September 19, 2026

म तपाईकै मान्छे हो कमरेड

0

कमरेड,
म तपाइँकै मान्छे हो
विश्वास गर्नुस्
पूरापूर विश्वास गर्नुस् ।
मैले तपाइँको मान्छे हुन
खास प्रयत्न गरेको छैन
(तपाइँले पनि त उहाँको मान्छे बन्न
भगिरथ प्रयत्न गर्नुभएको होइन ।)
तर, म तपाइँकै मान्छे हो कमरेड ।

तपाइँसँग धेरै ठाउँ म घुम्न गएको छु
पाँचतारे होटलमा होस् या चिया पसल,
मन्त्री क्वाटर होस् या बालुवाटार
तपाइँ जे खानुहुन्छ, म पनि त्यही मगाएर खान्छु
यो पनि त म तपाइँकै मान्छे हो भन्ने प्रमाण हो कमरेड ।
तपाइँका पक्षमा बोल्दै हिँड्छु
(कहिलेकाहीँ बोल्न मन नभई–नभई पनि)
तपाइँले बोलेको असत्य जान्दा–जान्दै पनि
त्यसमा म सत्यताको नकाब ओडाइदिन्छु
म तपाइँलाई यत्रो सहयोग गरिरहेछु कमरेड
र त– म तपाइँकै मान्छे हो ।

स्वदेशी वा विदेशी
भीभीआइपी वा व्यापारीहरूसँग
भेटघाटको चाँजो मिलाइदिन्छु
विषय प्रवेश र संवादको माहोल मिलाइदिन्छु
र, उनीहरूसँगै तपाइँले हानेको सेल्फीको फ्रेममा पर्छु,
हो, हो, एकदम हो नि कमरेड, एकदम सही हो भन्दै
तपाइँलाई मख्ख पार्छु– खुशी तुल्याउँछु
(माफ गर्नुहोला कमरेड तपाइँलाई थाहा हुँदैन
त्यो खुशीको आधार कति कमजोर छ ।)
तपाइँलाई म तपाइँकै हो भन्ने भान पारिरहन्छु
र त कमरेड– म तपाइँकै मान्छे हो ।

काम गर्नका लागि मसँग कुनै सिप छैन
जीविकोपार्जनका लागि मसँग कुनै आँट छैन
अध्ययन, लेखन वा सेवाको कुनै भाव छैन
सत्कर्म गरेरै खान पुग्छ भन्ने विश्वास छैन
तर, विपक्षीलाई बेपरवाह गाली गर्ने शब्द छन् मसँग
कुतर्कको पहाड र बेप्रसङ्ग भाषण ठोक्ने रेडिमेट वाक्य छन् मसँग
त्यसैले कमरेड– म तपाइँकै मान्छे हो ।

तपाइँका छेउमा उभिएकै भरमा
मैले शक्ति आर्जन गरिरहेको महशुस पाउँछु
तपाइँलाई नमस्ते गरेको
या ह्यान्डसेक गरेको फोटो
फेसबुकमा बिक्री गरिरहेको छु –
यही त हो नि मेरो भोलिका लागि आधारस्तम्भ
यही त हो नि मेरो रवाफ र फाइँफुइँ ।

यही फोटो बेचेर म पुग्न सक्छु भोलि
गाउँको पार्टी भेलामा
र, बन्न सक्छु प्रमुख अतिथि
यही फोटो बेचेर मैले पाउँन सक्छु
वडाध्यक्षको टिकट
र, किन्न सक्छु डोजर
यही फोटो देखाएकै आधारमा
स्तरीय हस्पिटलमा पाउनेछु मैले भारी छुट ।
यो त भयो म तपाइँको मान्छे भएपछि मैले पाउने अवसर
तर, अहिलेलाई विश्वास गर्नुस् कमरेड –
म तपाइँकै मान्छे हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *