अर्जुनधारामा अव्यवस्थित बसोबासीहरुलाई जग्गा धनीपूर्जा वितरण शुरु
अर्जुनधारा ।

झापाको अर्जुनधारा नगरपालिकाले अव्यवस्थित बसोबासीहरुलाई जग्गा धनीपूर्जा प्रमाण पत्र वितरण गर्न शुरु गरेको छ ।
नगरपालिकाको सभाहलमा बुधबार आयोजित एक कार्यक्रममा नगरपालिकाले पहिलो चरणमा अर्जुनधारा–११ नं.वडाका छ जनालाई उक्त प्रमाण पत्र वितरण गरेको हो ।
नगर प्रमुख बलदेवसिंह गोम्देन तामाङको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले दुर्गाराज थापा र विष्णुमाया थापाको धनीपूर्जा छोरा नारायण थापालाई हस्तान्तरण गरेका थिए ।
त्यसैगरी प्रमाण पत्र प्राप्त गर्नेहरुमा मदनकुमार भट्टराई र सीता बुढाथोकी, भवानीप्रसाद मैनाली र पुष्पा मैनाली, डम्बरबहादुर बस्नेत र कविता खड्का, गणेशबहादुर श्रेष्ठ र सुनैना गुप्ता रहेका छन् ।
नगर प्रमुख तामाङका अनुसार हालसम्म अर्जुनधारा–१का ४९२ जना, ५का एक हजार जना र ११का ५७९ जनालाई निस्सा वितरण गरिएको र २, ६, ७ र ८ नं. वडामा निस्सा वितरण कार्य तयारी अवस्थामा रहेको बताइएको छ ।
त्यस्तै नगरपालिकामा सात हजार ६०० जनाले अव्यवस्थित बसोबासी, एक हजार २०० जनाले भूमिहिन सुकुम्बासी र २०० जनाले भूमिहिन दलितको फर्म भरेको बताइएको छ ।
कार्यक्रममा संविधान सभा सदस्य एवम् पूर्व सामान्य प्रशासन मन्त्री केशवकुमार बुढाथोकी, कोशी प्रदेशका निवर्तमान सांसद् वृख प्रधान, राष्ट्रिय भूमि आयोग जिल्ला समिति झापाका अध्यक्ष तिलकसिंह पाण्डेलगायतको आतिथ्यता रहेको थियो ।
नगर उपप्रमुख खड्गमाया पराजुलीले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन प्रशासन शाखाका सहायक सौजन कटुवालले गरेका थिए ।
