‘मेरो देश मरिसक्यो’
मोटो रकम तिर्नु
कमारो बन्न झोला भिर्नु
नेपालीको नियति भइसक्यो
मेरो देश मरिसक्यो !!
जातजातिको नाममा बाँडिनु
धर्म र भाषाको नाममा भाँडिनु
नेपालीको नियति भइसक्यो
मेरो देश मरिसक्यो !!
उब्जाउ खेत बाँजो छोड्नु
आयातितले हातमुख जोड्नु
नेपालीको नियति भइसक्यो
मेरो देश मरिसक्यो !!
कागती रोपेर सुन्तला खोज्नु
राम्रा भन्दा हाम्रा रोज्नु
नेपालीको नियति भइसक्यो
मेरो देश मरिसक्यो !!
विदेशी भूमिमा ज्यान गुमाउनु
पर्सकी प्रेमिका सुम्सुम्याउनु
नेपालीको नियति भइसक्यो
मेरो देश मरिसक्यो !!
निराशाको साथ बाँच्नु
मनमा झिनो आश साँच्नु
नेपालीको नियति भइसक्यो
मेरो देश मरिसक्यो !!
वयस्क नहुँदै छोरा छोरी बिदा गर्नु
फर्की आउने आशै आशमा देह त्याग्नु
नेपालीको नियति भइसक्यो
मेरो देश मरिसक्यो !!
श्रीमानको सम्झनामा सिराने भिजाउनु
फोन कै भरमा मन रीझाउनु
नेपालीको नियति भइसक्यो
मेरो देश मरिसक्यो !!
बालबच्चा तस्बिर मै बढेको देख्नु
सम्झनामा तड्पिएर मेसेज लेख्नु
नेपालीको नियति भइसक्यो
मेरो देश मरिसक्यो !!
बिदा नपाएर पश्चाताप लुकाउनु
जन्मदाताको मृत्यु संस्कार गर्न नपाउनु
नेपालीको नियति भइसक्यो
मेरो देश मरिसक्यो !!
कति बस्छौ भोक प्यास माया मारेर
कति बस्छौ देश पर सारेर
आउने होइन अब त ?
हन नबनाउने देश, भन त ?
अस्तव्यस्त भए पनि अझै छ आश
फर्की आऊ युवा अझै छ सास
आऊ र हातमा लेउ लगाम
सँगै मिलेर धमिरा भगाम् ।

अर्पण शर्मा
झापा ।
