शिष्टता र संस्कार देखाऊ
दोस्रो आमनिर्वाचन आउन अब तीन हप्ता समय बाँकी छ । निर्वाचन आयोगले सार्वजनिक सभा, समारोह, भेला गर्न छुट्याएको समय दुई हप्ताको मात्रै छ । त्यसअघि निर्वाचन आचारसंहिता अनुकूल भेटघाट, प्रचारप्रसार गर्न उम्मेदवारहरुलाई भ्याइनभ्याइ छ । यसपटकको निर्वाचन यस कारण पनि भिन्न छ कि निर्वाचन आयोगले सामाजिक सञ्जाल सञ्चारमाध्यम दल, उम्मेदवार, कर्मचारी, शिक्षक–प्राध्यापकहरुलाई समेत आचार संहिताभित्र राखेर अनुगमन गर्नेछ । यसबीचमा कतिपय उम्मेदवारहरुलाई आचारसंहिता उल्लंघन भएको भन्दै स्पष्टिकरण समेत मागेको छ । जसका कारण सार्वजनिक पदधारण गरेका व्यक्ति हुन्, वा उम्मेदवार तथा नेता–कार्यकर्ता सबैले सचेत हुनुपर्ने अवस्था छ ।

आवधिक निर्वाचन प्रजातन्त्रको आधार हो । मतदाताले रोजेको व्यक्तिले शासन गर्ने पद्धति प्रजातन्त्र हो, जहाँ अल्पमतको समेत सम्मान गरिन्छ । त्यसैले प्रजातन्त्रलाई उत्तम राजनीतिक प्रणाली भनिन्छ, जसको उपयोग नेपालीले पटक–पटक गर्दै आएका छन् । प्रजातन्त्र सबै अटाउने, एकअर्काप्रति फरक विचारका बाबवजुद सद्भाव र सम्मान गर्ने, बहुमतका आधारमा समाज र देशलाई नेतृत्व प्रदान गर्ने संस्कार पनि हो । तर, हामीकहाँ नेताहरु, उम्मेदवारहरु प्रतिष्पर्धीबिरुद्ध असभ्य, अशिष्ट, र अमर्यादित शब्द प्रयोग गर्न र आफूलाई मात्र योग्य अब्बल र सक्षम प्रमाणित गर्ने होड गर्दैछन् । अरु त अरु प्रजातन्त्रको नायक भनिने दलका शीर्ष नेता नै आफ्नो प्रतिद्वन्द्वीलाई आरोप लगाएर आफूलाई निर्मल साबित गर्न लागीपरेका छन् ।
अबको चार दिनपछि दल तथा उम्मेदवारहरु खुल्ला सभा, जुलुस तथा प्रदर्शन गर्न थाल्नेछन् । निर्वाचन जित्ने अस्त्रका रुपमा हेरिने सार्वजनिक सभामा अर्कोलाई होच्याएर आफू ‘साखुल्ले’ हुने होड नै चल्छ । मतदाताहरु नेता, उम्मेदवार तथा कार्यकर्ताहरुको त्यस्तो व्यवहारबाट भ्रममा पर्न सक्छन् । सचेत मतदाता आप्mनो धारणा बनाएर मत प्रयोग गर्न सक्छन् । तर, सिधासाधाहरु नेताहरुका आरोप–प्रत्यारोपकाबीच अलमलमा पर्छन् । प्रजातान्त्रिक संस्कार भनेको एक–अर्काप्रति सद्भाव, समभाव, सहिष्णु बन्नु हो । त्यसैले कमसेकम उम्मेदवारहरुले असल संस्कार देखाएर स्वस्थ प्रतिष्पर्धाबाट जनअनुमोदित प्रतिनिधिलाई सहजै स्वीकार गर्ने आँट गर्नुपर्छ । अनि मतदाताहरुले अभद्र व्यवहार गर्ने, असभ्य, अमर्यादित र संस्कारहीन पात्रहरुलाई निर्वाचनकै माध्यमबाट अस्वीकृत गर्नुपर्छ । अनि मात्र प्रजातन्त्तको गौरव र गरिमालाई जोगाउन सकिन्छ ।
