April 29, 2026

विराटपोखरमा काली मन्दिर निर्माण

0

रत्नबहादुर बस्नेत,
बिर्तामोड ।

 

झापाको बिर्तामोड -१०स्थित विराटपोखरमा काली मन्दिर निर्माण गरिएको छ।

रामनवमीको अवसरमा विश्वहिन्दू महासंघ नेपालका केन्द्रीय उपाध्यक्ष यज्ञराज ओलीले मन्दिरको उदघाटन गरेका थिए। स्थानीय निमकुमारी पाठकले १ कट्ठा जग्गा प्रदान गरेपछि मनकामना काली मन्दिर तथा सत्संग भवन समितिले विभिन्न दाताहरुको सहयोगमा मन्दिर निर्माण गरि बासन्तिक नवरात्रमा देवीको पूजापाठसहित प्राणप्रतिष्ठापन गरेर मन्दिरको उदघाटन गरिएको हो।

समितिले सत्संग भवन समेत निर्माण गर्ने उद्देश्यका साथ थप एक कट्ठा जग्गा खरिद गरेर करीब ३५ लाखको लागतमा मन्दिर निर्माण सम्पन्न गरिएको बताइएको छ। मनकामना काली मन्दिर तथा सत्संग भवन समितिका अध्यक्ष ध्रुवप्रसाद शिवाकोटीको अध्यक्षता तथा विश्व हिन्दू महासंघका केन्द्रीय उपाध्यक्ष यज्ञराज ओलीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सदस्य सुरेश आलेले स्वागत गरेका थिए।

कार्यक्रममा सहयोग गर्ने ४५ जना दाताहरुलाई सम्मान गरिएको थियो। यसरी सम्मानित हुनेहरुमा जग्गादाता निमकुमारी पाठक तथा आर्थिक सहयोग गर्ने ख्यामनाथ- निशा गौतम, लक्ष्मी शिवाकोटी,लयप्रसाद संग्रौला, प्रकाश सिटौला, ज्ञानेन्द्र बिमली, पद्मादेवी निरौला, विन्दादेवी घिमिरे, गंगाबहादुर लिम्बू,लीलकुमार निरौलालगायत रहेको कोषाध्यक्ष राम खनालले जानकारी दिए।

धार्मिक अभियान्ता समेत रहेका समितिका अध्यक्ष शिवाकोटीले व्यक्तिमा सकारात्मक सोचका साथ शुभकर्म गरेर समृद्ध समाजको निर्माणमा मन्दिर स्थापनाले योगदान पुर्याउने उद्देश्यका साथ सत्संग भवनलगायतका बाँकी काम पूरा गर्न समिति दत्तचित्त भई लागीपरिरहेको बताए। प्रमुख अतिथि विश्वहिन्दू महासंघका उपाध्यक्ष ओलीले धर्मको मर्म बुझेर समाजरुपान्तरणमा सबै लाग्नुपर्ने बताए।

गत चैत १२ गतेबाट शुरु गरिएको अनुष्ठानमा यसअघि आचार्य छन्दुराम भण्डारी, बुद्धधर्म प्रचारक आचार्य निमा हैसरलगायतले प्रवचन गर्नुको साथै विभिन्न कीर्तन मण्डलीहरुले दैनिकरुपमा भजन कीर्तन प्रस्तुत गरेका थिए।

समाजसेवी श्रीप्रसाद शिवाकोटी, ज्ञानेन्द्र बिमलीलगायतले शुभकामना मन्तव्य राखेको कार्यक्रममा मनकामना कीर्तन मण्डलीका अध्यक्ष नैनकला थापा, विराट भरत विश्रान्ति आश्रमका अध्यक्ष डिल्लीप्रसाद प्रसाईं,कुलप्रसाद संग्रौलालगायतको आतिथ्य रहेको थियो। कार्यक्रमको सञ्चालन समितिका महासचिव हरिप्रसाद सिटौलाले गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *