June 16, 2026

कविता

दयाराम निरौला,

यो गद्दार’हरुले शासन गर्ने मुर्दार’हरुको देश हो ।

झुट अनुमोदन हुने सामाजिक चरित्र परिवेश हो ।

रूपान्तरणका खातिर कफन बाँधेर क्रान्तिमा होमिएकाहरु

स्वार्थमा बिक्री भएर आफैं परिवर्तन भई निष्ठा हराएकाहरु

मुलुक कंगाल बनाउने विवेक शुन्य समाजको महाराजाहरु

ढुक्कले बस्नु,अनुमोदन गर्न हुल बाँधेर बसेका छन् भेडाहरु

चुनाव अघि भुईं ढोगी अभिवादन गर्नेहरु सत्तामा गएपछि

भुईंको मलाई उनीहरुले चिन्न नै मानेनन् शासक भएपछि

भेडालाई बिर्सिएर लगाए सामन्त र छोटे राजा अघिपछि

घाँस खादैँ बस्नु गोठमा फेरी आउने छन् सत्ता गुमाएपछि

नेतालाई देउता मान्ने जमातलाई उनीहरुले भरिया बनाउँछन् स्वतन्त्रता बिगुल फुक्दै, ईच्छाले होईन ईसाराले बिसाउँछन्

गुलाम पत्तो नपाई पिउँदैछ, दुष्टहरु पानीमा बिष मिसाउँछन्

जितेर उत्सव ज्युहरुले मनाउँदा झोलेहरु अभावमा गनाउँछन्

हरेक चुनावमा सपना बिक्ने भिडमा यथार्थको मुल्य हुदैन

समाजवादको भट्टीमा ह्वस्कीले मात्तिनेलाई आँसुले छुदैन

मानवलाई लाश र बस्तीलाई घाट बनाउँने कहिल्यै रुदैन

चेतना कोमामा विवेक शुन्यतामा मुलुक समृद्ध हुदै हुदैन

यो गद्दार’हरुले शासन गर्ने मुर्दार’हरुको देश हो ।

विभेद, लुटतन्त्र र आँसु हाम्रै कर्मको अवशेष हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *