September 22, 2026

‘विकासको पथमा तामाङ जाति’ एक अनुसन्धान कृति

0


पुस्तकहरुको महासागरमा एउटा मोती रुपी पुस्तक प्रकाशन भएको छ । त्यो पुस्तक हो अनुसन्धाता, विकासकर्मी तथा लेखक ‘सन्तोषकुमार बैद्य तामाङ’ले लेखेका ‘विकासको पथमा तामाङ जाति’ एक अनुसन्धानात्मक कृति ।
‘तामाङ जाति जनसंख्याको आधारमा देशको पाँचौं ठूलो जनसंख्या भएको जाति हो भने बसोबासको आधारमा नेवार जातिपछि देशको केन्द्र राजधानी नजिक रहेको ठूलो आदिवासी जनजाति पनि हो । पहुँचको आधारमा यी जाति राजधानी नजिक बसोबास गरेता पनि विकासको हरेक आयामहरुबाट निकै पछाडि परिरहेको पाइन्छ । यसै सन्दर्भमा केन्द्रित रही यस अध्ययनले यी जातिको बाहुल्यता भएको जिल्लाहरुको साविक आठ वटा गाउँ विकास समितिबाट नमूना छनोटको आधारमा सर्वेक्षण गरी वास्तविक अवस्थाको उजागर गर्ने प्रयास गरेको छ । विशेषगरी वि.सं. १९१० को मुलुकी ऐनले एकै कित्तामा उभ्याएको पानी चल्ने मासिने मतवाली जनजाति तथा एकै रहनसहन, भूगोलमा बसोबास गर्ने अन्य जातिको तुलनामा यो जातिको वर्तमान अवस्थाको विश्लेषण गरिएको छ ।’ अनुसन्धाता तामाङले कृतिमा उल्लेख गरेका छन् ।
अनुसन्धाता तामाङका अनुसार, यस अनुसन्धान, उल्लेखित तामाङ जाति शब्दले साम्प्रदायिक र सङ्कुचन अर्थ नराखी यस समुदायमा विकासको दृष्टिकोणबाट देखिएको कमीकमजोरीका पक्षहरु के–के हुन् र कसरी सुधार गरी समृद्ध बनाउन सकिन्छ भन्ने सम्भाव्यताहरुलाई मात्र उजागर गर्ने कोशिस गरिएको छ । अनुसन्धान अनुसार, विकासका स्थापित मानक अनुसार, तामाङ जातिको आर्थिक, राजनीतिक, शैक्षिक, सामाजिक, सांस्कृतिक अवस्था अन्य समकालीन जातिहरुको तुलनामा केही कम रहेको देखिन्छ । ठूलै आकारको जमिनको स्वामित्व भए पनि प्रायशः उन्नत कृषि प्रणाली धेरै कम अपनाइएको पाइन्छ । आम्दानीको हिसाबले मासिक पाँच हजारसम्म कमाउने धेरै देखिन्छन् तर खर्च गर्न मन सानो नगर्ने देखिन्छन् ।

खर्च गर्नु एक आर्थिक गतिविधि हो, यसरी खर्च गर्न मन ठूलो गर्दा खर्च गरिने धन आ–आफ्नो र आफ्नो समुदायको विकासका लागि गरे यस जाति निकै चाँडै समृद्ध हुने देखिन्छ । यस जातिमा एकता निकै अब्बल देखिन्छ । यस्ता सकारात्मक आयामहरुलाई आफ्नो विकासका लागि उपयोग गर्दा छिटै समृद्धि प्राप्त हुने देखिन्छ ।
अनुसन्धान अनुसार, अन्य जातिको तुलनामा तामाङ जातिको सबैभन्दा बढी आम्दानी कृषि तथा पशुपालनबाट ३८.४ प्रतिशत देखिन्छ । तामाङ जाति मध्ये ३९ प्रतिशतलाई स्थानीय स्तरमा जनप्रतिनिधिहरु कसरी छनौट हुन्छन् भन्ने थाह छैन । ५२.२ प्रतिशतले स्थानीय योजना प्राथमिकीकरण तथा छनौट प्रक्रिया कहाँ र कसरी हुन्छ भन्ने जानकारी सम्बन्धित निकायबाट नपाएको बताएका छन् । साथै पूर्वाधार तथा प्रविधिको नजरबाट हेर्दा यी जाति बस्ने एक–दुई क्षेत्र बाहेक प्रायशः भू–भागहरु विकासको अवस्थाबाट निकै पछाडि रहेको पाइन्छ । प्रायः गरी यी जाति बसोबास गरेका स्थान प्राकृतिक प्रकोपको हिसाबले जोखिमयुक्त भिरालो, पहिरो जाने प्रबल सम्भावना, आधारभूत पूर्वाधारहरु कम तथा बजार केन्द्रबाट टाढा भएको पाइन्छ । यस जातिमा शैक्षिक अवस्था ३३.१ प्रतिशत रहेको छ भने खस–आर्यको ३७.६ प्रतिशत देखिन्छ । माध्यमिक तहसम्म पढ्ने विद्यार्थीहरु तामाङ जातिका बढी छन् । तर, स्नातक तहभन्दा माथि अध्ययन गर्ने छैनन् । ७० प्रतिशत तामाङ कृषिमा आश्रित छन् । तर, सरकारी जागिर गर्ने कोही छैनन् । लगायत अन्य धेरै सूचाकांक प्रस्तुत गरिएका छन् । अनुसन्धाता तामाङले निचोडका रुपमा लेखेका छन् कि– यस अध्ययनको निचोडमा यो भन्न सकिन्छ कि आम ग्रामीण तामाङ जाति विकासको प्रमुख आयामहरुमा सन्तोषजनक अवस्थासम्म रहेको भन्न पनि निकै गाह्रो हुन्छ ।
तर, अनुसन्धान गरिएको क्षेत्र दुर्गम भेग परेकाले पनि यस्तो देखिएको हुन सक्छ । अध्ययन क्षेत्र तामाङ सालिङभित्रको चार जिल्ला दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक र सिन्धुलीको साविक आठ गाविस हाल नौ वटा वडाबाट नमूना छनोट गरी जम्मा तीन सय ७८ घरधुरीहरुसँग अन्तरवार्ता गरिएको हो भने लक्षित समूह छलफल तथा मुख्य जानिफकारहरुको विचारलाई समेत समेटिएका छन् ।

अनुसन्धाता तामाङले प्राक्कथनमा लेखेका छन् कि– हाल शासनको तौरतरिका केही फरक भए पनि राज्यमा हुनुपर्ने खास परिवर्तन भएको देखिँदैन केवल सत्तामात्र परिवर्तन भएको पाइन्छ । देशको विकास गर्नका लागि व्यक्ति, परिवार, समुदाय तथा समाज सक्षम हुनु पर्दछ । यसै सन्दर्भलाई मध्यनजर गर्दै अनुसन्धानका क्रममा तामाङ जातीय समुदायमा रहेको सचेतना, सक्षमता र मितव्ययीताको अवस्थालाई उजागर गरिएको छ । आफ्नो कमी–कमजोरी आफैले पहिचान नगर्ने, अनुभूतिन गर्ने, सबल तथा सम्भाव्य अवसरहरुको खोजी नगरी राजनीति, स्थायी सरकार, शासन व्यवस्था तथा विदेशी प्रभावलाई मात्र आरोप लगाएर नागरिकहरुको विकास सम्भव छैन ।

त्यसैगरी जुन व्यक्ति तथा समुदायको सोच, विचार, शैली, नियत, धारणा, विश्वास तथा इच्छाशक्ति, सकारात्मकता, परिवर्तनशील तथा सृजनशील छ उसैले समृद्धिमा छलाङ मार्न पनि सफल हुन्छ । तसर्थ, विकासको आरम्भ आफैँ र आफ्नै समुदायबाट शुरु गर्नुपर्ने आवश्यकताको साथ यो अध्ययनलाई परिकल्पना गरी अघि बढाइएको हो । पुस्तकमा तामाङ जातिको उन्नति तथा विकासमा सहभागिताका लागि सुझावहरु उल्लेख गरिएका छन् ः
(१) कृति तथा पशुपालन तामाङ जातिको मुख्य पेशा भएको हुँदा जुन पशुपालन तथा खेतीपातीको सम्भाव्यता स्थान अनुसार बढी छ । त्यसको अध्ययन अनुसन्धान तथा स्थानीय सरकारी सेवाकेन्द्रको परामर्श लिई त्यसै अनुसार कृषि तथा पशुपालनलाई व्यावसायीकरण गर्नुपर्ने आवश्यकता देखिन्छ,
(२) यस जाति बसोबास रहेका कुनै–कुनै ठाउँमा ग्रामीण पर्यटनको सम्भाव्यता रहेका पाइन्छन् । आफ्नै संस्कार, संस्कृति, रीतिरिवाज, रहनसहन, भेषभुषा आदि पहिचान गरी होम स्टे सञ्चालनमा ल्याई ग्रामीण पर्यटनको माध्यमबाट आर्थिक उन्नति गर्न सकिन्छ,
(३) यस जातिको जातीय संघ–संस्थाहरुले केन्द्रमा केन्द्रीय सहकारी स्थापना गरी हरेक पालिका, वडा वडामा ग्रामीण वित्तीय संस्थाहरु स्थापना गर्न उत्प्रेरणा प्रदान गर्दै ग्रामीण पूँजी तथा लगानी वृद्धि गरी उत्पादनलाई बजारीकरण गर्ने भूमिका निर्वाह गरिदिनुपर्ने देखिन्छ,
(४) यस जातिमा राजनीतिक सचेतना हुनु जरुरी छ,
(५) पशुधन तथा कृषिबालीको बीमाबारे सचेतना हुनु जरुरी छ,
(६) प्रमाणित नभएका आर्थिक, शारीरिक, सामाजिक क्षेत्रमा हानी गर्ने परम्परा, कुरीति, संस्कार, विश्वास, आचरण र व्यवहार त्याग गर्न जरुरी छ,
(७) सम्बन्धित संघ–संस्थाहरुले यस जातिको विकासमा भएका समग्र प्रगति, चुनौति आदिको सर्वेक्षण गरी प्रत्येक महाधिवेशनमा प्रतिवेदन प्रस्तुत तथा प्रकाशन गरी आगामी दिनको लागि नीति, रणनीति तथा कार्यनीतिहरु तयार पारी अघि बढेमा लक्ष्य हासिल हुन्छ । लगायत थुप्रै सुझावहरु पुस्तकमा उल्लेख गरिएका छन् । लेखक सन्तोषकुमार वैद्य तामाङ, चाँगुनारायण नगरपालिका–२ भक्तपुर निवासी हुन् । ग्रामीण विकास विषयमा स्नातकोत्तर शैक्षिक योग्यता हासिल गरेका, दुई वर्ष शिक्षण सेवा समेत गरेका लेखक तामाङ सन् २००७ देखि भने राष्ट्रिय, अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाहरुमा कार्यरत रही ग्रामीण विकासका क्षेत्रमा सेवारत् छन् । उनले लेखेका पुस्तकहरु, ‘थर प्रथाको प्रचलन (तामाङ, गुरुङ, थकाली, मगर, राई तथा लिम्बू)’ नेपाली र अंग्रेजी भाषामा प्रकाशित भएका छन् । साथै विभिन्न जर्नलहरुमा अनुसन्धानात्मक लेखहरु प्रकाशित हुने गरेका छन् ।

अनुसन्धाता, विद्वान, विकासकर्मी तथा लेखक तामाङले सम्पन्न गरेका यस अनुसन्धानले अरु धेरै कुरा पत्ता लगाएको छ । जसबाट तत् जाति, समुदायले लाभ उठाउन सक्छन् । राज्य तथा अन्य विकास निकाय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्थाहरुले आ–आफ्ना कार्यक्रम, परियोजना सञ्चालन गर्नका लागि मार्गदर्शन पाउन सक्छन् । र, यो कृतितत् जिल्लाका स्थानीय सरकार लगायत स्थानीय निकायहरुका लागि मागर्दशक हुने देखिन्छ । यो अनुसन्धात कृति भएकाले पनि एक आँखीझ्यालको रुपमा लिनु उपयुक्त हुन्छ । जसले सरोकारवालाहरुलाई धेरै कुराहरु चिहाउन सम्भव बनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *