September 21, 2026

दावाछिरिङको ‘टासिदेले कनकाई’ लोकार्पण

0

सुरुङ्गा ।

आधुनिक कवि शेर्पा दावाछिरिङको दोस्रो कविता कृति ‘टासिदेले कनकाई’ लोकार्पण गरिएको छ ।

कन्काई मावि सुरुङ्गाको सभाहलमा कनकाई प्रतिभा प्रतिष्ठानको आयोजनामा सम्पन्न कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सभा सदस्य सुमित्रा वाङ्गदेल चेलीको प्रमुख आतिथ्य रहेको थियो । प्रमुख अतिथि चेलीले राष्ट्रलाई अग्रगमनको बाटोमा साहित्यले नै डो¥याउने बताइन् । साहित्य अनुत्पादक क्षेत्र नभएर सुसभ्य, सुसंगत र सुसंस्कृत समाज निर्माणका लागि साहित्यको धेरै ठूलो भूमिका हुने उनको विचार थियोे ।

कार्यक्रमका विशिष्ट अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सभा सदस्य मुनाराज शेर्माले साहित्यले युवापुस्ता र मुलुकका सबै भाषाभाषीलाई समेट्नुपर्ने बताए । कार्यक्रममा साहित्यकार सूर्यप्रसाद अधिकारीले विमोचित कृतिको समीक्षा प्रस्तुत गरेका थिए ।

उनले कवि शेर्पाका कविताहरू उत्तरआधुनिक, छन्दमुक्त र पहिचान तथा अस्तित्वको वकालत गर्ने प्रवृत्तिका रहेको बताए । छोटा, मझौला र लामा गरी ८४ वटा कविता सङ्ग्रहित कृतिमा प्रेम, निराशा, आध्यात्मिक चिन्तन, सामाजिक विकृति र विसङ्गति मूल भाव अभिव्यक्त रहेको समीक्षक अधिकारीको भनाइ थियोे ।

कार्यक्रममा समाजसेवी शेरबहादुर थापा, स्थानीय सरकार कनकाई नगरपालिकाका प्रतिनिधि गोविन्द सुवेदी, नेपाली लेखक सङ्घ झापाका अध्यक्ष कुमार भट्टराई, कन्काई मावि सुरुङ्गाका प्रअ कर्णबहादुर डाँगी, साहित्यकार रश्मिशेखर सुवेदी, सुप्रसिद्ध गजलकार केशव आचार्य , सञ्चारकर्मी तीर्थराज खरेल, कवि देशु सुब्बा (बनेम) लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

साहित्यकारहरू कृष्ण बराल, पुण्य बराल, टीकाप्रसाद लामिछाने, दिनेशकुमार तिम्सिना, कन्काई साहित्यिक समाजका अध्यक्ष अश्विन धिताल लगायतको आतिथ्य रहेको उक्त कार्यक्रममा चन्द्रप्रसाद पोखरेल, समीक्षा उप्रेती, डिल्लीराम परदेशी, विराट किराँती, मीना अधिकारी, प्ररा तुफान, लोकनाथ खतिवडा लगायतले विमोचित कृति भित्रका कविता प्रस्तुत गरेका थिए ।

कनकाई प्रतिभा प्रतिष्ठानका अध्यक्ष जीवनाथ सुवेदीको अध्यक्षतामा कार्यक्रम भएको थियो । सहसचिव प्रयागराज काफ्लेको स्वागत मन्तव्य रहेको कार्यक्रम सचिव प्रेम प्रभातले सञ्चालन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *