June 14, 2026

बुद्धशान्तिमा बर्खा प्रतिष्ठान

0

झापा ।

आपतविपत् परेकाहरुलाई सहयोग गर्ने साथै बालबालिकाहरुको शिक्षा, स्वास्थ्य लगायतका सामाजिक क्षेत्रमा कार्य गर्ने उद्देश्यले बुद्धशान्तिमा बर्खा स्मृति प्रतिष्ठानको उद्घाटन भएको छ ।
माइती नेपालकी संस्थापक अध्यक्ष अनुराधा कोइरालाको प्रमुख आतिथ्यमा शनिबार रामजानकी मन्दिरमा आयोजित कार्यक्रमकाबीच उक्त प्रतिष्ठानको उद्घाटन गरिएको हो ।

प्रतिष्ठानका अध्यक्ष मदनकुमार प्रसाईको अध्यक्षता, माइती नेपालकी संस्थापक अध्यक्ष कोइरालाको प्रमुख आतिथ्य साथै जिल्ला प्रशासन कार्यालय झापाका प्रमुख, तीनवटै सुरक्षा निकाय झापाका प्रमुख लगायत विभिन्न सामाजिक व्यक्तिको उपस्थितिमा ७० लाख पुँजी रहेको उक्त प्रतिष्ठानको उद्घाटन गरिएको थियो ।

वि.सं. २०३८ सालमा पिता भक्तबहादुर र माता पूर्णिमा खड्काकी सन्तानका रुपमा जन्मिएकी बर्खा खड्का गत २०७२ सालमा बुद्धशान्तिकै समाजसेवी मदन प्रसाईसँग वैवाहिक जीवनमा बाँधिएकी थिइन् ।

त्यसपछि आप्रवासीहरुको क्षेत्रमा काम गर्ने संस्था आइंओएममा जोडिएर कामको सिलसिलामा अमेरिकामा रहेकी बर्खाको केही समय अघि ट्राफिक लाइटमा भएको प्राविधिक त्रुटिका कारण कारको ठक्करबाट अमेरिकामा नै मृत्यु भएको थियो ।

मदरटेरेसा र अनुराधा कोइरालाको मानव सेवाका कार्यबाट प्रभावित रही सामाजिक कार्यमा सक्रिय रहेकी बर्खाको अल्पायुमा नै मृत्यु भएकोले उनकै सम्झनामा प्रतिष्ठान खोलिएको प्रतिष्ठानका अध्यक्ष मदन प्रसाईले जानकारी दिएका छन् ।

हाल प्रतिष्ठानको उपाध्यक्षमा हेमबहादुर प्रसाई, सचिवमा मदन मगर, सहसचिवमा अम्बिका घिमिरे प्रसाई, कोषाध्यक्षमा शकुन्तला अधिकारी र सदस्यहरुमा मनोज प्रसाई, धर्म कँडरिया, प्रल्हाद खड्का र पवित्रामाया थापा खड्का रहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *