September 18, 2026

तेराख एउटा खुल्ला किताब

0

साहित्यलाई विचारभन्दा माथि राख्ने मान्छे मैले आजसम्म विरलै भेट्टाएको छु । अझ भनौं कि साहित्यलाई राजनीतिक विचारभन्दा माथि राख्ने त्यस्ता विरलै भेट्टाइएका साहित्यकार मध्येका एक साहित्यकार हुन् –तेजराज खतिवडा । जो कोही साहित्यकारसँगको पहिलो भेट मै कतिपय साहित्यकारहरू कुनै न कुनै कोणबाट यो कुन विचारधाराको मानिस रहेछ भन्ने कुराको छनक पाउँनका लागि आतुर र लालायित हुन्छन् ।

कोही कुरा वा प्रसङ्गको फेरोले घेरो हालेर समाउँछन् । अरूहरूसँगको भेटमा उहाँले के–कस्तो व्यवहार गर्नुभयो त्यो त मलाई थाहा भएन । मसँगको भेटमा उहाँले मलाई भने कुनै विचारधारा माथिको प्रश्न किमार्थ राख्नु भएन । त्यसकारण पनि मेरो हेराइमा तेराख राजनीतिभन्दा उच्च साहित्यिक व्यक्तित्वका रूपमा दरिइरहनुभयो । उहाँले न कुनै आफ्नो राजनीतिक विचार नै दर्शाउनु भयो । बरू अलि बढी पेशागत, घर–व्यवहार र कम धार्मिक कुरा गर्नुभयो । अनि दुःख–सुख, जीवनका आरोह–अवरोहका कुरा गर्नुभयो । सायद त्यो बेलासम्म आइपुग्दा उहाँले राजनीतिबाट साहित्यमा पूर्णरूपमा फड्को मारिसक्नुभएको थियो । उहाँलाई देख्ने बित्तिकै मैले लेखनाथ पौड्याललाई सम्झन पुगेँ । सायद लेखनाथ पौड्याल पनि यस्तै थिए । सेतै फुलेका । दाह्रीजुँगामा सजिएका ।

जेहोस् लेखनमा एउटा चिन्तन र विचार दिन सक्ने साहित्यकारको नाम हो तेराख । शुरूमा अलि ठाडो स्वभावमा प्रस्तुत भए झैं लागे पनि कुरा गर्दै गएपछि विस्तारै मलिन हुँदै जाने सरल, सादा जीवन उच्च विचार भएका शालिन व्यक्तित्वका धनी स्रष्टा तेजराज खतिवडा नेपाली साहित्यको इतिहासमा आफ्नै कर्मले स्थापित भएको नाम हो ।

मलाई लाग्छ स्रष्टाले आफ्नो उचाइ आफैं बनाउने हो । यो मेरो व्यक्तिगत बुझाइ हो । त्यो दिगो पनि हुन्छ । आफ्नो पन आफैं दिने हो । त्यो रङ्गीन र पक्का पनि हुन्छ । मानिसले आफ्नो असली रूप प्रष्ट देखाउनु पनि सामान्य कुरा होइन । यसरी आफ्नो छुट्टै पन र छुट्टै पहिचान बनाइसकेका साहित्यकार हुन् तेराख । भनिन्छ हरेक मानिस एउटा किताव हो । तेराख पनि एउटा खुल्ला किताब जस्तै लाग्छ मलाई । अक्षरको खेती गर्ने मान्छे केही समय त्यत्तिकै बस्न सक्ला, तर लामो समयसम्म त्यत्तिकै बस्न सक्दैन । तेराख पनि यसका उदाहरण हुन् ।

मोफसलमा बसेर यति धेरैका धेरै कृति दिन सक्नु पनि सानोतिनो कुरा होइन । उहाँको देहवसान हुनुभन्दा एक वर्ष पहिलेको भेटमा मैले मनमनै भनेको थिएँ अब बेलाबेला मेरो उहाँसँग भेटघाट भइरहनेछ । कुराकानी र भलाकुसारी भइरहनेछ । जम्नेछौं एकअर्कामा हामी । उमेरले धेरै फरक परे पनि उहाँले मसँग समकालीन आफ्ना साथीहरू सरहकै व्यवहार गर्नुभयो । यो पनि मैले उहाँमा पाएको एउटा छुट्टैपन हो । म अलि सिनियर नै हुँ भन्ने कुराको अहम् मैले उहाँमा कहीँकतैबाट अलिकति छनकसम्म पनि पाइनँ । यो पनि मलाई गढेको कुरा हो । अझ भनौं मलाई खट्किएको कुरा यो पनि एउटा हो । मैले कतिपय लेखकहरूमा आफूभन्दा कम उमेरकाहरूसँग छुट्टै व्यवहार र आफ्ना समकालीनहरूसँग छुट्टै व्यवहार गर्ने लत रहेको पाएको छु । त्यो तेराखमा कतैबाट छनकसम्म पाइनँ ।

मैले उहाँबाट सिकेको कुरा एउटा यो पनि हो । बेला–बेला उहाँलाई सम्झन बाध्य हुन्छु म । यसमा उहाँले म माथि छोड्नु भएको अमीट छाप नै हो, यसको मूल कारण । त्यो पनि पहिलो भेट मै ! त्यसपछि हाम्रो भेट भएन । बिडम्बना पहिलो भेट नै अन्तिम भेट भइदियो । उहाँ बित्नुभन्दा अघिल्लो वर्ष उहाँकै घरमा हाम्रो भेट भएको थियो । त्यो बेला तपाइँलाई देख्दा त लेखनाथलाई देखे जस्तै लाग्यो दाइ भनेर भन्न मन लागेर पनि सकेको थिइनँ । एकदिन त नभनि छोड्दिन भनेर यो मनलाई थुम्थुम्याएको थिएँ । सायद पहिलो भेट भएर पनि होला । झ्याप्प दाह्रीजँगाा पाल्नु पनि उहाँको व्यक्तित्वको पहिचान नै थियो । यो पनि उहाँको स्मरणमा आइरहने एउटा अर्को झझल्को हो । उहाँ मेरा आँखा अगि साँच्चै शालीन व्यक्तित्व बनेर उभिनु भएको थियो । उहाँलाई थाक्न, पाक्न कति समय लाग्यो । भनिन्छ ४० वर्ष नपुगि मानिस परिपक्व हुँदैन । मलाई यतिको हुन ५० वर्ष लाग्यो ।

कहिलेकाहीँ आफैंलाई आफ्नो जीवनको हिसाबकिताब खोज्न मन पनि लाग्दोरहेछ । धेरै कुरा भएथ्यो पहिलो भेटमै । उहाँले आफ्नो पेशा जो उहाँ विगतमा शिक्षक भएर लामो समय बिताउनुभयो । आफू शिक्षक हुँदाको दुःख–सुख अझ बढी जीवनका अरोह–अवरोह, झापाली साहित्य र झापाली साहित्यकारहरूका बारेमा । त्यतिका विधि कुरा गर्दा पनि खै किन हो कुन्नी उहाँले मसँग राजनीतिका बारेमा कुनै छनक पनि ल्याउनुभएन र कसैका कुरा पनि काट्नु भएन । कतै न कतैबाट केही न केही कुरा त चुहुनुपर्ने हो राजनीतिको बारेमा र पनि चुहाउनु भएन । मलाई त लाग्यो आहा साहित्यकार त यस्तो पो हुनुपर्छ त ! जसले साहित्यलाई राजनीतिभन्दा माथि राख्न सकोस् ।

मानिसको जीवन हो एकपल्ट जो कोहीमा आउँछ नै लहड, आँधीबेहरी, खोल्साखहरे बग्छन् । मौसमको बेला ती चल्छन्, बग्छन् र उर्लन्छन् । कहिल्यै नबग्ने खोल्साखहरे पनि बर्खा लागेपछि बग्छन् उर्लन्छन् नै । त्यो उहपोह आयो होला कुनै बेला तेराखमा पनि तर मैले भेट्टाएको तराख उहाँ एउटा शालीन र सुख–दुःखमा सदावहार जीवन जिउँन सक्ने व्यक्तित्वका रूपमा पनि पाएँ । हरेक मानिसलाई कुनै न कुनै रूपमा प्रेरणा प्रदान गर्न सक्ने व्यक्तित्वका रूपमा पनि लिएँ । मलाई निरन्तर साहित्य सिर्जनामा लागिरहन प्रेरणा प्रदान गर्ने धेरै साहित्यकारहरूमा तेराख पनि एक हुनुहुन्थ्यो । जसले धेरैलाई सादा जीवन उच्च विचारको पाठ पढाउनुभयो ।

मानिसको जीवनमा गुन र अवगुन दुबै हुन्छन् नै । हामीले जो कोहीको अवगुनलाई बिर्सेर गुनलाई सम्झने हो । अवगुणलाई छाडेर गुनलाई प्रेरणा, ज्ञान, चेतना र शिक्षाको रूपमा ग्रहण गर्ने हो । जसले मानिसलाई मानिस जस्तो बनाउँछ । हरेक मानिसले हरेक मानिसबाट केही न केही कुरा सिकिरहेको हुन्छ । त्यसमा पनि साहित्यकार एउटा दूरदृष्टि राख्ने इमान्दार व्यक्तित्व हुन्छ । त्यसमै आउने हो चेतना, शिक्षा, ज्ञान आदि । त्यो मैले तेराखमा भेट्टाएको छु । अलि हक्की स्वभावको लाग्यो मलाई । छोटो भेट थियो मेरो उहाँसँगको । कतिपय कुरा भए गरिए ।

कतिपय कुरा पछिको भेटलाई भनेर साची राखेको थिएँ । बिडम्बना उहाँलाई विविध रोगले गाँज्दै ल्याएको रहेछ । केही समयपछि त बितिहाल्नु भयो । बितेर गए पनि उहाँले छोडेर गएको कर्म हामी माझ छ । नेपाली साहित्य भण्डारलाई दिएर गएका उहाँका कृतिहरू छन् । म जुन दिन जतिखेर स्तब्ध भएँ । त्यही दिन त्यतिखेरै उहाँका अनन्य मित्र पुण्यप्रसाद खरेल दाइको खबर फेसबुकमा पढेँ । उहाँ बित्नु भएछ । मैले सोचेको पनि थिइनँ कि उहाँ यति चाँडै आफ्ना–आफन्त र शुभ–चिन्तक सबैलाई छोडेर जानुहोला भनेर । मृत्युले पनि त्यही मानिसलाई छिटो उछिट्याउँदो रहेछ यो धर्तीबाट जसले यो धर्तीको आकासमा उदाएर धरतीलाई धेरथोर उज्यालो बनाएको हुन्छ ।

तेजराज खतिवडा साँच्चै पूर्वको मात्र नभएर सिङ्गो नेपाली साहित्यकासमा उदाएको एउटा स्टार हो जो सदैव चम्किरहन्छ । अक्षरको खेती गर्ने मान्छेको आयु कहाँ छोटो हुन्छ र । हामी माझ त उहाँ रहिरहनुहुन्छ नै । सिङ्गो नेपाली साहित्य जगत्मै उहाँको नाम दरिइरहनेछ । उहाँसँगको मेरो त्यो पहिलो भेट नै त्यस्तो अविस्मरणीय क्षण बन्यो जुन मेरा आँखामा झलझली आइरहन्छ । यद्यपि मैले उहाँलाई जीवनको अन्तिम घडीतिर भेटेको रहेछु । यदाकदा साहित्यिक भेटघाटको रूपमा बेग्लै कुरा हो । लेखनको कुरा पनि छुट्टै हो । खासमा भेटघाट कै लागि उहाँले मलाई उहाँको घरमा बोलाउनु भएको थियो । त्यसको एक÷डेढ बर्षपछि त उहाँ बितिहाल्नुभयो । उहाँसँग गर्न बाँकी रहेका कुरा त रही नै गए । सिङ्गो नेपाली साहित्यको एउटै घरभित्र रहेकोले पनि उहाँप्रति ऋणि छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *