September 17, 2026

मुलुकको व्यापार घाटा बढ्दै गएपछि विदेशी मुद्रा सञ्चितिमा परेको प्रभाव कम गर्न नेपाल राष्ट्रबैंकले कतिपय विदेशी वस्तुको आयातमा कडाइ गरेको थियो । आयात प्रतिस्थापन गरी विदेशी मुद्रा सञ्चितिमाथि परेको चापलाई नियन्त्रण गर्न चालिएको यो कदमले विदेशी विनिमय सञ्चितिमा केही सकारात्मक प्रभाव देखिएको राष्ट्रबैंकले जनाएको पनि थियो । विलाशिताका वस्तुको प्रयोगको वृद्धिले आयात बढाउँदा त्यसको असर विदेशी मुद्रा सञ्चितिमा पर्नु स्वभाविक हो । त्यसले आयातमा थोरै भए पनि दुरुत्साहन गरेकाले वीस प्रकृतिका विलाशिताका वस्तुको आयात केही समय रोकिएको थियो । प्रतिस्थापन गर्न सकिने वस्तुहरुको आयातमा कडाइ गर्दा वस्तु तथा सेवाको मूल्य वृद्धि हुन जान्छ, तर त्यसको प्रभाव भने देशका लागि सकारात्मक नै हुन्छ ।

भन्सार विभागले सार्वजनिक गरेको विवरण अनुसार प्रतिस्थापन गर्दा पनि मानिसको स्वास्थ्यमा असर नगर्ने वस्तुको आयातमा मात्र ठूलो परिमाणमा विदेशी मुद्रा खर्च भइरहेको छ । जसअनुसार नङ रंगाउने वस्तुमा मात्रै गत आर्थिक वर्षमा पाँच करोड सत्ताइस लाख अठाह्र हजार रुपैयाँ बाहिरिएको छ । त्यस्तै अनुहारमा दल्ने क्रिममा अठहत्तर करोड पाँच लाख एकासी हजार रुपैयाँ र आ.व. ०७९÷०८० मा रु. छ्यालीस करोड नौ लाख उनान्नब्बे हजार शरीरमा लगाउने लोसन आयातमा बहिरिएको छ । विभागको तथ्यांक अनुसार विवाहित महिलाको श्रृंगार सिन्दुरको आयातमा एक करोड पाँच लाख पैंसठ्ठी हजार, कपाल स्याहारका सामान स्याम्पु, क्रिम, तेल, रंग लगायतको आयातमा तीन अर्ब रुपैयाँभन्दा बढी नेपाली पैसा खर्च भएको छ । त्यसैगरी आँखा र ओठमा लगाउने महिलाको वस्तुहरु ल्याउँदा छत्तीस करोडभन्दा बढी रुपैयाँ खर्च भएको छ ।

नेपाली उपभोक्ताको प्रवृत्ति क्रमशः विलाशितापूर्ण हुँदै गएको छ । त्यस्ता सामग्री देशमा उत्पादन नहुने र भएका पनि तुलनात्मकरुपमा आकर्षक नहुने कारणले उपभोगको ढाँचा आयातमुखी हुँदै गएको हो । यसले मुलुकको जीडीपी यसको विनिमय दर, मुद्रास्फीति तथा ब्याजदरको स्तरमा प्रभाव पार्दछ । बढ्दो आयात र व्यापार घाटाले देशको विनिमय दरमा नकारात्मक असर पर्न सक्छ । त्यसैले यसलाई सन्तुलित राख्न आयातमुखी प्रवृत्ति र व्यवहारलाई परिवर्तन गर्न आवश्यक छ । त्यसका लागि राज्यले नै कार्ययोजना बनाएर प्रभावकारी कार्यान्वयनमा जोड दिनु पर्दछ । देशको व्यापारघाटा कम गर्न आयात व्यवस्थापनको विकल्प छैन, त्यसैले सरकारको ध्यान त्यसतर्फ केन्द्रित हुनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *