September 15, 2026

फ्रान्सलाई हराउँदै अर्जेन्टिना बन्यो च्याम्पियन

0

काठमाडौं,

फिफा विश्वकप २०२२ को उपाधि अर्जेन्टिनाले जितेको छ। आइतबार राति भएको फाइनलमा साविक विजेता फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४-२ गोल अन्तरले हराउँदै अर्जेन्टिना च्याम्पियन बनेको हो।

निर्धारित समयको खेलमा दुईदुई गोलको रोमाञ्चक बराबरी गर्दै फ्रान्सले खेल अतिरिक्त समयमा धकेलिएको थियो। पहिलो हाफमा शानदार खेल प्रदर्शन गरेको अर्जेन्टिनाले दुईशून्यको अग्रता बनाएको थियो। खेलको २३ औँ मिनेटमा प्राप्त पेनाल्टीलाई कप्तान लियोनल मेस्सीले गोलमा परिणत गरेपछि दक्षिण अमेरिकी टोलीले खेलमा अग्रता लिएको थियो।

पेनाल्टी बक्समा ओसमाने डेम्बेललेले एन्जल डि मारियालाई फल गरेपछि अर्जेन्टिनाले पेनाल्टी पाएको थियो। ३६ औँ मिनेटमा डि मारियाले दोस्रो गोल गरे। काउन्टर अट्याकमा मेस्सीले मिलाएको अवसरमा म्याक एलिस्टरले एन्जल डिमारियासम्म सहज बल पुर्‍याएका थिए। डि मारियाले पेनाल्टी बक्स भित्रबाट सहज फिनिस गरे। पहिलो हाफमा अर्जेन्टिना २-० ले अगाडी रह्यो।

खेलको ८० औँ मिनेटमा केलियन एम्बाप्पेले पेनाल्टीमा गोल गरेपछि फ्रान्सले अग्रता घटायो। निकोलस ओटामेन्डिले पेनाल्टी बक्समा कोलो मुआनीलाई फल हानेपछि फ्रान्सले पेनाल्टी पायो र त्यसको एक मिनेट पछि एम्बाप्पेले शानदार गोल गर्दै खेल बराबरी गरे।

कोलो मुआनीले मिलाएको पासमा उनले वान टच फिनिस गरेका हुन्। खेलको १०९ औं मिनेटमा मेस्सीले गोल गर्दै खेललाई ३ २ को अग्रता दिलाए। फ्रान्सका लागि एमबापेले पेनाल्टीबाट १ सय १८ औं मिनेटमा तेस्रो गोल गरेर ह्याट्रिक पूरा गरे।

नेदरल्यान्डलाई पराजित गर्दै सन् १९७८ मा पहिलो विश्वकप उपाधि जितेको अर्जेन्टिनाले पछिल्लो पटक सन् १९८६ मा पश्चिम जर्मनीलाई हराउँदै दोस्रो उपाधि जितेको थियो। सन् १९९० मा विश्वकपको फाइनल पुगे पनि पश्चिम जर्मनीसँग पराजित भएपछि अर्जेन्टिना तेस्रो बनेको थियो। अर्जेन्टिनाले सन् २०१४ को ब्राजिल विश्वकपको फाइनलमा स्थान बनाएको थियो तर यस संस्करण पनि तगारो जर्मनी नै बनेको थियो।-थाहाखबरबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *