अर्जुनधारा–१० को सात दिने क्षमता विकास तालिम
अर्जुनधारा ।

झापाको अर्जुनधारा–१० नं. वडा कार्यालयको आयोजनामा गत वैशाख १० देखि सञ्चालन भएको सात दिने क्षमता विकास तालिम आइतबार सम्पन्न भएको छ ।
चालु आर्थिक वर्षको वडास्तरिय योजनाको युवा लक्षित कार्यक्रम अन्र्तगत आयोजित उक्त तालिम सहभागी प्रशिक्षार्थीहरुको संस्थागत क्षमता विकास गर्ने उद्देश्यले आयोजना गरिएको वडाध्यक्ष भूपेन्द्र न्यौपानेले बताए ।
स्थानीय पञ्चकन्या धाम सेवा समितिको सभाहलमा वडाध्यक्ष न्यौपानेको अध्यक्षता र अर्जुनधारा नगरपालिकाकी उपप्रमुख खड्गमाया पराजुलीको प्रमुख आतिथ्यमा आयोजित समापन कार्यक्रममा प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र वितरण गरिएको थियो ।

प्रमुख अतिथि पराजुली, वडाध्यक्ष न्यौपाने, नेकपा एमाले वडा कमिटीका अध्यक्ष भानु मिश्र, सुखानी शहीद स्मृति उद्यानका अध्यक्ष टंक बराल, पञ्चकन्या धाम सेवा समितिका अध्यक्ष कर्णाखर ढुङ्गेल, योगा प्रशिक्षक दधिराम मिश्र, वडा सचिव त्रिबिक्रम पोखरेललगायतले प्रमाण पत्र वितरण गरेका थिए ।
कार्यक्रममा प्रशिक्षार्थीद्वय प्रेमप्रसाद गिरी र शान्ता पाण्डेले तालिमको अनुभव बारे जानकारी गराएका थिए । प्रशिक्षार्थी चन्द्रा ढुंगानाले स्वागत मन्तव्य व्यक्त गरेको उक्त कार्यक्रमको सञ्चालन अर्का प्रशिक्षार्थीद्वय पुनम खनाल र सन्ध्या भूजेलले गरेका थिए ।
