September 14, 2026

तमोर जलविद्युत आयोजनाबारे पावर चाइनालाई पत्राचार

0

काठमाण्डाै । लगानी बाेर्डले तमोर जलाशययुक्त जलविद्युत् परियोजना अघि बढाउने जिम्मा पाएको चिनियाँ कम्पनी पावर कन्स्ट्रक्शन कर्पोरेशन अफ चाइना लिमिटेड (पीसीसीएल) लाई पत्राचार गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री कार्यालयमा आज आइतवार बसेको बोर्डको ५४ औँ बैठकले सात सय ५६ मेगावाट उत्पादन क्षमताको परियोजनालाई पत्राचार गर्ने निर्णय गरेको हो ।

आयोजनाको विस्तृत सम्भाव्यता अध्ययनमा अहिलेसम्म भएका प्रगति र समग्र स्थितिबारे पीसीसीएलको धारणा बुझ्न पत्राचार गर्ने निर्णय लगानी बोर्डको बैठकले गरेको हो । ‘तमोर जलाशययुक्त जलविद्युत् परियोजना अघि बढाउने सम्बन्धमा प्रस्तावकसँग १९ जनवरी २०२० मा भएको समझदारी पत्रको पालना सम्बन्धमा पत्राचार गर्ने निर्णय गरेको छ’, कार्यालयले निकालेकाे विज्ञप्तिमा उल्लेख छ । आयोजना अघि बढाउन चिनियाँ कम्पनी पावर कन्स्ट्रक्शन कर्पोरेशन अफ चाइना लिमिटेड, नेपालको हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ड एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) र लगानी बोर्डको कार्यालयबीच २०७६ माघमा सम्झौता भएको थियो । सम्झौता भएको मितिले दुई वर्षभित्र आयोजनाको विस्तृत सम्भाव्यता अध्ययन सक्ने भनिए पनि अहिलेसम्म त्याे काम सकिएको छैन ।

लगानी बैर्डको ५४ औँ बैठकले छ सय ६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् परियोजनाको परियोजना विकास सम्झौता (पीडीए) स्वीकृतिका लागि मन्त्रिपरिषदमा पठाउने पनि निर्णय गरेको छ । ‘परियोजना विकासका लागि सतलज जलविद्युत् निगम लोअर अरुण पावर डेभलपमेन्ट कम्पनीसँग गरिने परियोजना विकास सम्झौता (पीडीए) को सहमतिको मस्यौदालाई स्वीकृत गरी अनुमोदनका लागि मन्त्रिपरिषदमा पठाउने निर्णय गरेको छ’, विज्ञप्तिमा उल्लेख छ । लगानी बोर्डको ५३ औँ बैठकले लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृतको संयोजकत्वमा विभिन्न मन्त्रालय तथा निकायका प्रतिनिधि सदस्य रहेको वार्ता समिति गठन गरेर सतलज जलविद्युत् निगमसँग वार्तामार्फत पीडीए मस्यौदा टुङ्गो लगाउने जिम्मा दिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *