September 17, 2026

धरान गोली काण्ड: लुटपाटको प्रतिकार गर्दा रोहितलाई गोली हानी हत्या

0

विराटनगर,

विराटनगर महानगरपालिका–५ का रोहित चौधरीको गोली हानी हत्या गरेको आरोपमा पक्राउ परेका दुई जनालाई प्रहरीले सार्वजनिक गरेको छ।

हत्यामा संलग्न तीनमध्ये २ जनालाई पक्राउ गरी प्रहरीले आज बुधबार सार्वजनिक गरेको हो। थप एकजना भने अझै फरार छन्। पक्राउ पर्नेमा लेटाङ नगरपालिका १ घर भएका ३५ वर्षीय दीपक तिम्सिना र धरान १४ का ३४ वर्षीय अनशन तामाङ रहेको प्रहरीले जनाएको छ।

लुटपाटको प्रतिकार गर्दा हत्या भएको देखिएको प्रदेश प्रहरी कार्यालय विराटनगरका डिआइजी राजेशनाथ बास्तोलाले जानकारी दिए। उनीहरू दुवै लागुऔषध प्रयोगकर्ता रहेको प्रहरीको दाबी छ।

डिआइजी बास्तोलाका अनुसार पक्राउ परेकाहरु सिलसिलेबर चोरी र लुटपाटको घटनामा संलग्न छन्। धरान– इटहरी सडक खण्डमा भएको चारवटा लुटपाटका घटनामा संलग्न रहेको उनले बताए।

साउन ५ गते भने लुटपाटको प्रतिकार गरेपछि गोली प्रहार भएको थियो। लुटपाटको मुख्य योजनाकार र गोली प्रहार गर्ने व्यक्ति तिम्सिना रहेको प्रहरीले बताएको छ। पक्राउ परेकाको साथबाट हत्यामा प्रयोग भएको पेस्तोल, गोली लगायतको वस्तु बरामद भएको डिआइजी बास्तोलाले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *