October 1, 2026

रगत चिस्यान केन्द्र निर्माणमा सहयोग गर्न रेडक्रसको आह्वान

0

भक्तपुर,

नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखाद्वारा रक्तसञ्चार सेवाका लागि अत्यावश्यक रगत चिस्यान केन्द्र निर्माणका लागि सहयोग गर्न आह्वान गर्दै यसका लागि ‘मनैदेखि सेवा’ अभियान सुरुआत गरेको छ ।

विश्व रेडक्रस दिवसका अवसरमा सोमबार जिल्ला शाखाले आयोजना गरेको पदयात्रा एवं आर्थिक सङ्कलन अभियान कार्यक्रममा जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख ईश्वर थापाले ‘मनैदेखि सेवा’ अभियान शुभारम्भ गर्नुभएको हो ।

उहाँले समाज सेवामा समर्पित रहँदै आएको रेडक्रसले सञ्चालन गरेको मनैदेखि सेवा अभियानमा सबैको सहयोग आवश्यक रहेको जनाउँदै रगतको अभाव हुन नदिन लागिरहेको रेडक्रसको सेवा अझै प्रभावकारी हुनुपर्ने बताउनुभयो ।

रेडक्रस सोसाइटी भक्तपुर शाखाका सभापति मनोजकुमार थापाले ‘रगत नपाए भक्तपुर जानु’ भन्ने अभियानले अहिलेसम्म रगतको अभाव हुन नदिएको बताउँदै यो अभियानलाई अझै प्रभावकारी बनाउन रेडक्रसद्वारा सञ्चालित रक्त सञ्चार केन्द्रलाई अत्यावश्यक रहेको चिस्यान केन्द्र निर्माण गरिने जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “रेडक्रस भक्तपुरमा विगतमा रगत चिस्यान केन्द्र थियो, तर २०७२ सालको महाभूकम्पमा क्षति पुग्यो, त्यसैले अत्यावश्यक चिस्यान कक्ष निर्माणका लागि आर्थिक सङ्कलनका लागि ‘मनैदेखि सेवा’ अभियान सुरु गरेका हौँ ।”

आगामी जेठ ३१ गते विश्व रक्तदाता दिवसको दिनसम्म आर्थिक सङ्कलन गरी अभियान सम्पन्न गर्ने र त्यसलगत्तै चिस्यान केन्द्र निर्माण गरिने उहाँले बताउनुभयो । अभियान सुरु भएकै दिन चिस्यान केन्द्र निर्माणका लागि रु दुई लाख सङ्कलन भएको सभापति थापाले जानकारी दिनुभयो ।

दिवसका अवसरमा शाखाले प्रभातफेरि कार्यक्रम आयोजना गरेको थियो । भक्तपुर नगरका विभिन्न क्षेत्रमा प्रभातफेरि गरी कार्यालयमा आएर अभियानको शुभारम्भ गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *