September 17, 2026

क्यान्भासमा तीन देशका ‘नारी शक्ति’

0

काठमाडौँ,

नारीभित्र स्त्रीत्व मात्र सीमित हुँदैन । नारीभित्रै पुरुषत्व समाहित हुन्छन् । सारा जगत्कै आधार नारी सृष्टि हो भन्ने कुरा प्रमाणित गरिरहनुपर्ने विषय होइन । यिनै दर्शन, सिद्धान्त र भावसहित नारीका विविध आयामलाई तीन देशका महिला कलाकारहरुले क्यान्भासमा रङ्गाउनु भएको छ । क्यान्भासमा कतै नारी शक्तिका रुप झल्किएका छन् । कतै प्रकृति र महिलाबीचको अन्तरसम्बन्ध ।

कलाका अनेक रङहरुसँगै महिलाका मनोभावनाहरु क्यान्भासमा छचल्किएका छन् । यति खेर काठमाडौँमा नेपाल, भारत र बङ्गलादेशका महिला कलाकारको जमघट भएको छ । महिला कलाकारहरुको सहभागितामा महिलाहरुले सिर्जना गरेका चित्रकला तथा मूर्तिकला प्रदर्शनी विरलै भेटिन्छन् तर यसपालि त्रिदेशीय कला प्रदर्शनीमा महिलाले मात्रै बनाएका सिर्जना प्रदर्शनी गरिएका छन् ।

यी सबै कलात्मक भाव काठमाडौँको बबरमहलस्थित नेपाल कला परिषद्मा प्रस्तुत गरिएको छ । जहाँ तीन देशका महिला कलाकारका चित्रकला तथा मूर्तिकलाको अन्तर्राष्ट्रिय प्रदर्शनी चलिरहेको छ । प्रदर्शनीले प्रायः कमजोर बनाइने गरिएको महिलाको शक्ति पुरुषको भन्दा कम छैन भन्ने सन्देश दिन खोजेको देखिन्छ । प्रदर्शनीमा ६२ महिला कलाकारका दुई सय कलाले कला परिषद्को तीनवटा हल भरिएका छन् । महिलाको शक्तिलाई नजिकबाट नियाल्न र बुझ्न प्रदर्शनीले सहयोग पुग्ने जनाइएको छ ।

महिलाका रङ र कुचि कुनै पुरुष कलाकारकाभन्दा कमजोर देखिँदैनन् । बरु अब्बल देखिन्छन् । महिलाहरुको कला प्रदर्शनीमा प्रेम, खुसी, जनजीवन, प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा, महिला अनुभूति, भाव, संवेदना पस्किएका र परम्परागत चित्रकला तथा मूर्तिकला देख्न पाइन्छ ।

आधुनिक र नारीवादी कलाकारका रूपमा आफ्नो कला यात्रा अघि बढाउनुभएकी भारतीय कलाकार मौमिता घोष भन्नुहुन्छ, “कला क्षेत्रमा पनि महिलाहरुलाई चुनौती छ । पुरुषको तुलनामा महिला कमजोर पारिएको अनुभव गरेकी छु, त्यसैले महिलाहरुकै समूह बनाएर महिला कलाकारले केही गर्न सक्छन् भन्ने देखाउने प्रयत्न गरेका हौँ ।” सन् २०१८ बाटै भारतीय महिलाको समूह ‘स्प्रेड विङ्स’मार्फत कलामा महिलाको क्षमता र शक्ति प्रस्तुत गर्दै आएको छ ।

घोषले थप्नुभयो, “अहिले हामी एउटै स्टुडियोमा काम गर्छाैं, ग्यालेरी पनि संयुक्त खोल्ने तयारीमा छौँ । ठाउँठाउँमा गएर संयुक्त कला कार्यशाला र प्रदर्शनी गरेका छौँ । यो सबै महिला कलाकारलाई प्रोत्साहन र अगाडि बढाउन गरिएको प्रयास हो ।” महिला मिलेर महिला कलाकारको सशक्तीकरण गरिरहेको र त्यसैको एउटा काम यहाँको त्रिदेशीय कला प्रदर्शनी भएको उहाँको भनाइ छ ।

उहाँले नेपालमा महिला कलाकार एकीकृत हुन सुझाव दिनुभयो । महिला कलाकारलाई अझै समस्या रहेको बताउँदै उहाँले घरगृहस्थी सम्हालेर काम गर्नुपर्ने अवस्था रहेको सुनाउनुभयो ।

कला परिषद्मा प्रकृतिमा रमाउने अर्का भारतीय कलाकार सोमा बेनर्जीको तलाउमा कमलको फूल फक्रिरहेको सुन्दर सिर्जना देख्न सकिन्छ । पहिलोपटक नेपाल आउनुभएकी उहाँले नेपालको प्रकृतिले आफूलाई लोभ्याएको र चित्र सिर्जना गर्न मन लागेको बताउनुभयो ।

अर्का भारतीय कलाकार पियाली गाँगुली पनि पहिलोपटक नेपाल आउनुभएको हो । प्रदर्शनीमा उहाँले प्रकृतिलाई जोडेर गाउँले जीवन, बालबालिकाको खुसी र एक जोडी भँगेराको प्रेम प्रस्तुत गर्नुभएको छ । उहाँले महिला कलाकारका समस्या समाधान गर्दै कला क्षेत्रमा अब्बल बनाउन संस्था खोलेरै अघि बढेको उल्लेख गर्नुभयो । उहाँले बालबालिकाको खुसीलगायतका चार कला प्रस्तुत गर्नुभएको छ ।

बङ्गलादेशबाट आउनुभएकी उमी हविवाले परम्परागत कलासहितका प्रकृति कलामा प्रस्तुत गर्नुभएको छ । उहाँका अनुसार समसामयिक विषयका चित्र समावेश छन् । त्यहाँ परम्परागत रुपमा चल्ने रिक्सा उहाँले प्रस्तुत गर्नुभएको छ ।

उहाँकै पहलमा बङ्गलादेशका कलाकारले महिला शक्ति र सशक्तीकरणका लागि हालै ‘घुड्डी काइट टल्स’ नामक संस्था खोलेर महिला कलाकारलाई एकीकृत गरेको छ । अहिले सोही संस्थाबाट यहाँ कलाकारहरु सहभागी छन् । यो भारतीय महिला कलाकारको संस्था ‘स्प्रेड विङ्स’बाटै प्रेरित भएर खोलिएको हो । उनीहरुले यस्तै संस्था नेपालमा आवश्य रहेको बताए । त्यसो भएमा महिलाले आफ्नो कला सिर्जना प्रदर्शनीमा पुरुषको भर पर्नु नपर्ने उनीहरुको भनाइ छ ।

२१ नेपाली कलाकार लालित्य कला जागरणबाट सहभागी छन् । नेपाली कलाकारको नेतृत्व गरेर सुष्मा श्रेष्ठले प्रदर्शनीमा प्रतिनिधित्व गर्नुभएको छ । महिलालाई समेटेर अघि बढाऔँ भन्ने सोचका साथ काम थालेको उहाँले सुनाउनुभयो । “नेपाली महिलाको कलालाई सँगसँगै अघि बढाऔँ भनेर सहभागी भएका छौँ, यसले महिला कलाकारलाई प्रोत्साहन मिलेको छ”, उहाँले भन्नुभयो ।

भारतको सबै विधा र विषयका सिर्जना प्रदर्शनीमा समावेश छन्भने बङ्गलादेशका समसामयिक र परम्परागत कला बढी छन् । नेपालका कलाकारले मिथिला मधुवनी आर्टलाई प्राथमिकता दिएका छन् । धेरैजसो कला महिलाको भाव, दृष्टिकोण सशक्तीकरण, प्रेमलगायतका समावेश छन् ।

नेपालबाट २१ कलाकारका ३४ सिर्जना प्रस्तुत गरिएका छन् । बङ्गलादेशबाट १२ कलाकारका ६० सिर्जना प्रदर्शनीमा राखिएको छ । कलाकारहरुले रहनसहन, कला संस्कृति, अमूर्त र प्रकृतिलाई सुन्दर ढङ्गले प्रस्तुत गरेका छन् । प्रदर्शनीमा बङ्गलादेशका चार कलाकार प्रत्यक्ष रुपमा सहभागी छन् ।

भारतबाट २७ कलाकारका एक सयभन्दा बढी सिर्जनाले स्थान पाएको छ । प्रदर्शनीमा भारतबाट आठजना कलाकार प्रत्यक्ष सहभागी छन् । महिलावादीका साथै जलरङमार्फत सिर्जना तथा दृश्यचित्र र तेलरङबाट बनाइएका सिर्जना समावेश छन् ।

नेपालका कलाकारहरु चाँदनी बज्राचार्य, शालिनी पाण्डे, राखी कर्ण, आर्या राजभण्डारी, शुभद्री सुब्बा, हिमानी प्रधान, बन्दना कनक, सरला श्रेष्ठ, प्रतिभा पोखरेल, सरिता मण्डल, जुनु श्रेष्ठ, मनसा प्रजापति, सुष्मा श्रेष्ठ, श्रेया हाडा श्रेष्ठ, यशोदा लम्साल, अनुराधा थापा, गङ्गा सुवेदी, सरसा खड्गी, ज्योति सापकोटा कर्ण, सुस्मिता जिमी र सरोजा खड्गीको कला समावेश गरिएको छ ।

भारतका कृति अवस्थी, पियाली गाँगुली, साम्पा गिरी विथिका दत्त, रुचिरा मजुमदार पौल, इटी भट्टाचार्य, मौमिता घोष, सोमा माझी, सोमा बेनर्जी, सुस्मिता आयुव, स्वप्ना सिन्हा, लिपिका चौधरी, पाली मजुमदार मोनिदीपा मित्र, चैतली दास, सुदीपा दास, देवजानी घोष, जया विश्वास, सुमिती सिन्हा, मौमिता मजुमदार, सुकन्या डेइ, रितुपर्ना दास, अन्तरा विष्नु, सुजाता दास, देवीका शाह र रोजिना एसमिनका कला समावेश छन् ।

बङ्गलादेशका लुब्ना हविव, हसना हेना परोस, उमे हबिबा, डा सिमा इस्लाम, नसरिन अख्तर निला, सुनिपा, इस्लाम, महिन महुन्मा, सादिया सामिम मन्सुर, तास्लिमा अख्तर मिसु, ताहिया तास्निम र करिस्मा देवी मुनीका कला सिर्जना प्रदर्शनीमा राखिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *