दिगो आम्दानीको लागि विद्यालयले बृक्षारोपण गर्नुपर्छ–अध्यक्ष स्याङबो
गणेश अर्याल, इलाम ।

पाटापुर आधारभूत बिद्यालयलाई अलग्गै समस्याले पिरोलेको छ । बिद्यालयले बजारमा चक किन्न नपाउदा पठनपाठन रोकिने गरेको छ । यो इलामको रोङ गाउपालिका ६ को एउटा आधारभूत बिद्यालयको समस्या हो ।
बजारमा चक किन्न सहजै नपाउने भएकाले झापा बाहुन्डागीको एउटा पसललाई ल्याइदिन लगाउने गरेको पाटापुर आधारभूत बिद्यालयका प्रधानाध्यापक युवराज खतिवडाले बताए । ‘चकको धुलोको कारण शिक्षक तथा बालबालिकाहरुपनि बेला बेलामा रुघा लागिरहन्छ’ प्रधानाध्यापक खतिवडाले भने, ‘बिद्यालयमा कम्प्युटर ल्यापटप त छदै छैन’ ।
रोङ गाउपालिकाका प्रधानाध्यापकहरुको बैठकमा बिद्यालयका समस्या राख्ने क्रममा खतिवडा जस्तै अरु प्रधानाध्यापकहरुले पनि बिभिन्न समस्या राखेका थिए । केही बिद्यालयहरुमा इन्टरनेटको सुबिधामा निरन्तरता हुन नसकेको गुनासो आयो भने केहीमा ल्यापटप प्रिन्टर तथा कम्प्यूटरहरु बिग्रीएको समस्या प्रस्तुत भए । प्यूरेमा रहेको चन्द्रकला आधारभुत बिद्यालयमा घेराबारा नहुदा बर्खे बिदाको बेला बिद्यालयको शौचालयमा तोडफोड भएको प्रधानाध्यापक भोगेन्द्र खड्काले बताए।
धेरै बिद्यालयमा शिक्षक दरबन्दी अपुग भएकाले चाहे अनुसारको गुणस्तरीय पठन पाठन हुन नसकेको तथा न्यून तलब दिएर धेरै काम लगाउने गरी नीजि शिक्षक राखेको प्रधानाध्यापकहरुले सुनाए ।
प्रधानाध्यापकहरुको बैठकमा सहभागीहरुले राखेको समस्या तथा जिज्ञासाहरुलाई कार्यक्रम अवधिभर ध्यानपूर्वक सुनेका रोङ गाउपालिकाका अध्यक्ष मणिकुमार स्याङबो(सुवास)ले दुइमहिना अधि बिद्यालयबाट पालिकामा आएको तथ्याङक सुनाएर जवाफ दिन शुरु गरे।
बिना लगानी गर्न सकिने कतिपय कामहरु बिद्यालयले गरेकोमा धन्यबाद दिए । तर, केही बिद्यालयले फुलबारी समेत नवनाएको उल्लेख गर्दै गाउपालिकाको कार्यक्रममा कुनै पनि बिद्यालयलाई वाइटबोर्ड किन्न बजेट छुट्याएको थिएन तर, पनि धेरै बिद्यालयले आन्तरिक श्रोतबाट किनेका छन् ।
किन पाटापुरले किनेन ? अध्यक्ष स्याङबोले प्रतिप्रश्न गर्दै भने– दुइपटक सिद्धि नहरका उपभोक्ता समितिले मेची खोलाको ढुङगा गिटी उपभोग गरेवापत ४० हजार र २५ हजार रुपैया दिएको थियो । घेराबाराको लागि वडा कार्यालयले दिएको एक लाख रुपैँया पनि किन फ्रिज गराउनु भयो ? प्रश्न राख्दा आफुले गरेको कामको मुल्याङकन गर्न पनि अध्यक्ष स्याङबोले अनुरोध गरे।
३० वटा विद्यालयमा तीनै तहको सरकारबाट प्राप्त रकम जोडदा यो आर्थिक बर्षमा मात्रै सशर्त बजेट १४ करोड ७३ लाख ६५ हजार रुपैँया आएको गाउपालिका अध्यक्ष स्याङबोले बताए । । रोङमा यो बर्ष दुई हजार पाँच सय ६८ जना बिद्यार्थी अध्ययनरत रहेका छन् । उक्त रकम प्रत्येक बिद्यार्थीलाई भाग लगाउदा प्रति बिद्यार्थी ५७ हजार ३ सय ८५ रुपैँया रहेको छ ।
अध्यक्ष स्याङबोले भने– अघिल्ला बर्षहरुको हिसाब गरेकै छैन । भवन, आइसीटी लगायतको बजेट पनि समावेस गर्ने हो भने यो बढेर प्रति बिद्यार्थी ८५ हजार रुपैया सम्म पुग्न सक्छ । बिद्यालय समुदायमा हस्तान्तरण भएकाले श्रोत खोज्ने र परिचालन गर्ने अधिकार समुदायमा नै भएकाले आन्तरिक श्रोत ब्यवस्थापन गर्नुपर्नेमा अध्यक्ष स्याङबोले जोड दिए ।
सामुदायिक वनको क्षेत्र भाडामा लिएर बास तथा अन्य छिटो आम्दानी हुने बिरुवा रोप्ने काम गर्न आग्रह गर्दै गाउपालिका अध्यक्ष स्याङबोले दाता अक्षय कोष तथा आम्दानीको श्रोत जुटाउन सुझाब दिए । छलफल तथा प्रधानाध्यापक बैठकमा सबै बिद्यालयका प्रधानाध्यापक तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रम अवधिभर गाउपालिका उपाध्यक्ष बिष्णुमाया खवास तथा प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र दाहाल, शिक्षा शाखा प्रमुख श्रृतिकुमारी तामाङ लगायतका उपस्थिति रहेको थियो । बैठकले आगामी १५ दिन भित्रमा प्रत्येक बिद्यालयले सूचना अधिकारी तोक्ने तथा आगामी फागुनमा शान्ति निकेतन माध्यमिक बिद्यालयमा राष्ट्रपति कप रनिङ सिल्ड सञ्चालन गर्ने लगायतको निर्णय भएको शिक्षा शाखा प्रमुख तामाङले जानकारी दिइन् ।
रोङ गाउपालिकामा ३० वटा सामुदायिक विद्यालय दुई हजार पाँच सय ६८ जना विद्यार्थी अध्ययनरत रहेका छन् ।
