लागूऔषध दुर्व्यसन रोक्न बिर्तामोडमा महाअभियान, वडा नं. ३ ले सबैको तथ्याङ्क संकलन गर्दै
बिर्तामोड ।

पछिल्लो समय लागूऔषध तथा दुर्व्यसनीका कारण अपराधका घटनामा वृद्धि भएसँगै अपराध नियन्त्रणका लागि बिर्तामोड नगरपालिका वडा नं. ३ ले लागूऔषधबिरुद्ध महाअभियान शुरु गरेको छ ।
दुर्व्यसनीका कारण घरेलु हिंसा, चोरी, डकैती लगायतका घटनामा वृद्धि भएसँगै त्यसलाई नियन्त्रण गर्न पनि लागूऔषध नियन्त्रण हुनुपर्ने निष्कर्षका साथ बिर्तामोड नगरपालिका वडा नं. ३ ले नेपालमै पहिलोपटक दुव्र्यसनीबिरुद्ध महाअभियान शुरु गरेको हो ।
झापामा लागूऔषध प्रयोगकर्ता वर्षेनि बढ्दै गइरहेको अवस्थामा यो अभियान फलदायी बन्ने इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरीक्षक सुरज कार्कीले बताए । बुधबार नगरपालिकामा पत्रकार सम्मेलन गरी महाअभियानको विषयमा जानकारी गराइएको थियो । उक्त अवसरमा बिर्तामोड क्षेत्रको लागूऔषधको तथ्यांक प्रस्तुत गर्दै डिएसपी कार्कीले स्थानीय स्तरबाट यो अभियान शुरु हुनु स्वागतयोग्य भएको उल्लेख गरे ।
आर्थिक वर्ष २०७७/०७८ मा दुई सय ९३ जना लागूऔषध ओसारपसार तथा कारोबारमा पक्राउ परेका थिए । त्यस्तै आ.व. २०७८/०७९ मा दुई सय ८७, त्यस्तै आ.व. २०७९/०८० मा तीन सय ११ जना पक्राउ परेका थिए भने चालू आ.व.को एक महिनाको अवधिमा ३७ जना लागूऔषध प्रयोगकर्ता तथा कारोबारी पक्राउ परिसकेको प्रहरीले जनाएको छ । बिर्तामोड नगरपालिकाको वडा नं. ३ लागूऔषधको जोखिम क्षेत्र रहेकाले यही क्षेत्रबाट यो अभियान शुरु हुनु स्वागतयोग्य भएको डिएसपी कार्कीले बताए ।
स्थानीय तहले भौतिक विकास निर्माणलाई मात्रै प्राथमिकता दिँदा कतिपय विषयहरु ओझेल परेको भन्दै मानवीय हितका विषयमा बिर्तामोड नगरपालिकाले विशेष पहलकद्मी थाल्ने नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले जानकारी दिए । उनले बिर्तामोड–३ बाट शुरु भएको यो अभियान अन्य वडामा पनि क्रमशः शुरु गरिने जानकारी दिए । अभियानलाई सफल बनाउन सबै एकजुट हुनुको विकल्प नभएको उनको भनाइ छ ।
अभियानका परिकल्पनाकार तथा बिर्तामोड–३ का वडाध्यक्ष मदन बुढाथोकीले अब अपराध गरेर बिर्तामोड–३ मा बस्छु भन्ने कल्पना कसैले पनि नगरे हुन्छ भन्दै भने– ‘यो महाअभियान अन्तर्गत बिर्तामोड–३ मा रहेका ३० वटा टोलको सबै विवरण सुरक्षित गरेर आपराधिक क्रियाकलाप गर्नेहरुलाई निगरानी गर्नेछौं ।’ उनले अभियानलाई सफल बनाउन सबै राजनीतिक दल, संघ–संस्था, बुद्धिजीवी, पत्रकार तथा सबै महानुभावहरुलवाई आग्रह समेत गरे ।
वर्षेनि लागूऔषधको दर बढिरहेको अवस्थामा बिर्तामोड–३ ले हरेक घरको तथ्यांक सुरक्षित गर्नै आपराधिक मनोवृद्धि भएकाहरुलाई निरुत्साहित गर्न यो अभियान शुरु गरेको जानकारी दिए । त्यस्तै बिर्तामोड नगर अस्पतालका डाक्टर सुशिल अधिकारीले रमाइलोकै वहानामा धेरै युवा–युवती कुलतमा फस्दै गएकाले यसलाई रोक्नु सबैको दायित्व भएको उल्लेख गरे । उनले लागूऔषधले मानिसको शरीरको सबै अङ्गमा असर पार्ने भएकाले यस सम्बन्धी सचेतना जगाउन जरुरी रहेको धारणा व्यक्त गरे ।
बिर्तामोड–३ ले आफ्नो क्षेत्रमा रहेका सबै टोल, युवा संघ–संस्था तथा विद्यालयहरुकोा तथ्यांकहरु राख्नुका साथै घरधनी, घर बहाल करमा बस्ने लगायत व्यापार, पेसा सबैको विवरण राखेर उनीहरुको निगरानी वडा तथा नजिकैको प्रहरी कार्यालयबाट गर्ने वडाध्यक्ष बुढाथोकीले जानकारी दिए ।
यो अभियानमा टोलका सबै अध्यक्ष तथा सचिव, विद्यालयका शिक्षक, विद्यार्थी लगायतलाई प्रशिक्षणको कार्यक्रम समेत अगाडि बढाइने बिर्तामोड–३ का वडासचिव भीम अधिकारीले बताए । उनले अभियानमा सबैको उत्साहजनक सहभागिता हुने विश्वास व्यक्त गरे ।
‘दुर्व्यसन मुक्त बिर्तामोडको परिकल्पना, बालबालिका,युवा र वृद्धा हामी सबैको साझा प्रतिबद्धता’ भन्ने नाराका शुरु हुन लागेको अभियानले बिर्तामोड–३ मा रहेर लागूऔषध कारोबार गर्ने तथा प्रयोग गर्नेहरुलाई पहिलो निसाना बनाउने जनाइएको छ ।
पछिल्लो तीन वर्षमा गाँजा, चरेश, अफिम, ब्राउन सुगर, विभिन्न मनोदिपक चक्की, विभिन्न मनोदिपक सुई तथा विभिन्न मनोदिपक औषधीसहित पक्राउ पर्नेहरुको संख्या उच्च हुदैँ तथ्याङ्क समेत प्रस्तुत गरिएको थियो । कोशी प्रदेश प्रहरी कार्यालयको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७७/७८ मा एक हजार ४५ जना पक्राउ परे । त्यस्तै आर्थिक वर्ष २०७८/७९ मा एक हजार ११८ जना पक्राउ परे भने गत आर्थिक वर्ष २०७९/८० मा एक हजार १४१ जना लागूऔषध कारोबार तथा प्रयोग गरेको आरोपमा पक्राउ परेको छन् ।
कारोबार र पक्राउ पर्नेहरुको संख्या उच्च हुदै गएकाले अब सबै मिलेर अघि बढे युवा पुस्ता कुलतको दलदलमा फस्ने भएकाले यो अभियानलाई महिनौं सम्म महाअभियानकै रुपमा अघि बढाउन लागेको वडाध्यक्ष बुढाथोकीले जानकारी दिए । पत्रकार सम्मलेनमा बिर्तामोड–३ का जनप्रतिनिधि, विभिन्न संघ, संस्थाका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो भने कार्यक्रममा स्वागत वडासदस्य हरि बाँस्कोटाले गरेका थिए ।
