September 26, 2026

नेपाललाई श्रीलङ्का हुन नदिन भ्रष्टाचार निर्मूल गर्नुपर्छ: डा कोइराला

0

नवलपुर,

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले नेपाललाई श्रीलङ्का हुनबाट जोगाउन भ्रष्टाचार निर्मूल गर्नुपर्नेमा जोड दिनुभएको छ । सबैले भ्रष्टाचार गर्दैनौँ भनेर प्रतिबद्ध भएको अवस्थामा मुलुक श्रीलङ्का हुनबाट जोगिने उहाँको भनाइ थियो।

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा आयोजित कार्यक्रममा केन्द्रीय सदस्य डा कोइरालाले भन्नुभयो, “हाम्रा नेतृत्वहरु अहिले पनि के नेपाल श्रीलङ्का जस्तै हुन्छ भन्दै हिँडेका छन् तर सुशासन दिन्छौँ, पारदर्शिता अपनाउँछौँ, भ्रष्टाचार गर्दैनौँ भन्नुपर्छ । यति गर्न हामी श्रीलङ्का बन्दैनौँ ।” देश अप्ठ्यारो परिस्थितिबाट भने अगाडि बढिरहेकोे छ तर नेतृत्वहरुले बुझेर पनि बुझ पचाएका टिप्पणी उहाँले गर्नुभयो ।

“नेपाल श्रीलङ्का बन्न लागेकोप्रति सबै नेपालीलाई चिन्ता छ”, नेता डा काइरालाले भन्नुभयो, “सबै नेपालीले कम्मर कसेर अठोट गरे अहिलेको अवस्थाबाट पार लगाउन सकिन्छ ।” भरतपुर अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट प्राडा कृष्णप्रसाद पौडेलले लेख्नुभएको ‘लय छुटेको समय’ पुस्तक विमोचन गर्दै उहाँले आगामी निर्वाचनमा कांग्रेसको सिद्धान्त र विचारलाई कायम गर्दै कम क्षति हुनेगरी अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

पुस्तकका लेखक प्राडा पौडेलले पुस्तकभित्र कथा, कविता, संस्मरणसँगै बिरामी र चिकित्सकको भोगाइहरु समावेश गरिएको बताउनुभयो । पचास प्रतिशतभन्दा बढी रोगको उपचार समाजमै भएको उल्लेख गर्दै उहाँले बिरामीको उपचार कसरी हुन्छ, उपचार गर्दा के कुरामा ध्यान दिनुपर्छ भन्ने विषयलाई समाहित गर्दै डाक्टरको व्यथा भन्नाका लागि पनि पुस्तक लेखेको बताउनुभयो । उक्त पुस्तक साङ्ग्रिला बुक्सले प्रकाशन गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *