September 18, 2026

‘जबजको सौन्दर्य चिन्तन’ को लोकार्पण

0

सुरुङ्गा ।

नेपाली कम्युनिष्ट आन्दोलनको सिद्धान्तको रूपमा विकास भएको जनताको बहुदलीय जनवादसम्बन्धी विवेचना गरिएको पुस्तक ‘जबजको सौन्दर्य चिन्तन’ को लोकार्पण गरिएको छ ।

राष्ट्रिय जनसांस्कृतिक महासंघ, नेपालको छत्तीसौं स्थापना दिवसका सन्दर्भमा एक कार्यक्रमबीच ‘जबजको सौन्दर्य चिन्तन’ नामक ग्रन्थको लोकार्पण गरिएको हो । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले महासङ्घका उपाध्यक्ष आर.सी.न्यौपानेको परिकल्पना एवं सम्पादनमा तयार पारिएको जबजको सौन्दर्य चिन्तन नामक ग्रन्थ लोकार्पण गरेका हुन् ।
यसै सन्दर्भमा पोखरेलले महासङ्घका अध्यक्ष प्रेमनाथ अधिकारीद्वारा रचना गरिएको झण्डाको गीतसमेत लोकार्पण गरिएको थियो भने राष्ट्रिय जनसंगीत कलाकार संघ, नेपालद्वारा गठित नौमती बाजा समूहको पनि शुभारम्भ गरिएको थियो ।

ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको सभाहलमा महासङ्घका अध्यक्ष प्रेमनाथ अधिकारीको सभापितत्वमा सम्पन्न भएको कार्यक्रममा विशेष अतिथिका रूपमा नेकपा (एमाले) का उपाध्यक्ष युवराज ज्ञवाली, स्थायी समिति सदस्य तथा महासङ्घका इन्चार्ज रघु पन्त, स्थायी समिति सदस्य तथा प्रचार विभाग प्रमुख राजेन्द्र गौतम, महासङ्घका उपाध्यक्ष तथा ग्रन्थका प्रधान सम्पादक आर.सी.न्यौपानेलगायत रहेका थिए ।

उक्त कार्यक्रममा महासङ्घका उपाध्यक्ष भूमिका सुब्बा, कार्यवाहक महासचिव अशोक राई, कोषाध्यक्ष सिन्धु जलेसा, प्रा.डा.जीवेन्द्र देव गिरी, प्रा.केशव सुवेदी, प्रा.डा.ध्रुवकुमार घिमिरे, डा.षडानन्द पौडेल, प्रा.जगत उपाध्याय ‘प्रक्षित’, मञ्जुल, शान्ता मानवीलगायत विशिष्ट व्यक्तित्वको उपस्थिति थियो ।

दिनेश डि.सी.ले सञ्चालन गरेको कार्यक्रममा ग्रन्थउपर प्रधान सम्पादक आर.सी.न्यौपानेले ग्रन्थको दार्शनिक एवं राजनीतिक सौन्दर्यका बारेमा परिचर्चा गर्दै भनेका थिए, ‘सिद्धान्ततः सौन्दर्य चिन्तन विज्ञान हो । यो कलाको दर्शन हो, ज्ञानको स्रोत हो । समाज विज्ञानको दर्शन तथा व्यवहारबाट सत्यको खोज गर्ने या सिद्धान्तलाई जीवनमा उतार्ने ज्ञानको स्रोत सौन्दर्य चिन्तन हो ।

सौन्दर्य चिन्तन पदार्थ र चेतना, पदार्थ र ऊर्जा, स्थूल र सूक्ष्मको कठिन रहस्य पत्ता लगाउने पद्धति हो ।’ लेखक न्यौपानेले भने, ‘जननेता मदन भण्डारीद्वारा प्रतिपादित सिद्धान्त जनताको बहुदलीय जनवाद नेपाली कम्युनिष्ट आन्दोलनका परम्परामा माक्र्सवादको सिर्जनात्मक विकासको एउटा महान् परिघटनाबाट निर्माण भएको हो ।

नेकपा (एमाले)को मार्गनिर्देशक सिद्धान्तका रूपमा प्रतिपादित यस सिद्धान्तका राजनीतिक, सामाजिक, आर्थिक, सांस्कृतिक एवं वैचारिकलगायत अनेक आयाम छन् ।’ कार्यक्रममा रघुजी पन्तले कला, साहित्य तथा संस्कृतिको महत्वबारे मन्तव्य राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *