September 19, 2026

एउटा श्रमिक
जीवनमा काम गर्दागर्दै आफैलाई विर्सन्छ
उज्यालोको खोजीमा
पसिना बगाउँदा बगाउदै जीवनलाई
जोखिममा पारेर
अफ्ट्यारोमा रमाउन खोज्छ
मातृभुमिको लागि घिनलाग्दा व्याधाहररूसँग
लड्न अनि भिड्न खोज्छ
तर उ लडाकु हैन एउटा बाध्यताले
बनाएको श्रमिक हो
आफुलाई मजदुर हूँ भन्न कतिपनि
हिचकिचाउँदैन
दुःखमा हाँस्छ
तातो घाममा हातको छाता ओड्छ
आगोको रापमा मस्तले डटिरहन्छ
उसलाई थाह छ जहाँ उ छ त्यहाँ
पहिले झिँगाको साम्राज्य थियो
सेतो पलास्टिकमा थुनिने डरले
जीन्दगीको गहिराइमा पाङ्ग्रा बनाउन
डटेर लागरहेछ
उ एउटा सच्चा श्रमिक थियो
उ श्रमिक हो उसलाई थाह छ
जीवनको पूर्णता निराशा हैन
डटेर लड्नमा थियो
त्यसैले त उ आँधी हुरी बतास दुःख पीडा
सहदै आनन्दको अनुभूति
लिइरहेको छ
श्रमिक धेरै सोच्छ थोरै काम गर्न चाहन्छ
तर कहिलेकाहीँ गलत मान्छेको
जालमा पर्छ पैसाको लागि
उसलाई थाह छ
घरको दुःख देखेर
‘जीवन र मृत्युको साँघुरो गल्लीभित्र
छिरेर हराउँन चाहन्छ
छोराछोरीको उज्यालो भविष्यलाई
नियाल्दै
आफ्ना पाईला तातो बालुवाको रापिलो
चट्टानमा समयको डडेलो भित्र छिरेर
आफू पिल्सिरहेको हुन्छ’
शीतल छहारी दिने कोही हुदैनन्
जीवनमा ग्रहण त अघिनै लागिसकेको हुन्छ
समयको उर्लदो भेलले कसो बगाउन सकेन
तर पनि आतिदैन किनकि उ श्रमिक हो
मुटुमा तिखा वचनका बाणहरुले चसकचसक
घोचिरहेको हुन्छ
आँखामा निस्पट्ट अन्धकारले
छोपिरहेकोको हुन्छ
जीवनको ज्योति बाल्न खोज्दा खोज्दै
रातो बाकस स्नेही महल बनेर
न्यानो काख चिठ्ठी लेखिएको कागज बनेर
अन्तिम यात्रामा जाने खबर आउँछ
तर पनि डगमगाउँदैन
किनकि उ श्रमिक हो,
कामको आस देखाएर
विस्वासघातीहरुले विषालु तीरहरू
अनेकौ पटक छोड्न खोजेका थिए
कहिलेकाहीँ दासताको सिक्रीले बाँधेर
स्वतन्त्र हातहरुमा रोक लगाउन खोजेका थिए
जिब्रो थुतेर विद्रोहीका आवाजहरुलाई
दबाएर सत्य तथ्य लुकाउन खोजेका थिए
तर पनि उ हारेन कहिल्यै
किनकि उ श्रमिक हो
उसको भौगोलिक वर्णन
सम्प्रदाय,लिङ्ग ,जात,वर्ण, धर्म
शासक बन्ने हुदैन
तर
मातृभूमिमा आँखा देखाउने
झुट्टा मान्छेहरूको रुखो व्यवहारलाई
स्वभिमानले थिच्न खोज्दा देशभक्ति
बचाउन विवश बनेका लडाकु
शासक बन्न बाध्यछन्
किनकि उनीहरू शासक हैन
देश बचाउने श्रमिक हुन्
देश बचाउने श्रमिक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *