पथरी शनिश्चरेमा कक्षा १२ सम्म निशुल्क शिक्षा
पथरीशनिश्चरे, मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नम्बर ८ वडा कार्यलयले आफ्नो नीति तथा कार्यक्रममार्फत वडाभित्रका सबै विद्यार्थीहरुलाई कक्षा १२ सम्म निःशुल्क पढाउने भएको छ।
हालै “वडा नम्बर आठको इच्छा, छोराछोरीलाई कक्षा १२ सम्म निःशुल्क शिक्षा“ भन्ने नारा सहित सो कार्यक्रम ल्याएसँगै वडाभित्रका सबै विद्यार्थीहरुले कक्षा १२ सम्म निःशुल्क पढ्न पाउने भएका हुन् ।
आगामी आर्थिक वर्ष २०८०÷२०८१ देखि कक्षा ११ र १२ का लागि लाग्ने शुल्क वडा कार्यलयले तिरिदिने भएको छ।
स्थानीय तहको चुनाव ताका घोषणापत्रमा उल्लेख गरिए अनुसार नै कक्षा १२ सम्म निःशुल्क शिक्षा दिने र विद्यार्थीको शुल्क वडाबाट बेहोर्न थालिने उनले बताए ।
वडा नम्बर ८ मा रहेको बुद्ध माद्यामिक विद्यालयमा अध्ययन गर्ने वडा नम्बर ८ का सबै विद्यार्थी र बाहिरबाट आउने अन्य वडाका विद्यार्थीहरुलाई पनि उत्कृष्टताको आधारमा निशुल्क शिक्षा प्रदान गरिने वडा कार्यलयले जनाएको छ ।
आर्थिक अवस्था कमजोर भएका कारण कतिपय बालबालिकालाई माथिल्लो कक्षामा ’झिकाउन र टिकाउन ’चुनौती बढ्दै गएपछि वडाले विद्यार्थीको शुल्क तिर्न थाल्ने कार्यक्रम बनाएको हो ।
वडाले कक्षा १२ उतिर्ण गरेर उच्च शिक्षाको लागि पथरी बहुमुखी क्याम्पस पढ्ने विद्यार्थीहरुलाई “आफ्नै क्याम्पस पथरी बहुमुखी पढौँ, छात्रवृत्ति पाई अगाडी बढौं“ भन्ने कार्यक्रम पनि अघि सारेको छ। सो कार्यक्रमअन्तर्गत वडाभित्रका विद्यार्थीहरुलाई ५ हजार रुपैयाँ चालू आर्थिक बर्षदेखि छात्रवृत्ति उपलब्ध गराउँदै आएको छ । यस्तै,वडाभित्रका सबै सामुदायिक विद्यालयमा शिक्षकहरुको हाजिर गर्न डिजिटल हाजिर मेसिन जडान गरेको वडाले आगामी आर्थिक बर्षमा सामुदायिक विद्यालयहरुमा सिसिटिभी क्यामेरा जडान गर्ने योजना समेत बनाएको छ ।
