नमुना सामुदायिक बजारमा उपभोक्ताहरुको चहलपहलमा वृद्धि
अमित खम्बू,
अर्जुनधारा ।

ग्रामिण बजारको पहिचान बनाउन सफल झापाको अर्जुनधारा नगरपालिका–१ सिस्नेस्थित नमुना सामुदायिक बजारमा कृषि तथा पशुपन्छीजन्य वस्तुको व्यापार शुरु भएसँगै बजारमा उपभोक्ताहरुको चहलपहल बढेको छ ।
यस अघि दैनिक उपभोग गरिने किराना सामग्री, सागसब्जी, मासु, मिठाई, कपडा, जुत्ताचप्पल, कस्मेटीक सामग्रीको मात्र व्यापार हुने गरेकोमा गत भदौ १९ मंगलबारदेखि खसीबाख्रा र केरा बजार शुरु भएसँगै बजारमा उपभोक्ताहरुको चहलपहल बढेको हो ।
प्रत्येक मंगलबार लाग्ने ‘साप्ताहिक हाट’को रुपमा परिचित उक्त बजारमा खसीबाख्रा र केरा आदिको व्यापार शुरु हुुनु अघि औषतमा ३ लाख रुपैयाँको आर्थिक कारोबार हुँदै आएकोमा हाल कारोबारमा वृद्धि भई छ लाख रुपैयाँसम्मको हुने गरेको स्थानीय व्यवसायी पवन खनालले जानकारी दिए । “अब कृषकले आफूले पालेको एउटा बाख्रा वा फलाएको एक घरी केरा बेच्न टाढाको बजार लानुपर्दैन ?”–उनले थप आफ्नो भनाइ राखे ।
ग्रामिण भेगमा रहेको बजार भएको हुँदा बजार व्यवस्थापन समूहले स्थानीयस्तरमा कृषकहरुले उत्पादन गर्ने कृषिजन्य वस्तुहरुको प्रबद्र्धन गर्ने कुरालाई प्राथमिकतामा राखेर अन्य व्यापारसँगै खसीबाख्रा र केराको बजार शुरु गरेको समूहका अध्यक्ष पदमबहादुर निरौलाले बताए ।

बजारमा स्थानीयसँगै छिमेकी जिल्ला इलामको रोङ गाँउपालिका–२स्थित बरफल्याङ र शान्तिपुर, छिमेकी पालिका बुद्धशान्ति गाँउपालिका–२स्थित जयपुर र अर्जुनधारा–२ खुदुनाबारी र झेलेनीबाट कृषक र उपभोक्ताहरु वस्तु खरिदबिक्रीका लागि पुग्ने गरेको अध्यक्ष निरौलाले जानकारी दिए । “हामी लोकल व्यापारीहरुसँगै बाहिरबाट आउने व्यापारीलाई पनि आकर्षण गर्ने किसिमको कार्यक्रम ल्याउने तयारीमा छौं जसले बजारको आर्थिक गतिविधिलाई पनि बढाउनेछ ।”–उनी दावी गर्छन् ।
हाल बजार क्षेत्रमा तत्कालिन् सांसद् पवित्रा निरौलाको सांसद् विकास कोषबाट विनियोजित १० लाख रुपैयाँमा निर्मित एउटा पक्की टहरा, प्रदेश सरकारको १० लाख रुपैयाँबाट निर्मित छ वटा पक्की सटर, तीन वटा अस्थायी टहरा, गोसखान, होटल, समितिको कार्यालयसहितको भवन, सार्वजनिक शौचालय, चौतारो आदि रहेको छ ।
पानी र बिजुलीको पर्याप्त सुविधा रहेको उक्त बजारमा बाहिरबाट आउने व्यापारीहरुको आगमनमा वृद्धी, जीर्ण रहेका टहराहरुको पुर्ननिर्माण, ज्येष्ठ नागरिकहरुको लागि ज्येष्ठ चौतारो निर्माण समितिको प्राथमिकतामा रहेको अध्यक्ष निरौला बताउँछन् । १५ वर्षदेखि कपडाको व्यापार गर्दै आएका व्यवसायी सन्दिप भण्डारी अन्य समयमा सामान्य व्यापार भए पनि चाडपर्वहरुको समयमा व्यापार राम्रो हुने गरेको बताउँछन् ।
यस्तो छ बजार स्थापनाको इतिहासः
१७ वर्ष अघिसम्म त्यस क्षेत्रका स्थानीयहरु सामान्य आवश्यकताका लागि पनि साविक शनिश्चरे गाविस–२ स्थित झापा जिल्लाकै पुरानो शनिश्चरे बजार र बुधबारे गाविसको हडिया बुधबारे बजार पुग्नुपर्ने बाध्यता रहेको थियो ।

वर्षाको समयमा स्थानीय बिरीङ नदीमा आउने बाढीसँगै यातायातको असुविधाका कारण अधिकांश स्थानीयहरु शनिश्चरे बजारमा नै पुग्ने गरेको पूर्व जनप्रतिनिधि एवम् बजार व्यवस्थापन समूहका संस्थापक सदस्य रामबहादुर निरौलाले बताए ।
बजार अभावलाई महसुस गर्दै उपभोक्ताहरुको आवश्यकतालाई पूरा गर्ने उद्देश्यले स्थानीय हचुमासा सामुदायिक वन उपभोक्ता समूहका तत्कालिन् अध्यक्ष विष्णु प्रसाईंको कार्यकालमा एक विघा १२ कठ्ठा चार धुर जमिन खरिद भएपछि बजार सञ्चालनमा आएको समूहका पूर्व अध्यक्ष डम्बर प्रसाईंले जानकारी दिए ।
२०६३ सालदेखि सञ्चालनमा आएको बजारमा हालसम्म अर्जुनधारा, खुदुनाबारी र बुधबारे क्षेत्रका हटिया जाने व्यापारीहरु व्यापारका लागि आउने गरेका छन् ।
यसैबिच सोही बजारको सटरमा मंगलबारदेखि स्थानीय माया कृषि तथा पशुपन्छी फर्मका सञ्चालक हेम लम्सालले बंगुरको मासु पसल शुरु गरेका छन् ।
दैनिकरुपमा पसल सञ्चालन गर्ने उद्देश्यले सञ्चालन गरिएको उक्त पसलको हचुमासा सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष चन्द्र प्रसाईं र वडा सदस्यद्वय इन्द्रकुमारी विश्वकर्मा र मुना खत्रीले संयुक्तरुपमा उद्घाटन गरेका थिए ।
