October 5, 2026

फेरि पनि सार्वजनिक शौचालयकै कुरा

0

पूर्वी नेपालको झापा जिल्लास्थित बिर्तामोड जिल्लाकै प्रमुख व्यापारिक केन्द्र हो । पूर्व–पश्चिम महेन्द्र राजमार्गसँग उत्तर–दक्षिणलाई जोड्ने मेची राजमार्गको केही किलोमिटर पश्चिमको यही शहरको नामले नगरपालिकाको नामकरण भएको छ । साविकको अनारमनीलाई आफ्नो पहिचानले जित्दै बिर्तामोड बनिएको यो नगर क्षेत्रमा सर्वसुलभ र व्यवस्थित सार्वजनिक शौचालय छैन भन्दा जिम्मेवार निकायका जिम्मेवार प्रतिनिधिहरुलाई नमिठो लाग्न सक्छ । तर, यथार्थ हो कि बिर्तामोड तीव्रगतिले शहरीकरण भइरहेको छ, तर यहाँ सार्वजनिक सवारीमा यात्रा गर्नेदेखि किनमेलका लागि आउनेहरुले शौच गर्न सहजै पाउँदैनन् । लगभग तीन दशकअघि हालको गणेश पम्प र अन्धुवा खोलाको पुलको बीचमा सार्वजनिक शौचालय बनाइएको थियो । राजमार्ग विस्तार गर्ने क्रममा सडक क्षेत्रमा पर्ने भन्दै शौचालय भत्काइयो, तर कुनै उपयुक्त ठाउँमा पुननिर्माण गरिएन ।

त्यसको केही वर्षपछि उद्योग वाणिज्य संघ बिर्तामोडले तत्कालीन आवश्यकता पूरा गर्ने उद्देश्यसहित सामाजिक उत्तरदायित्व ठानेर करिब आठ लाख रुपैयाँ खर्च गरेर घुम्ती शौचालय निर्माण गरेर सञ्चालन गर्दै नगरपालिकालाई हस्तान्तरण ग¥यो । यद्यपि त्यसको निकास अन्धुवा खोलामै भएकाले सुरक्षित थिएन, तर नगरपालिकाले त्यसलाई नै पनि सञ्चालन र व्यवस्थापन गर्न सकेन । अन्ततः व्यापारीहरुका तर्फबाट भएको सत्प्रयास पनि निरर्थक बन्न पुग्यो । त्यसयता अन्धुवाको पानी बगेर कतै समुद्रमा मिसियो होला तर बिर्तामोड नगरपालिकाले आफ्नो जिम्मेवारी अनुभूत गर्न सकेको छैन । र, आजपर्यन्त सवारीयात्रीहरु र किनमेलका लागि आउनेहरुले सकस भोग्नु परिरहेको छ ।

झापा खुल्ला दिसामुक्त घोषित जिल्ला हो । सन् २०१७ सम्ममा देशलाई खुल्ला दिसामुक्त क्षेत्र घोषणा गर्ने लक्ष्य असफल भइसकेको छ । यद्यपि बिना सार्वजनिक शौचालय झापाका पालिकाहरु खुल्ला दिसामुक्त घोषणा भइसकेका छन् । तिनमा पनि तीव्र शहरीकरण भएको शहर बिर्तामोडमा सुलभ सार्वजनिक शौचालय नहुनु आश्चर्यको विषय पनि हो । नगरपालिकाले पेट्रोल पम्प र केही कम्प्लेक्सका शौचालय सर्वसाधारणले उपयोग गर्न पाउने भनेको छ, तर यात्रीहरुका लागि सरल र पहुँचमा छैन । यही समय काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले रेष्टुरेन्टहरुका शौचालय सार्वजनिक रुपले प्रयोग गर्ने अवधारणा ल्याएपछि त्यसकै प्रभावमा बिर्तामोडस्थित सेन्टर पोइन्ट पार्टी प्यालेस, शिखर बचत तथा ऋण सहकारी संस्थाले आफ्नो शौचालय सार्वजनिक प्रयोगका लागि खुल्ला गरेका छन् । त्यसअघि नै इलामको पर्यटकीय नगर कन्याममा सञ्चालित होटल इनले निजी शौचालयलाई सार्वजनिक बनाइसकेको छ । स्वतःस्फूर्त यो अग्रताले नगरपालिकाका जिम्मेवार व्यक्तिलाई सार्वजनिक शौचालय निर्माण गर्ने उत्प्रेरणा जगायो भने त्यो उनीहरुकै सफलता हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *