September 15, 2026

नागरिकतासम्बन्धी समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता

0

बिर्तामोड , नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेले ठाकुर समाज एवं नेपाल नाई संघमा आबद्ध नेपाली नागरिकको पेशागत एवं नागरिकतासम्बन्धी समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
नेपाल नाई संघ झापाको सातौं जिल्ला अधिवेशन उद्घाटन समारोहमा प्रमुख अतिथिको रुपमा बोल्दै सभापति थेवेले नागरिकता नहुँदा बर्षौंदेखि नेपालमा बसोबास गर्दै आएका नेपाली नागरिकले खेप्नुपरेको समस्याबारे आफू जानकार रहेको बताउँदै संसदले पारित गरिसकेको विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण गरी जन्मसिद्धका आधारमा नागरिकता पाउने अधिकार कार्यान्वयनमा ल्याउन पहल गर्ने प्रतिबद्धता जनाउनुभएको हो ।
कार्यक्रमका विशेष अतिथि तथा नेपाली कांग्रेस झापाका सचिव कृष्ण हुमागाईले मजदुरदेखि उच्च वर्गका ब्यक्तिले पनि सैलुनमा पसेर कपाल काट्न सक्नेगरी दररेट कायम गरी सेवाग्राहीलाई अधिकतम सेवा दिन नाईसंघलाई आग्रह गर्नुभयो ।
अर्का विशेष अतिथि एवं नेपाल ट्रेड युनियन कांग्रेस झापाका अध्यक्ष यज्ञप्रताप अधिकारी र नेपाल चिया बगान श्रमिक संघका अध्यक्ष दिपक तामाङले संगठनमा बल हुने बताउँदै पेशागत समस्या समाधानका लागि नाईहरुलाई एकजुट हुन आह्वान गर्नुभयो ।
अधिवेशन उद्घाटन समारोहमा नेपाली कांग्रेस विर्तामोड नगर सभापति भोजराज सिटौला, झापा गाउँपालिका वडा नं–७ का वडाअध्यक्ष सखिचन्द्र ठाकुर लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो ।
रामबृज ठाकुरको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत राजकुमार ठाकुर र सञ्चालन नेपाली कांग्रेस झापाका कार्यालय सचिव जयकुमार दाहालले गर्नुभएको थियो । अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *