September 20, 2026

ए ईश्वर !
किन यति धेरै ऊर्जा
बर्वाद गर्दैछौ
अनावश्यक मनुष्य जन्माएर !

जे पनि गर्न सक्ने
जे पनि बन्न सक्ने
स्वतन्त्रता र क्षमताहरु दिँदैमा
अवसरहरु खोसिएपछि
के उसका सम्भावनाहरु
निमोठिएका छैनन् र ?

यो उग्र विध्वंस
यो भयानक दोहन पृथ्वीको
असमानता र भेदको अरण्य रोदनहरु
के पुगेन पर्याप्त प्रमाण
कुन दुर्दशा हेर्न रहर
बाँकी छ तिमीलाई

किन बाध्य छौ र अझै
चेतनाको परीक्षा गरिरहेछौ
के–के छान्दैछौ
चियारंग छाने जस्तै
तिम्रो सृष्टीको छान्नेबाट
किन पगितो मान्छे
बर्गेल्ती जन्माइरहन्छौ
उत्तर देऊ ?

तिमीलाई जानेर
तिमीलाई साक्षात्कार गरेर
तिम्रै गुण र स्वभावमा बाँचोस्
आन्नरदमा रमाओस् भन्ने
तिम्रा सृष्टिको मुल ध्येयहरु
वेद, उपनिषद् र गीताका गायनहरु
के–कति पूरा हुँदैछन् ।

युगको हिसाब तिमी नै राख
चित्रगुप्तले थामी नसक्ने
यो युगको अभिशप्तता
मनुष्यताको व्याप्त विछिप्तता
कति हेरौं, कसरी मेटाउनु
अहंकारले शिखर आरोहण गरेको बेला
करुणाले दुहाई मागेको बेला
मनुष्यले मनुष्यताको बाजी हारेको बेला

हे ईश्वर !
बचत गर यो ऊर्जा
खास युगमा
विशेष मनुष्य जन्माउन ।

अर्जुनधारा–८, झापा

Leave a Reply

Your email address will not be published. Required fields are marked *