September 22, 2026

भद्रपुर नाकाबाट ब्राउन सुगरको कारोबार, दुई भारतीय नागरिक पक्राउ

0

झापा,

झापाको भद्रपुरबाट प्रतिबन्धित लागूऔषध ब्राउन सुगरको कारोबार गर्ने दुई भारतीय नागरिक पक्राउ परेका छन्।

भद्रपुर नाकाबाट ब्राउन सुगर खरिद गरी लगेका व्यक्ति पक्राउ परेपछि उनकै सुराकीको आधारमा दुई भारतीय कारोबारी पक्राउ परेका हुन।

पक्राउ पर्नेहरूमा भारत पश्चिम बंगाल दार्जिलिङ जिल्ला खोरीवारिका २२ वर्षीय शिवु घोष र सोही ठाउँकी २६ वर्षीया श्यामली सोरेन रहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए।

उनीहरूलाई विशेष सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्युरो काठमाडौँ र जिल्ला प्रहरी कार्यालय झापाको टोलीले शुक्रबार दिउँसो भद्रपुर-८ स्थित क्याम्पस मोडबाट पक्राउ गरेको हो। भारतबाट छुट्टाछुट्टै साइकलमा नेपाल आएका उनीहरूलाई प्रहरीले चेकजाँच गर्दा १९४ ग्राम ५४० मिलिग्राम ब्राउन सुगर फेला पारेको थियो।

घोष ब्राउन सुगर कारोबारी रहेको र महिला सोरेनलाई बोक्ने मान्छेका रूपमा प्रयोग गर्दै आइरहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको डीएसपी रिजालले बताए। पक्राउ परेका दुवै जनालाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय झापामा राखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *