September 19, 2026

सुरुङ्गामा आजबाट कला र साहित्य महोत्सव

0

सुरुङ्गा ।

सुरुङ्गामा आयोजना हुने कनकाई कला, संस्कृति तथा साहित्य महोत्सवमा मुलुकका कला, संस्कृति र साहित्यका हस्ती सुरुङ्गामा भेला हुँदैछन् ।

रोटरी क्लव अफ कनकाई सुरुङ्गाकोे आयोजनामा फागुन १४ आजदेखि १६ गते बुधबारसम्म चल्ने महोत्सवको सबै तयारी पूरा भएको आयोजक संस्थाका अध्यक्ष शिवकुमार कँडेलले जानकारी दिए ।

कार्यक्रममा नेपाली चलचित्र क्षेत्रका भीष्म पितामह भनेर परिचित वरिष्ठ अभिनेता तथा गीतकार नीर शाहका साथमा अग्रज साहित्यकार तुलसी दिवस, अर्जुन पराजुली, प्राध्यापक डा. रामप्रसाद ज्ञवाली, प्राध्यापक डा. देवी नेपाल, कवि मनु मञ्जिल, धिरेन्द्र प्रेमर्षि, प्रदीप रोदन, लक्ष्मण गाम्नाङ्गे, कुन्ता शर्मा, सुमन स्मारिका, हरिमाया भेटवाल, गीतकार शिशिर योगी, हास्य कलाकार मनोज गजुरेल, गायिका रचना रिमाल लगायत सुपरिचित स्रष्टा कलाकारहरूको प्रस्तुति रहने कार्यक्रम संयोजक अखिलकुमार कोइरालाले जानकारी दिए । तीन दिने महोत्सवको उदघाटन नीर शाहले गर्ने, दोस्रो दिनको प्रमुख आतिथ्य नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति गंगाप्रसाद उप्रेती र तेस्रो दिनको प्रमुख आतिथ्य अग्रज साहित्यकार तुलसी दिवसले गर्ने तय भएको छ ।

अग्रज साहित्यकार कोमलप्रसाद पोखरेल, बुद्धदेवप्रसाद घिमिरे, जीवनाथ सुवेदी, डा. पुण्यप्रसाद पौड्याल लगायतका स्रष्टाको अगुवाइमा स्थापना भएको कनकाई प्रतिभा प्रतिष्ठानलाई चलायमान बनाउन, कनकाई नगरमा रहेका सर्जकहरू चित्रकार पवन राजवंशी, मूर्तिकार हिम्मत नेम्बाङलगायतको कलाको सम्मान र प्रर्वद्धन गर्न, कला, संस्कृति र साहित्य क्षेत्रमा अघि बढ्न खोजिरहेका नव प्रतिभाहरूलाई प्रोत्साहन गर्न सघाउन पु¥याउने उद्देश्यले साहित्य महोत्सव आयोजना गर्न रोटरी क्लब अफ सुरुङ्गाका निवर्तमान अध्यक्ष खेमप्रसाद प्रसाईंले जानकारी दिए ।

महोत्सवमा राष्ट्रियता झल्कने र संस्कृतिको प्रदर्शन गर्ने, स्थानीय विविध जातजातिहरूको भेषभूषा, संस्कृतिलाई एकीकृत गरी नागरिक एकताको सन्देश दिन जातीय पहिचानको संरक्षणमा महोत्सवले टेवा पु¥याउने गरी कार्यक्रम तय भएको बताइएको छ । महोत्सव अवधिभरमा स्थानीय, जिल्लास्तरीय र राष्ट्रिय साहित्य गोष्ठी, ६ वर्षदेखि १२ वर्ष उमेर समूहका विद्यार्थी वर्गलाई लक्षित गरेर कविता लेखन प्रशिक्षण, शिक्षक तथा साहित्यप्रेतीका लागि साहित्य लेखन कार्यशाला, पुस्तक मेला, पुस्तक डोनेशन, स्टलहरुमा व्यावसायिक गतिविधि सञ्चालन संस्थाका पूर्व अध्यक्ष कुमारमणि पोखरेलले बताए ।

महोत्सव सञ्चालनका लागि रोटरी क्लव अफ सुरुङ्गाका सदस्य अखिलकुमार कोइरालाको संयोजकत्वमा रोटरी क्लव अफ सुरुङ्गाका अध्यक्ष शिवकुमार कँडेल, निवर्तमान अध्यक्ष खेमप्रसाद प्रसाईँ, प्रेसिडेन्ट इलेक्ट लुबराज उप्रेती, संस्थापक अध्यक्ष लक्ष्मीप्रसाद उप्रेती, प्रेसिडेन्ट नोमिनी डिल्लीराम मैनाली, पूर्व अध्यक्षहरू कुमारमणि पोखरेल, सुशीलकुमार श्रेष्ठ, टीकाप्रसाद जमरकट्टेल र रोट्रयाक्ट् क्लव अफ कनकाई सुरुङ्गाका सचिव दिवाकर तिवारी रहेको मूल समिति गठन गरी तयारी पूरा गरिएको हो ।

स्थानीय कला र संस्कृति झल्किने विभिन्न झाँकीका साथ नगरपरिक्रमा गरी समुद्घाटन हुने र स्थानीय धार्मिक तथा पर्यटकीय क्षेत्रको अवलोकन भ्रमण आदि कार्यक्रमहरू रहेकोे प्रचारप्रसार संयोजक रामप्रसाद निरौलाले जानकारी दिए । कार्यक्रमबाट बन्दनिषेधित शान्ति क्षेत्रको रूपमा रहेको कनकाई–सुरुङ्गाको गरिमा अझ माथि उठ्ने, विद्यालय रक्याम्पसका नेपाली विषयका शिक्षकहरू, स्थानीय स्रष्टाहरू तथा स्नातक र स्नातकोत्तर अध्ययनरत् विद्यार्थीहरू लाभान्वित हुने प्रचारप्रसार संयोजक निरौलाले बताए ।

महोत्सव सम्पन्न गर्न करिब २५ लाख ४५ हजार रुपैयाँ खर्च हुने आयोजकले अनुमान गरेको छ । स्थानीय पशुपति अंग्रेजी माविको प्राङ्गणमा कार्यक्रम हुने उक्त महोत्सवलाई भव्य, सभ्य र ऐतिहासिक बनाउनका लागि स्थानीय सरकार कनकाई नगरपालिका, प्याब्सन, सामुदायिक विद्यालय, स्थानीय क्याम्पस लगायत स्थानीय व्यवसायीहरूको ठूलो सहयोग रहेको आयोजक संस्थाकी सचिव विनिता मैनाली (बिमली)ले बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *