September 27, 2026

बन्द हुने अवस्थामा ‘श्रव्य पुस्तकालय’

0

झापा,

दृष्टिविहीनका लागि विर्तामोड–४ मा स्थापित ‘श्रव्य पुस्तकालय’ आर्थिक स्रोतको अभावले प्रयोगमै नआई बन्द हुने अवस्थामा पुगेको छ ।

तत्कालीन प्रतिनिधिसभा सदस्य पवित्रा खरेल निरौलाले संसद् विकास कोषमार्फत झापा नेत्रहीन सङ्घलाई दिनुभएको बजेटबाट तीन वर्षअघि उक्त पुस्तकालय स्थापना गरिएको थियो ।

सङ्घले सो बजेटबाट ‘श्रव्य पुस्तकालय’का लागि आधुनिक रेकर्डिङ स्टुडियो निर्माण गरेको छ । पुस्तकालयमा डेक्सटप कम्प्युटर, मिक्चर, माइक, दराज, फर्निचरलगायतका भौतिक साधन छन् । दराजमा दुई चार पुस्तक पनि सजाइएका छन् ।

सङ्घका अध्यक्ष यशोदा बरालका अनुसार सञ्चालनका लागि आवश्यक पर्ने सबैभन्दा महत्वपूर्ण श्रव्य किताब पुस्तकालयमा छैनन् । दृष्टिविहीनले सुन्नका लागि आवश्यकीय किताब रेकर्ड गर्ने प्राविधिक जनशक्ति र आर्थिक स्रोत सङ्घसँग नभएको अध्यक्ष बराल बताउनुहुन्छ ।

“दृष्टिविहीन थुप्रै साथीहरु लोकसेवा र शिक्षासेवा आयोगमा परीक्षा दिने तयारीमा हुनुहुन्छ”, उहाँले भन्नुभयो, “उहाँहरु सङ्घको श्रब्य पुस्तकालयमा त्यस्ता किताबको खोजी गर्नुहुन्छ । नपाएपछि निराश भएर फर्किन बाध्य हुनुहुन्छ ।”

दृष्टिविहीन नयाँ साहित्यिक तथा पाठ्यपुस्तक सुन्न चाहन्छन् । यसका लागि सङ्घले बजारमा उपलब्ध किताबलाई पुस्तकालयको कम्प्युटर प्रयोग गरेर श्रब्य सामग्री उत्पादन गर्ने सोच बनाएको छ तर, प्राविधिक जनशक्ति राख्नका लागि चाहिने तलब कहाँबाट जुटाउने भन्ने समस्या भएको झापा नेत्रहीन सङ्घका कोषाध्यक्ष दिलकुमार राजवंशी बताउनुहुन्छ ।

उहाँका अनुसार एक जना प्राविधिक नियुक्त गर्नका लागि सङ्घले जिल्लाका सबैजसो पालिका र विभिन्न दातृसंस्थामा सहयोगको याचना गर्दै प्रस्ताव पठाएको थियो । “नेत्रहीनको मागलाई कसैले पनि गम्भीरतापूर्वक लिनुभएन”, उहाँले निराशा व्यक्त गर्दै भन्नुभयो, “श्रव्य पुस्तकालय सञ्चालनका लागि वार्षिक रु पाँच लाख आवश्यक पर्छ ।”

झापा नेत्रहीन सङ्घ जिल्लाका सबै दृष्टिविहीनको साझा संस्था हो । यसमा एक सय १५ साधारण सदस्य रहेका छन् । जसमध्ये ७२ जना पुरुष र ४३ महिला छन् । सङ्घका अधिकांश सदस्य माध्यमिक शिक्षा परीक्षा(एसइई) तह उत्तीर्ण छन् भने शिक्षण पेसामा १६ कार्यरत रहेको विर्तामोड–३ स्थित अनारमनी आधारभूत विद्यालयमा अध्यापन गराउँदै आउनुभएको दृष्टिविहीन भरत राजवंशी बताउनुहुन्छ ।

शिक्षक राजबंशीका अनुसार १६ शिक्षकमध्ये १० स्थायी छन् भने छ राहत शिक्षक हुन् । अगरबत्ती, फिनेल र साबुन बनाउने उद्योग सञ्चालन गरेका दृष्टिविहीन पनि छन् । खासगरी जागिरमा लाग्न विभिन्न आयोगको तयारी गरिरहेका दृष्टिविहीन आफूलाई आवश्यक पर्ने श्रव्य पुस्तकको रेकर्डिङ सामग्री खोज्दै सङ्घको कार्यालय धाउने गरेको सङ्घका कोषाध्यक्ष राजवंशी बताउनुहुन्छ ।

आर्थिक अभावका कारण सङ्घले उद्देश्यमूलक ढङ्गले पुस्तकालय सञ्चालन गर्न सकेको छैन । सङ्घको कार्यालय रहेको स्थानबाट विर्तामोड नगरपालिकाको प्रशासनिक भवन एक सय मिटरको दूरीमा रहेको छ । विर्तामोड नगरपालिकाले अरु विषयमा सहयोग नगरेको होइन । तथापि श्रव्य पुस्तकालय प्रयोजनविहीन भइरहेको अवस्थामा नगरपालिकाको सहयोगी हात बढेको छैन ।

राज्यले दृष्टिविहीनलगायतका अपाङ्गता भएका नागरिकको हक, हित र अधिकारलाई सुनिश्चित गर्ने कुरा संविधानमै उल्लेख गरेको छ । उनीहरुको गाँस, बास र कपासको आवश्यकता मात्र होइन, शिक्षा, स्वास्थ्य र रोजगारीको विषय पनि राजनीतिक नाराको अग्रसूचीमै पर्ने गरेको छ ।

रमेश प्रसाई, मेनुका पौडेल, सागर अधिकारीजस्ता राष्ट्रिय प्रतिभा जन्माउने झापा जिल्लामा दृष्टिविहीनले स्थापना गरेको श्रव्य पुस्तकालय बन्द हुने अवस्था सिर्जना हुनु चाहिँ ज्यादै बिडम्वनाको विषय भएको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *