मान्छे

कोही हेलिकोप्टर चढेर लेकबेंसी गर्छन्
कोही भारीको बोझले भीरबाट लडेर मर्छन्
वर्षौंदेखि मान्छेको परिभाषा खोजिरहेछु म
मान्छे अरुलाई भेडा बनाएर शासन गर्छन् ।
कोही तारे होटलमा दिनहुँ नास्ता गर्छन्
कोही विलाशी भोजमा चौरासी व्यञ्जनले पेट भर्छन्
पचासौं वर्ष मान्छे पढेँ, फेद टुप्पो भेटिनँ
कोही विशालु गिठ्ठा र च्याउ खाएर अकाल मर्छन् ।
मान्छे ईश्वर भेट्नका लागि टाढा–टाढा धाउँछन्
हप्तौं उपवास बसेर इष्टदेवको भजन गाउँछन्
मान्छे भएर पनि मान्छेको गुदी भेट्न सकिनँ मैले
मान्छे मन्दिर, मस्जिद, चर्च र गुम्बामा आगो लाउँछन् ।
कोही मान्छे भुटी खाएर पनि दिन पाए रमाउँछन्
कोही मान्छे लुटी ल्याएर पनि दिनु पर्दा हात कमाउँछन्
गुरुजी मान्छे बुझ्ने फर्मुला बनेको छैन ?
कोही मान्छे जिउँदै गनाउँछन् कोही मरेर पनि मगमगाउँछन् ।
मान्छे भोको पेटले अरुका लागि रोटी बेलिरहेका छन्,
मान्छे अरुलाई बचाउन आफू कष्ट झेलिरहेका छन्,
मान्छेलाई यस्तो पेचिलो किन बनायौ प्रभु ?
कोही मान्छे मान्छेको शिकार खेलिरहेका छन् ।
देउमाई नपा, जीतपुर, हाल बिर्तामोड झापा
