September 19, 2026

झापामा गैरआवासीय नेपालीलाई नागरिकता

0

झापा ।

जिल्ला प्रशासन कार्यालय झापाले गैरआवासीय नेपाली नागरिकलाई नागरिकता वितरण गरेको छ ।

प्रशासन कार्यालयले हाल अमेरिका बसोबास गर्ने बिर्तामोड–८ निवासी देवीप्रसाद पाण्डेलाई सोमबार गैरआवासीय नेपाली नागरिकताको प्रमाणपत्र वितरण गरेको हो । पाण्डेलाई प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले नागरिकता जारी गरी हस्तान्तरण गरेका थिए ।

गत जेठमा संशोधन भएको नागरिकतासम्बन्धी ऐन अनुसार नागरिकता नियमावली सरकारले यसअघि नै स्वीकृत गरेकाले गैरआवासीय नेपालीलाई नेपालको नागरिकता पाउने बाटो खुलेको थियो । सोही बमोजिम झापाबाट पहिलो गैरआवासीय नेपाली नागरिकता वितरण गरिएको प्रशासन कार्यालय झापाले जनाएको छ ।

नागरिकता सम्बन्धी ऐनको दफा ७ (क) १ मा विदेशी मुलुकको नागरिकता प्राप्त गरी दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठनको सदस्य राष्ट्रबाहेकका देशमा बसोबास गरेको र साबिकमा वंशजको वा जन्मका आधारमा निज वा निजको बाबु वा आमा, बाजे वा बज्यै नेपालको नागरिक रही पछि विदेशी मुलुकको नागरिकता प्राप्त गरेको व्यक्तिले आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको उपभोग गर्न पाउने गरी गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्न सक्ने व्यवस्था छ ।

एनआरएन नागरिकता पाएकाहरूले राजनीति गर्न, सरकारी पदमा बस्न र भोट हाल्न पाउने छैनन् । तर, उनीहरूले नेपालमा व्यवसाय गर्न र नेपालमा सम्पत्ति राख्न पनि पाउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *