September 20, 2026

नेपाल औषधि व्यवसायी संघ (एनसिडिए) झापाको अध्यक्षमा खड्का विजयी

0

झापा । नेपाल औषधि व्यवसायी संघ (एनसिडिए) झापाको दोस्रो अधिवेशनमा बिर्तामोडका औषधि व्यवसायी जीवनकुमार खड्का निर्वाचित भएका छन् । दमकमा आज सम्पन्न संघको दोस्रो जिल्ला अधिवेशनबाट खड्का निर्वाचित भएका हुन् ।

अध्यक्षमा निर्वाचित खड्काले १५४ मत पाए भने उनका प्रत्यासी उम्मेद्वार प्रदिप खरेलले ११५ मत प्राप्त गरेका थिए । खड्का बिर्तामोडको त्रिशूल फर्माका सञ्चालक हुन् ।

त्यस्तै, सचिवमा यज्ञराज कार्की विजयी भए । उनले १५१ मत पाए । कार्कीका प्रतिस्पर्धी प्रल्हादराम ढुंगानाले १२१ मत पाएको निर्वाचन समितिका संयोजक नरेन्द्र बरालले जानकारी दिए ।

३६४ जना मतदाता रहेको संघको दोस्रो अधिवेशनमा २७६ मत खसेको निर्वाचन समितिका सदस्य राजेन्द्र चौँलागाईंले जानकारी दिए ।

संघको दोस्रो कार्यकालका लागि अन्य पदमा भने सर्वसम्मत भएको थियो । बरालका अनुसार वरिष्ठ उपाध्यक्षमा गोविन्दप्रसाद अधिकारी, थोक उपाध्यक्षमा विवेक बजगाईं र खुद्रा उपाध्यक्षमा राकेश शाह सर्वसम्मत भएका हुन् ।

त्यस्तै, महासचिवमा विष्णुप्रसाद पौडेल, कोषाध्यक्षमा युवराज भट्टराई र उपकोषाध्यक्षमा लक्ष्मी पौडेल सर्वसम्मत भएका छन् ।

थोक सदस्यमा विप्लव लिम्बू, खुद्रा सदस्यमा रेवती भण्डारी तथा खुला सदस्यमा सुमन कोइराला, धमेन्द्र दंगाल र यामबहादुर विष्ट सर्वसम्मत निर्वाचित भएका छन् ।

यसैबीच, यसअघि भएको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि संघका केन्द्रीय अध्यक्ष प्रकाशकुमार खण्डेलवाल, कोशी प्रदेश अध्यक्ष कुमार खतिवडा, औषधि व्यवस्था विभाग विराटनगरका प्रमुख टेकेन्द्र मिश्र, एप्पोनका पूर्वअध्यक्ष उमेशलाल श्रेष्ठ लगायतले अधिवेशन सफलताको शुभकामना व्यक्त गरेका थिए ।

संघका अध्यक्ष गौतम गुप्ताको अध्यक्षतामा भएको अधिवेशनमा साविक मेची अञ्चल शाखाका पूर्वअध्यक्षहरुलाई सम्मान गरिएको थियो ।

संघका उपाध्यक्ष प्रदिप खरेलले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन महासचिव जीवनकुमार खड्काले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *