विद्यालयस्तरमा ‘माइन जोखिमसम्बन्धी शिक्षा’
कर्णाली,

नेपाली सेना नन्दाबक्स गण जुम्लाले विद्यालयस्तरमा पनि ‘माइन जोखिमसम्बन्धी शिक्षा’ दिन सुरु गरेको छ । यसअघि म्यादी प्रहरी र नागरिकलाई मात्रै शिक्षा दिँदै आएको सेनाले विद्यालयस्तरमा शिक्षा दिन सुरु गरेको गणपति रविन थापाले जानकारी दिनुभयो ।
यहाँका पातारासी, गुठिचौर र सिञ्जा गाउँपालिकाका विद्यालयमा माइन जोखिमसम्बन्धी शिक्षा दिन सुरु गरिएको उहाँको भनाइ छ ।
“मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनको सुरक्षालाई ध्यानमा राख्दै उपसेनानीको नेतृत्वमा शिक्षा दिन सुरु गरेका छौँ”, उहाँले भन्नुभयो । थापाले जिल्लाका आठ सय ४३ म्यादी प्रहरीसहित नागरिकस्तरमा पनि शिक्षा पु¥याउने काम भइरहेको बताउनुभयो ।
गणका उपसेनानी सन्तोष केसीले चन्दननाथ नमूना माविका दुई सय ९० जना विद्यार्थीलाई ‘माइन जोखिमसम्बन्धी शिक्षा’ प्रदान गरिसकेको बताउनुभयो ।
“यस शिक्षाअन्तर्गत बम डिस्पोज कसरी गर्ने, शङ्कास्पद वस्तु भेटिएमा के गर्ने र आफू कसरी बच्नेबारे ज्ञान दिएका छौँ”, उहाँले भन्नुभयो ।
