September 18, 2026

सप्तकद्वारा चार श्रष्टा सम्मानित

0

बिर्तामोड ।

स्वरसम्राट नारायण गोपालको ३४ औँ स्मृति दिवसका अवसरमा चार श्रष्टालाई सम्मान गरिएको छ ।

सप्तक सङ्गीत विद्यालय बिर्तामोडले शनिबार साँझ एक कार्यक्रम आयोजना गरी ‘नारायण गोपाल स्मृति तथा स्रष्टा सम्मान कार्यक्रम २०८१’ मार्फत साहित्यकार केशव आचार्य, संगीतकार विकाश चौधरी, चलचित्र निर्माता एवं निर्देशक केवल तामाङ र युवा गायक अपन श्रेष्ठलाई सम्मान गरिएको हो ।

कला, साहित्य, गायन तथा संगीतको क्षेत्रमा पुर्याउनु भएको योगदानको कदर गर्दै उहाँहरुलाई कार्यक्रमकी अध्यक्ष तथा विद्यालयकी सदस्य एवं अभिभावक गीता भट्टराई, प्रमुख अतिथी कन्काई क्याम्पस बिर्तामोडका क्याम्पस प्रमुख सुरेश चापागाईं, विद्यालयका संस्थापक अध्यक्ष एवं गुरु सरोज वत्सले दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गर्नुभएको थियो ।

कार्यक्रममा विद्यालयका विद्यार्थीहरुले नारायण गोपालद्वारा गाइएका विभिन्न एकल र सामुहिक गीतहरु प्रस्तुत गरेका थिए । कार्यक्रममा वाद्यवादन तर्फ किबोर्डमा ध्रुव आचार्य (दार्जीलिङ), बाँसुरीमा युवा बाँसुरी वादक प्रितम क्षेत्री (सिक्किम), अक्टोप्याडमा रवि कश्यप (अररहिया, बिहार) र गीटारमा सप्तकका सदस्य एवं अभिभावक तारा कार्की, तबलामा सप्तकका विद्यार्थी प्रमोद धितालले साथ दिनुभएको थियो ।

संस्थापक संरक्षक डा.कुमार सुवेदीले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नुभएको थियो । युवा लेखक एवं गीतकार पुरुषोत्तम ढुंगेलले सञ्चालन गर्नुभएको कार्यक्रममा विद्यालयका संस्थापक सदस्य कृष्ण अधिकारीले अतिथिहरुको स्वागत गर्नुभएको थियो ।

विसं १९९६ असोज १८ गते जन्मिएका स्वरसम्राट नारायण गोपालको विसं २०४७ मङ्सिर १९ गते निधन भएको थियो । प्रत्येक वर्ष मङ्सिर १९ गतेदेखि एक साता सम्म उहाँ र गीतसङ्गीतलाई स्मरण गर्दै स्मृति दिवस तथा स्रष्टा सम्मान कार्यक्रम गर्ने गरिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *