September 20, 2026

आमाको काजकिरिया गर्दै अर्यालका छोरीहरु

0

इलाम ।

आफ्ना बुबा–आमाको मृत्यु हुँदा छोराले मात्र काजकिरिया गर्नुपर्छ भन्ने परम्पराको अन्त्य गर्दै इलामको रोङ गाउँपालिका–४, कोल्बुङमा छोरीले आमाको किरिया गरिरहेका छन् ।

पूर्वाञ्चल दैनिकका इलामका संवाददाता पत्रकार गणेश अर्यालकी पत्नी तारा रिजाल अर्यालको निधन भएपछि उनका छोरीहरू १८ वर्षीया गरिमा र १४ वर्षीया योजनाले अहिले कोरामै बसेर आमाको काजकिरिया गरिरहेका छन् । छोराले जस्तै सेतो वस्त्र लगाएर उनीहरू काजकिरियामा रहेका छन् ।

आफ्नी आमाको अन्त्येष्टिमा पनि उनै छोरीहरूले दागबत्ती दिएका थिए । कान्छी छोरी आठ वर्षकी मात्र भएकाले उनी चाहिँ काजकिरियामा सहभागी भइनन् । हिन्दूशास्त्रमा कतै उल्लेख नभए पनि छोराले मात्रै आफ्ना आमा–बुबाको काजकिरिया गर्ने चलन लामो समयदेखि समाजमा छ । छोरीले काजकिरिया गर्नुहुँदैन भन्ने गलत परम्परा तोड्दै आफूलाई जन्मदिने आमाको आफैंले काजकिरिया गरिरहेको जेठी छोरी गरिमाले बताइन् ।

‘छोरा भए पनि छोरी भए पनि जन्म आमाले दिनुभएको हो’ –उनले भनिन्– ‘आमाप्रतिको आफ्नो दायित्व पूरा गर्न लिङ्गका आधारमा फरक हुन्छ र ?’ उसो त, यहाँ पनि छोरा नभएको अवस्था कसले किरिया गर्ने भन्ने विषयमा गाउँघर र परिवारबीच व्यापक छलफल नभएको होइन । छलफलमा केहीले छोरीले काजकिरिया गर्न नहुने तर्क पनि राखेका हुन् ।

तर, स्थानीय पण्डित र पुरोहितले हिन्दूधर्मका विज्ञसँग सल्लाह माग्दा छोरीलाई काजकिरिया गर्न कतै बन्देज नभएको थाहा पाएपछि छोरी नै काजकिरिया थालेको एक स्थानीयले बताए । ‘पहिला त यहाँका केही पण्डित–पुरोहितले पनि छोरीको काजकिरिया स्वीकार्न मानेका थिएनन्’ –उनले भने– ‘तर, पछि कर्मकाण्डका विज्ञसँग सल्लाह लिँदा छोरीलाई कुनै बाधा नपर्ने बुझेपछि काजकिरिया शुरु भएको हो ।’ दिवंगत ताराका पति पत्रकार अर्यालले समाजका कतिपयले अझै पनि शास्त्रीयभन्दा परम्परागत चलनमा मात्रै विश्वास राख्दा रुढीवादी संस्कार हट्न नसकेको बताए ।

नेपाल पञ्चांग निर्णायक समितिका कार्यकारी निर्देशक पण्डित ज्योतिषी सूर्यप्रसाद ढुंगेलले छोरीले काजकिरिया गर्न नहुने भन्ने व्यवस्था कतै पनि नभएको बताए । ‘छोराले मात्रै आफ्ना आमा–बुबाको काजकिरिया गर्नुपर्छ भन्ने चलन चलिआएको हो, छोरीले गर्न हुँदैन भन्ने छैन’ –उनले भने– ‘अहिले त छोरा र छोरी समान दृष्टिमा हुने भएकाले पनि काजकिरियामा कुनै बाधा–अवरोध हुँदैन ।’

ताराको गत चैत १३ गते क्यान्सर रोगका कारण निधन भएको थियो । केही समयअघि इलामकै सूर्याेदय नगरपालिका–१२ को एक परिवारमा छोरीले नै आफ्ना बुबाको काजकिरिया गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *