रोशन विष्ट लगायत रहनुभएको छ ।

नेपाली कांग्रेस कोशी प्रदेश समिति सदस्य एवं कोशी प्रदेश सहकारी विभागका संयोजक चन्द्रा खड्का भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहजीकरण नेपाली कांग्रेस झापाका सचिव नवीन विमलीले गर्नुभएको थियो ।

कार्यक्रममा लगभग सयबढी सहकारी अभियान्ताहरुको सहभागिता रहेको नेपाली कांग्रेस झापाका कार्यालय सचिव जयकुमार दाहालले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *