September 22, 2026

मैले त्यति बेलाको कुरा सम्झेँ जति बेला हामी मधेश झरेका हुन्थ्यौँ । पुष, माघ महिनाको कठ्यांगिने जाडो हुन्थ्यो । हामी १०/१५ दिनका लागि भनेर हरेक साल मधेश झर्ने ग¥थ्यौँ । केही काम काजका कुरा पनि हुन्थे । त्यो कुरा मलाईभन्दा बढी बुवालाई थाह छ । एक–दुई हप्ता घुमफिर ग¥यो । त्यसपछि फेरि पहाड नै फर्कन्थ्यौँ । मलाई थाह भएसम्म खासमा हामी आफ्नो भागको धान बेचबिखन गर्न आउँथ्यौँ । उसबेलैदेखि हाम्रो थोरै भए पनि मधेशमा पनि खेती थियो ।

बुवाआमाले जोडेको खेती । बुवा हरेक वर्ष पुस महिनाको अन्तिमतिर मधेश झर्नुहुन्थ्यो । माघको पहिलो हप्तातिर आफ्नो भागको धान बेचबिखन गरेर आएको थोरैतिनो पैसाले वर्ष भरिलाई नूनतेल, मर–मसला र लुगाफाटो किनमेल गरेर पाहाड फर्कनुहुन्थ्यो । खुट्टा लाग्न थालेपछि म पनि बुवाको पछि लागेर मधेश झर्न थालेँ । घर फर्कन ढिलो भएको देखेर बुवाले एक साल भन्नुभयो– लु अब घर लाग्नु पर्छ केटा यसरी बसेर हुँदैन । बारी जोत्ने बेला भयो । पानी परेपछि मकै छर्नु पर्ने । सबैले जोतिसके हुन् । हामी यहाँ छौँ । मैले हुन्छ भनेँ । म पनि उसरी नै काम सकेर बुवासँगै उकालो लाग्थेँ । १०/१५ दिनको बसाइमा म दिउँसो मामाको छोरासँग गोठालो जान्थेँ । बुवा कहिले के कामले कता हिँड्नुहुन्थ्यो । कहिले दिनभरि घाममा बसेर को–कोसँग गफिनु हुन्थ्यो । घरदेखि पर माइखोलाको बगरमा हामी राँगा, भैँसी, गाई, गोरू, बाख्रा चराउन लिएर जान्थ्यौँ । हाम्रो खेतको पल्लो छेउमा बगर थियो । गाउँ भरिका वस्तुभाउ दिनभरि त्यही बगरको काँसमा अल्मलिन्थे । गोठालाहरू एक ठाउँ भेला भएर शितल तापेर गफिने, खेल्ने ग¥थ्यौँ ।

कहिले हामी खोप्पी खेल्थ्यौँ । कहिले माइखोलाको छिपछिपे पानीमा माछा मारी दिन काट्थ्यौँ । साँच्चै रमाइलो लाग्थ्यो । धान पिसाउन मिलमा लिएर जान उत्तिकै तम्सिन्थ्यौँ । धान बेच्न लिएर जाँदा उसरी नै खुट्टा उचाल्थ्यौँ । यसरी जाँदा निकै लामो बाटो राँगा गाडामा चढेर सफर गर्न पाइँन्थ्यो । राँगा गाडामा चढेर सफर गरेको सम्झना अझै ताजै छ । अझ बढी सम्झना त राँगा, भैँसीको ढाड माथि चढेर हामी गोठालो जाने–आउने ग¥थ्यौँ । हामी केटाकेटी मोराका लागि यो भन्दा आनन्द अर्को के होस । हाम्रो माघे सग्रान्ति चाड मधेशमै मानाइ हुन्थ्यो । हाम्रो खेत मामाले अधिया रोप्नु हुन्थ्यो । खासमा ठेक्का जस्तो मंसीरमा हामीले आधा भाग धान पाउँथ्यौँ । आधा भाग मामाको हुन्थ्यो । हामी हाम्रो भागको धान बेचबिखन ग¥थ्यौँ । त्यहाँबाट आएको पैसाले हामी वर्ष भरिलाई लुगाफाटो फे¥थ्यौँ । नून–तेल किन्थ्यौँ । बचेको पैसाको जोहो ग¥थ्यौँ । त्यो बुवाको हातको कुरा थियो ।

एकदिन यसरी गोठालो जाँदा हामी वस्तुभाउ बगरमा छोडेर माइको पुलमा पैसा टिप्न भनेर गयौँ । माइको पुलमा पैसा भेटिन्छ भन्ने कुरा मामाको छोरालाई थाहा रहेछ । उसले आज जाऔँ त्यता भनेपछि म पनि उसको पछि लागेँ । पूर्वबाट पश्चिम, पश्चिमबाट पूर्वतिर बसहरू हुइँकेर आउजाउ गर्थे । हामी बसको झ्यालबाट मान्छेका हातहरू बाहिर निस्कन्छन् निस्कँदैनन् भनेर नियाल्थ्यौँ । झ्यालबाट हात बाहिर निस्कियो कि पैसा झ¥यो । कसको हातमा पर्ने हो । हामी पैसा भुइँमा झरिनसकि दौडेर त्यहाँ पुगि हाल्थ्यौँ । हामीजस्ता अरू थुप्रै केटाकेटीहरू पनि पैसा टिप्न पुलको आसपासमा बसेका हुँदा रहेछन् । बस आएको देख्ने बित्तिकै दौडेर बसको सामुन्ने पुगिहाल्ने । हाम्रो तँ छाड् म छाड् हुन्थ्यो । तल गहिरो पानी भित्र खसेको भए पनि देखेपछि हामी पानीभित्र पसेर भएपनि नटिपी छोड्दैनथ्यौँ । ठेलाठेल हुन्थ्यो, हाम्रो पैसा टिप्न ! ती पैसा सिलबरका चार आनी र आठ आनी हुन्थे । १ रूपैयाँको कम्पनी त सारै थोरै मात्र भेटिन्थ्यो । कागजका नोट १÷२ र ५ रूपैयाँसम्मका नोट पनि हुन्थे । नोट त कसै कसैले मात्र फाल्थे ।

उसबेला चार आना, आठ आनाले पनि निकै कुरा आउँथ्यो । म त्यतिबेलाको कुरा गर्दैछु जति बेला म त्यस्तै १०÷१२ वर्षको थिएँ हुँला । आजभन्दा ३७÷३८ वर्ष पहिलेको कुरा हो । मामाको छोराले मलाई बिहानै सुटुक्क भनेको थियो । आज बगरमा गाईवस्तु छोडेर माइको पुलमा पैसा टिप्न जाने हो भनेर । हामीले घरका कसैले थाह नपाइ जानु प¥थ्यो । त्यो हामी दुईबीचको गोप्य सल्लाह थियो । दुई जनाका गरि त्यस्तै २०÷३० वटा चार आनी र आठ आनी भएछन् । त्यतिनै भेला पारेछौँ लिएर घर आयौँ । मेरो त पहिलो पटक थियो । सायद उसको पनि पहिलो पल्टै थियो कि ! ऊ पनि त्यसरी हिँड्दैनथ्यो । घरमा कसैले थाह पाउने हो भने हाम्रो हालत खराब हुन्थ्यो । मान्छेले माइमा फालेका पैसा त के उडाएका परेवा समेत समाउँन हुँदैन । कसै–कसैले कुरा गरेको सुनेको थिएँ । कति मानिसहरूले परेवाका बच्चा पूजा गर्थे । आफ्नो भाकल अनुसार कतिले त्यतिकै उडाइ दिन्थे । समाउन सक्ने कसैले त परेवा पनि समाएर घर लान्थे । सायद घर लगेर काटी खान्थे कि पाल्थे । घरका कसैले नसोचेको काम हामीले गर्न लागेका थियौँ । त्यो दिन त कसैले पत्तै पाएन ।

भोलिपल्ट त्यसरी नै गोठालो जाँदा खोप्पी खेलेको । अघिल्लो दिन माइको पुलमा टिपेका चारआनी, आठआनी सबै स्वाहा । उसले पनि हा¥यो । मैले पनि हारेँ । मेरो त खोप्पी खेल्ने बानी पनि थिएन । दुबैले सबै पैसा साथीलाई बुझाइयो । मान्छेहरू माइको पुलमा पैसा टिप्नेलाई पिर्छ भन्थे । एकपटकदेखि अर्को पल्ट मेरो चाहिँ पैसा टिप्न भनेर गइ भएन । त्यसको केही दिनपछि कसले सुनाइदियो । सायद छोराको विश्वास लागेन होला । माइजुले थाह पाए जस्तै गरी मलाई बोलाएर सोध्नुभयो– भाञ्जा माइलो र तिमी माइको पुलमा पैसा टिप्न गयौ ? मैले गएनौँ हामी त भनेर छलेँ । नछल्दा उसलाई मात्र होइन, मलाई पनि गाह्रो थियो ।

उसलाई पनि बोलाएर दुबैलाई केरकार गर्न थाल्नुभयो । हामीले गएका छैनौँ हामी त भनेर आफ्नो अडान नछोडेपछि जानु हुँदैन नि माइखोलाबाट माइको नामको केही पनि टिपेर ल्याउँनु हुँदैन । काठको छेस्को समेत ल्याउँनु हुँदैन । बरू पैसा चाहियो भने माग्नु म दिन्छु । यस्तै के–के भनेर सम्झाउनु भयो । त्यसपछि त गइएन पनि । मेरो पहाड फर्कने बेला भइहाल्यो । त्यसको केही दिनपछि म बुवासँग पहाड फर्किहालेँ । घर पुगेर पनि कति दिन त मैले कसैलाई भनिनँ । बुवासँग भनेको भए त तलाई मैले दिएको पैसाले पुगेन भनेर ठट्टाउन बेर थिएन । बाटोभरि भनौँ–भनौँ लागे पनि भन्न सकिनँ । घर पुगेर त झन् भन्ने कुरै भएन । मधेशदेखि पाहाड पुगुन्जेलसम्म पनि मुख खोल्न सकिनँ । त्यसो त पैसा चाहियो भनेपछि धेरथोर त्यस्तै हो । आफूले भने जति नै नदिए पनि बुवाले हात खाली पार्नुहुन्नथ्यो ।

हामी एक–दुई घण्टा अल्मलियौँ होला पुलमा । बिहानदेखि जानेले त निकै पैसा पार्थे हुन् । कोही त बिहान उज्यालो भएदेखि साँझसम्म नै पैसा टिपी बस्दारहेछन् ! पेसेवार जस्तो ढुक्कै त्यसबाटै पेट पालो गर्ने जस्तो । हामी त गोठालो जाँदा उतैबाट एक–दुई घण्टालाई भनेर गएथ्यौँ । एक किसिमले रमाइलो पनि लाग्यो । जो फुर्तिलो र दौडन सक्छ उसैले पैसा हात पाथ्र्यो । अलि टाठो नभए त पैसा टिप्नै नभ्याइँने ! त्यति मात्र काँ हो र उस्तै त्यस्तै त हेरेको हेरेकै हुन्थ्यो । पछि बुझ्दा खलामा धान रुङ्न जाँदा कुरा गरेको सुन्नु भएको रहेछ माइजुले । झारेको धान खलाबाट नउठाउँन्जेललाई रुङ्नु पथ्र्यो । खलामा पराले गोठ बनाएर उहीँ लुगाफाटो लगेर सुत्नु पथ्र्यो । हामी बेलुका खाना खाएर खलामा धान रुङ्न जान्थ्यौँ । त्यही बेला हामीले कसैले नसुन्ने गरी गरेको कुरा माइजुले सुन्नु भएछ । हामीले टिपेको पैसाको बारेमा बेलुका सबै सुतेपछि कसैले नसुन्ने गरी कुरा गरेका थियौँ । माइजुले कसरी कान थापेर सुन्नु भएछ । जस्ताको त्यस्तै सुनाउँदै फेरि त्यसरी गएछौ पैसा टिप्न र चाल पाएँछु भने त म बुवालाई भन्दिन्छु भन्नुभयो । बुवाहरूले दिएको पैसाले नपुगेको हामीलाई । धेरै पारेर माइ मेलामा खर्च गर्न खुब सुरिएका थियौँ हामी । मनोरञ्जन गर्न । हामीले अबदेखि कहिल्यै नजाने बाचा गरेपछि मात्र माइजुबाट मुक्ति पायौँ ।

जति कसैलाई नभन्ने भने पनि मैले आमालाई नसुनाइ सकिनँ । पहाड पुगेर पुगेको केही दिनपछि मैले बुवालाई नसुनाउने शर्तमा आमासँग माइको पुलमा मामाको छोरा र म पैसा टिप्न गएको कुरा भनेँ । आमाले गाली गर्दै भन्नुभयो– माइमा चढाएको पैसा त्यसरी टिप्न हुन्छ ! अर्काले होस् कि आफूले चढाइसकेपछि चढाएको पैसा त्यसरी टिप्नै हुँदैन । टिप्दा के हुन्छ ? त्यो चाहिँ भन्नुभएन । मैले के हुन्छ त ? भनेर धेरै खेरेपछि विरामी भइन्छ नि त्यसरी देवतालाई चढाएको पैसा टिप्दा । नटिप्नु भन्नुभयो । देवतालाई चढाएको पैसा टिप्दा पनि कहीँ राम्रो हुन्छ ! भन्नुभयो । त्यसको कति दिन त विरामी भइने डरले निक्कै टेन्सन भयो । धन्न केही भएन । पैसाको दुःखले भन्दा पनि साथी, भाइको लहैलहैमा लागेर जीवनको बाल्यकालमा यस्ता उट्पट्याङ् काम धेरै गरियो । तिनै मध्यको एउटा यो पनि हो । मेरो बाल्यकालको एउटा अविस्मरणीय क्षण हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *